• १५ जेठ २०८१, मङ्गलबार

शिक्षा, स्वास्थ्य र उद्योग पहिलो प्राथमिकता

blog

नेपालका ७७ जिल्लामध्ये बाजुरा पनि एक दुर्गम जिल्ला हो । यो जिल्लामा नौ वटा स्थानीय तह छन् । तीमध्ये जिल्लाकै दुर्गम तथा पिछडिएको हिमाली गाउँपालिका पनि एक हो । यो पालिका साबिकका बिछ्या, रुगिन र बाँधु गाविस मिलेर बनेको हो ।  गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका स्थानीय नेता गोविन्दबहादुर मल्ल हुनुहुन्छ । दोस्रो कार्यकालका लागि पालिका अध्यक्षमा निर्वाचित हुनुभएका मल्ल आफू राजनीतिभन्दा माथि उठेर पालिकावासीको सेवामा समर्पित भएकाले यस्तो अवसर मिलेको बताउनुहुन्छ । अघिल्लो कार्यकालको पाँच वर्षमा भएको सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा भएको परिवर्तन र यो डेढवर्षमा भए गरेका कामकारबाही, योजना कार्यान्वयन र चुनौतीका बारेमा हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लसँग गोरखापत्रका लागि बाजुरा समाचारदाता शेरबहादुर सार्कीले गरेको कुराकानी : 

भौगोलिक रूपमा विकट मानिएको हिमाली गाउँपालिकाका अधिकांश बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुँदै आएको खबर सुनिन्थ्यो, अहिलेको अवस्था के छ ?

विसं २०७४ को स्थानीय निर्वाचनमा म हिमाली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि मेरो पहिलो प्राथमिकता शिक्षालाई नै थियो । भौगोलिक रूपमा विकट भएका कारण नै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भनेर मैले पहिलो प्राथमिकता शिक्षालाई नै दिएको हुँ । विद्यालय टाढा भएर आउन नसक्ने बालबालिकाका लागि पहुँच हुने ठाउँमा नै आधारभूत विद्यालयको स्थापना गरेका छौँ । अहिले विद्यालय टाढा भएकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित भएका छैनन् ।

कतिपय विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा पढाइमा समस्या हुने गरेको थियो । त्यो समस्या समाधान हुने गरी गाउँपालिकाबाट नै गणित, विज्ञान र अङ्ग्रेजी विषयको शिक्षकको दरबन्दी व्यवस्था गरिएको छ । पहिला किताब, कपि र भौतिक संरचनालगायत विभिन्न समस्या झेल्दै आएका विद्यार्थीलाई अहिले समयमै किताब उपलब्ध हुँदै आएको छ । भौतिक संरचनाको राम्रो व्यवस्था भएको छ ।

यहाँका महिला बाटोमा नै सुत्केरी हुने गरेका छन्, स्वास्थ्यको पहुँच नभएर हो या गर्भवतीलाई स्वास्थ्य संस्थाबाट पाइने उपचारका बारेमा जानकारी नभएर हो ? 

विगत पाँच वर्षमा हामीले स्थास्थ्य क्षेत्रमा निकै फट्को मारेका छौँ । प्रत्येक गाउँमा एक आधारभूत स्वास्थ्य चौकी स्थापना गरेका छौँ । स्वास्थ्य संस्थामा ४३ जना थप स्वास्थ्यकर्मी नियुक्ति गरेका छौँ । स्वास्थ्यकर्मीले प्रत्येक महिना घर घरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् तर पनि त्यहाँका महिलाले सुत्केरी हुने बेलामा आफ्नो स्वास्थ्यको वास्तै नगर्ने र अन्तिम अवस्था भएपछि मात्र स्वास्थ्य संस्थामा आउँदै गर्दा कहिलेकाहीँ बाटोमा सुत्केरी हुने गरेका हुन् । अहिले गाउँमा महिलालाई सुत्केरी अवस्थाका बारेमा विभिन्न जनचेतना गर्दै आएका छौँ । जसका कारण महिलाले समयमै स्वास्थ्य संस्था जाने गरेका छन् । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका महिलालाई कोल्टी स्वास्थ्य चौकीमा रेफर गर्ने, त्यहाँ पनि सम्भव नभए सुविधासम्पन्न अस्पताल लैजान गाउँपालिकाले नै आर्थिक सहयोग दिने गरेको छ । आफ्नै लापरबाहीका कारण हिजोका दिनमा कतिपय महिला स्वास्थ्य चौकी आउने बेला बाटोमा सुत्केरी भएका हुन् ।

कतिपय स्थानीयवासीले अझै पनि खानेपानीका लागि एक दिनको बाटो हिँड्नपर्ने बाध्यता रहेछ, यो समस्याको समाधान गर्नुभयो त ?

पुस्तौँदेखि खानेपानीको अभाव हुँदै आएका यहाँका स्थानीयले २०७५ देखि २०७८ सालसम्म गाउँमै पानी खान पाएका छन् । अहिले एक दिनको बाटो हिँडेर पानी ल्याउनुपर्ने समस्याको अन्त्य भएको छ । आगामी दिनमा सरकारको नीति अनुरूप एक घर एक धाराको कार्यक्रमलाई अगाडि बढाउने योजना छ । अहिले पहिलेको जस्तो खानेपानीको समस्या छैन ।

आफ्नै पैसाले चामल किनेर खान्छु भन्दा पनि चामल पाइँदैन भन्ने यहाँका जनताको गुनासो छ, यस सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?

हिमाली क्षेत्र भएकाले खाद्यान्न अभाव त हुने नै गर्छ । पहिलाको भन्दा अहिले यहाँका स्थानीयलाई खाद्यमा सहज हुने गरी कवाडीमा खाद्यान्न तथा नुन डिपो स्थापना गरेका छौँ । गाउँपालिका केन्द्र धुलाचौरमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरेका छौँ । त्योबाहेक गाउँपालिकाले ‘खाद्यका लागि जनता’ भन्ने महत्वपूर्ण योजना लागु गरेको छ । गाउँपालिकाले खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा सबै वडाका २२ घरधुरीलाई एक घरको एक जनाले फलफूलको पाँच बोट अनिवार्य रोप्नुपर्ने र बोट रोपेबापत एक जनालाई पाँच केजी चामल दिने व्यवस्था गरेका छौँ । 

हिमाली गाउँपालिकाले कृषि क्षेत्रमा के कस्ता कार्यक्रम ल्याएको छ ?

यहाँको अधिकांश क्षेत्रमा स्याउ, ओखर, अनार, आँप, कागती राम्रोसँग उत्पादन हुने गर्छ । फलफूल खेतीले स्थानीयको आयआर्जनमा निकै लाभ हुने भएकाले बाँझो जमिन सदुपयोग हुने गरी फलफूल खेतीमा उत्प्रेरित गर्दै आएका छौँ । वृक्षरोपण कार्यलाई अभियानकै रूपमा सुरु गरेका छौँ । प्रत्येक घरपरिवारका सदस्यले एक जनाले अनिवार्य पाँच बोट फलफूलका बिरुवा रोप्नुपर्ने र बिरुवा रोपेबापत चामल दिने गरेका छौँ । गाई, भैँसी, भेडाबाख्रा पालनका लागि खोर व्यवस्थापन राँगा, साँढे र बोकाका लागि अनुदानको व्यवस्था गरेका छौँ । 

यस पालिकाको एक वडाबाट अर्को वडासम्म पुग्न दुई दिन लाग्ने गरेको गुनासो छ ? सडक पहुँच र यातायातको अवस्था के छ ?

हिमाली गाउँपालिकाको सात वडामध्ये ४ देखि ७ नम्बर वडामा विगतका वर्षमा नै सडक सञ्जालको पहुँचमा रहेको छ । १, २, ३ वडामा यो वर्षबाट सडक विस्तार गर्ने योजना छ । अबको दुई वर्षमा सबै वडामा सडक सञ्जालको पहुँच हुने गरी काम गरिरहेका छौँ । २०७४ सालअघिसम्म यहाँका स्थानीयले भेडाबाख्राबाट खाद्यान्न ढुवानी गर्दै आएका थिए । अधिकांश ठाउँमा खच्चरबाट सामान ढुवानी गर्नुपर्ने अवस्था थियो । अहिले व्यापारीले घरैसम्म गाडीमा सामान ल्याउने गरेका छन् ।

अधिकांश गाउँबस्ती पहिरोको उच्च जोखिममा छ ? जोखिम बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न के तयारी हुँदै छ ?

यसका लागि कुनै सम्भव नभएकाले बाढीपहिरोबाट भएको अव्यवस्थित बस्तीको डाटा सङ्कलन गरेर त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा पत्र पठाउने काम गरेका छाैँ । त्योभन्दा बढी गाउँपालिकाले के नै गर्न सक्छ र ।

उद्योग सञ्चालन गरेर गाउँका युवालाई रोजगारी दिन्छु भन्नुभयो, कत्तिको सम्भव छ ?

यो कुरा सम्भव छ । २०७७ सालमा हिमाली गाउँपालिकाको वडा नं ७ बाँधुमा एक करोड आठ लाखमा हातीबार उद्योग स्थापना गरेका थियौँ । सो उद्योगबाट अहिले १६ देखि १८ जना युवाले रोजगार पाएका छन् । यो उद्योगलाई अहिले पनि आठ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । हिमाली गाउँपालिकाबाट यस उद्योगलाई प्राथमिकता दिएका छाैँ । यो उद्योगले यहाँका स्थानीयलाई रोजगारमूलक सेवा दिने भएकाले उद्योग सञ्चालनमा ल्याएको हो । अबका दिनमा पनि उद्योग व्यवसायलाई पहिलो प्राथमिकता दिने र गाउँमा रहेका बेरोजगार युवालाई रोजगारी प्राप्त गर्ने गरी अगाडि बढ्ने योजना रहेको छ ।