• १५ जेठ २०८१, मङ्गलबार

‘कर्मचारी नियमित नहुँदा काम गर्न समस्या छ’

blog

बैतडीको पूर्वी क्षेत्रमा रहेको सिगास गाउँपालिका प्राकृतिक रूपमा रमणीय र हरियाली वनजङ्गलले घेरिएको गाउँपालिका  हो । पूर्वमा डोटीको आदर्श गाउँपालिका, बझाङको केरादस्यु गाउँपालिका, पश्चिम बैतडीको सुर्नया गाउँपालिका, पाटन नगरपालिका तथा उत्तरमा बझाङको वित्थडचिर र दक्षिण डडेलधुराको नवदुर्गा गाउँपालिका रहेको छ । २४५.४४ वर्ग किमी क्षेत्रमा फैलिएको सिगास गाउँपालिकाको कुल जनसङ्ख्या २१ हजार ५१० रहेको छ । समुद्र सतहदेखि २२४९ मिटर उचाइमा रहेको यस गाउँपालिकाको केन्द्र गर्जेमा रहेको छ । स्थानीय तहको पुनर्संरचना हुँदा साबिकका सिगास, गाँजरी, ढुङ्गाड, थालाकाँडा, शिवलिङ, चौखाम र शिखरपुरका दुई वटा वडा मिलाएर सिगास गाउँपालिका बनेको हो । यहाँ स्थानीय गड्डी जातको भैँसीको घिउ प्रसिद्ध मानिन्छ । मकै यहाँको मुख्य बाली हो । धान, दलहन र स्थानीय उखुको गुड (सखर) उत्पादन हुँदै आएको छ । सिगास गाउँपालिकामा कुल नौ वटा वडा छन् । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रसिद्ध धार्मिकस्थल सिगास मन्दिरको नामबाट यस गाउँपालिकाको नामकरण गरिएको हो । स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका पालिका अध्यक्ष हरिसिंह धामीसँग समसामयिक विषयमा बैतडी समाचारदाता गोकर्ण दयालले गर्नुभएको कुराकानी : 

स्थानीय तहको निर्वाचनमा जनतासँग गरेका चुनावी वाचा के कति पूरा गर्न सक्नुभयो ? 

सिगास गाउँपालिका बैतडीकै सबैभन्द दुर्गम गाउँपालिका हो । सडक पु¥याउने र बिजुली बाल्ने वाचा गरेका थियौँ । अहिले चार वटा वडामा बिजुली बाल्न सफल भएका छौँ । गाउँपालिकाका प्रायःजसो सबै वडामा सडक निर्माण गरेका छौँ । सबै वडाको आफ्नै भवन निर्माण सम्पन्न गरेका छौँ । शून्य संरचना रहेको पालिकामा आफ्नै प्रशासकीय भवन, कर्मचारी निवास र अध्यक्ष, उपाध्यक्षको निवास निर्माण गरेका छौँ ।

खानेपानीको समस्या झेलिरहेको गुनासो छ नि ?

गाउँपालिकाको केन्द्र (कार्यालय) मै खानेपानी थिएन । पालिकामा लिफ्ट प्रविधिमार्फत गर्जेमा खानेपानी पु¥याएका छौँ । खानेपानीको चर्को समस्या भएका वडामा प्राथमिकताका आधारमा खानेपानी र सिँचाइका योजना निर्माण भइरहेका छन् । 

गाउँपालिकाको आन्तरिक र बाह्य अनुदान गरेर कति बजेट हुन्छ होला ? 

गाउँपालिकाको आन्तरिक आम्दानी ३० लाख रुपियाँ रहेको छ । सङ्घ र प्रदेश सरकारको अनुदान ४५ करोड रुपियाँ रहेको छ । अन्य पालिकाको तुलनामा सिगास गाउँपालिकाले कम बजेट पाउने गरेको छ । सीमित बजेटमा जनताका असीमित माग प्राथमिकताका आधारमा सम्बोधन गर्ने गरेका छौँ ।

कृषि र पशुपालनमा गाउँपालिकाले के कति लगानी र सहयोग गरिरहेको छ ? 

कृषि तथा पशुपालन अन्तर्गत गाउँपालिकाले कुखुरा र बाख्रापालनमा अनुदान दिएको छ । यस गाउँपालिकामा प्रशस्त चरन क्षेत्र रहेकाले बाख्रापालन गर्ने किसानलाई अनुदान दिएका छौँ । सिगास गाउँपालिकाको च्वाँगढ क्षेत्र भैँसी पालनका लागि प्रसिद्ध मानिन्छ । यो चरिचरन क्षेत्र हो । भैँसी संरक्षणका लागि गाउँपालिकाले विशेष सहयोग योजना अघि सारेको छ । 

गुणस्तरीय शिक्षा र स्वास्थ्य नपाएको गुनासो छ । यो विषयमा गाउँपालिकाले के कस्तो काम गरिरहेको छ ? 

गुणस्तरीय शिक्षा प्रदान गर्न माध्यमिक विद्यालयमा कम्प्युटर जडान गर्ने काम सुरु भएको छ । प्रत्येक वडामा बर्थिङ सेन्टर निर्माण भएका छन् । कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नेे निर्णय नै गरेर कार्यान्वयनको चरणमा पुगेको छ । गाँजरीमा रहेको सिगास शिक्षा क्याम्पसको भवन निर्माण सम्पन्न भएको छ । 

गाउँपालिकाले देखिने गरी गरेको भौतिक प्रगति के हो ? 

स्थानीय तहको पुनर्संरचना हुँदा हाम्रो आफ्नो भवनसमेत थिएन । अहिले गाउँपालिका केन्द्र गर्जेमा पाँच वटा भवन निर्माण सम्पन्न गरेका छौँ । विद्यालयका लागि मात्र ४८ वटा नयाँ भवन बनाएका छौँ । १२ वटा स्वास्थ्य संस्थाका भवन बनेका छन् । सबै वडा कार्यालयका भवन बन्दै छन् । 

युवालाई गाउँमै रोजगारी दिन केही काम गर्नुभएको छ कि ?

सिगास गाउँपालिकाको ढुङ्गाढ क्षेत्रमा बन्ने भनिएको पश्चिम सेती जलविद्युत्को काम अघि बढ्न सकेमा रोजगारीको सम्भावना धेरै हुन्थ्यो । योबाहेक सिगास गाउँपालिका–१ मा भर्खरै फलाम खानी रहेको विषयमा निजी कम्पनीको पहलमा अध्ययन अनुसन्धान अघि बढेको छ ।  अहिलेसम्म ८० प्रतिशत फलाम भेटिएको भन्ने कुरा छ । फलाम खानी उत्खनन हुन सके पनि यसले पनि गाउँमै रोजगारी सिर्जना हुने देखिन्छ । कृषि उत्पादन तथा घरेलु उद्योग र हस्तकला व्यवसाय सञ्चालनका लागि छलफल भइरहेको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि के कस्तो काम भइरहेको छ ?

सिगास गाउँपालिकाको प्रसिद्ध मानिने सिगारधामसम्म हामीले सिँढी निर्माण गरेका छौँ । धार्मिक पर्यटकलाई हिँड्ने बाटो नहुँदा दुई वर्ष लगाएर सिगास मन्दिरसम्म पुग्ने सिँढी निर्माण गरिएको छ । यस धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र संरक्षणमा गाउँपालिका लागि परेको छ । 

जनप्रतिनिधि र कर्मचारीबिच समन्वय कस्तो छ ? 

कर्मचारी बढी सरुवा हुने र यहाँ बस्नै नमान्ने गरेका छन् । दुर्गम गाउँपालिका भएर हो कि किन हो ? कर्मचारी बस्न नचाहने समस्या निकै छ । प्रमुख प्रशासकीय अधिकृत बस्नै मान्दैनन् । यहाँ हाजिर भइसकेपछि सरुवा भएर नै जान खोज्छन् । मन्त्रालयले हाजिर हुन पठाएको केही दिनमै सरुवा भएर जाने समस्या व्यापक छ । जनप्रतिनिधिले कर्मचारीलाई घचघच्याएर काम गर्नुपर्ने अवस्था छ । 

गाउँपालिकामा भ्रष्टाचार हुने गरेको गुनासो पनि बेला बेला आउने गरेको छ । सुशासन र पारदर्शिताको अवस्था कस्तो छ ? 

स्थानीय सरकारको भन्दा पनि बाहिरबाट आएका योजनामा भ्रष्टाचार हुने गरेको कुरा साँचो हो । भ्रष्टाचार जोसुकैले गरे पनि कोही उम्किन नपाउने गरी राज्यले छानबिन गर्नु पर्छ । भ्रष्टाचारको म विरोधी हुँ । गाउँपालिकामा सुशासन कायम गर्न हामी नियमित रूपमा लागिपरेका छौँ । कहीँकतै भ्रष्टाचार र अनियमितता भएको पाइएमा पालिकालाई समयमै उजुरी दिन आम नागरिकलाई आग्रह गर्न चाहन्छौँ । भ्रष्टाचार हाम्रो सबैभन्दा ठुलो सत्रु हो ।