• १९ फागुन २०८०, शनिबार
blog

‘गाउँघरका आँगनका डिलमा मखमली र सयपत्री फूल ढकमक्क फुलेपछि तिहार आएछ भन्न चाल पाइन्थ्यो । त्यसको छुट्टै रमाइलो पनि हुन्थ्यो । खेतबारीमा झुलेका धानका बाला, लहलहाएका कोदोका बालासँगै बारीका कान्लामा पहेँलै फुलेका सयपत्री फूल देखेर मन कम्ती रमाउँदैनथ्यो’, स्थायी घर कास्की भई काठमाडौँको रविभवन बस्दै आएकी नब्बे वर्षीया तीलकुमारी सुवेदीले आफ्नो बालापन स्मरण गर्दै भन्नुभयो ।

“तिहारको बेला अहिले पो सहरमा बढी रमाइलो हुन थाल्यो, उहिलेको तिहार त गाउँमा जति रमाइलो काहीँ हुँदैन्थ्यो,” गाउँघरको र सहरको तिहार पनि तुलना गर्दै उहाँले थप भन्नुभयो । 

उहिले सयपत्री र मखमली फूल तिहारको बेला मात्रै फुल्थ्यो तर अहिले त बाह्रै महिना खेती हुन थालेको छ । गाउँघरका आँगनका डिल, बारी, पाखा र सहरका घरका छत र बगैँचामा मखमली र सयपत्री फुल्ने गरेको पाइन्छ । मखमली फूलको प्रयोग भने अहिले पनि तिहारमा मात्रै गरिन्छ । पछिल्लो समय सयपत्री फूल बाह्रै महिना विभिन्न पूजाआजामा प्रयोग हुँदै आएको छ । यसले पनि सयपत्री फूलको महìव बढ्दै गएको पुष्टि हुन्छ । अहिले त स्वदेशमा मात्रै होइन, विश्वका थुप्रै मुलुकमा पुगेका नेपालीमाझ तिहारको बेला सयपत्री र मखमली फूलको महत्व बढेको छ । अध्ययन वा कामका लागि गएका नेपालीले स्वदेशबाट मखमली फूलका माला मगाएर तिहार मनाउने गरेका छन् । 

ऋषि प्राज्ञ डा. जगमान गुरुङको विचारमा नेपालमा मखमली फूल सधैँ उस्तै देखिन्छ, कहिल्यै ओइलाउँदैन । दुबो कहिल्यै सुक्दैन । अलिकति चिसो भेट्नेबित्तिकै हरियो हुन्छ । त्यसैले पनि दाजुभाइको दीर्घायुको कामना गर्दा प्रेमको अभिव्यक्ति स्वरूप यस्ता प्रसङ्ग जोडिएर आएका हुन् । उहाँको बुझाइमा तिहारमा फूलको महत्व मखमलीको माला नओइलाएसम्म र दुबो नसुकेसम्म यमदूतले मेरा दाजुभाइलाई लान नसकून् । ओखर फोडेर भाइहरूको दुःख मेटाउने, दुबो र तेलको घेराभित्र दाजुभाइहरूलाई राखेर यमराजबाट जोगाउने प्रचलन र विधिमार्फत गहिराइसम्मको आत्मीयता, करुणा, प्रेम एवं सुमधुर सम्बन्धको सन्देश दिन्छ तिहारले । 

सहर होस् वा गाउँ पछिल्लो समयमा तिहारलाई सयपत्री र मखमली फूलको चाडका रूपमा बुझ्ने गरिन्छ । उहिले मध्यपहाडमा रैथाने जातका सयपत्री फूल र मखमली फूल असोज र कात्तिक (शरद् ऋतु) मा मात्रै फुलेको देख्नुभएका प्राज्ञ गुरुङले भन्नुभयो, “अहिले सयपत्री फूल सहरका बगैँचा र छतका गमलामा बाह्रै महिना फुलेको देख्न पाइन्छ । त्यो बेला सयपत्री र मखमली फूल तिहारमा मात्रै फुल्ने भएकाले दिदीबहिनीले यी फूलका माला गाँसेर दाजुभाइको सय वर्ष आयुको कामना गर्दै गलामा लगाइदिन्थे ।” 

सयपत्री र मखमली फूल शरद् ऋतुमा फुल्ने भएकाले दिदीबहिनीले आफ्ना दाजुभाइलाई एक सय शरद् ऋतुसम्म आयुको कामना गर्दै फूलका माला लगाइदिने प्रचलन रहेको प्रसङ्ग उहाँले दोहो¥याउनुभयो । तिहारमा फूलको महìव धार्मिक र सांस्कृतिक रूपमा सीमित नभएर पर्यावरणीय र प्राकृतिक रूपमा रहेको तथ्य पनि उहाँले उजागर गर्नुभयो । उहाँ यी फूलको महìव उहिलेभन्दा अहिले निकै बढेको र यसलाई तिहारमा नभई नहुने वस्तुको रूपमा हेरिएको बताउनुहुन्छ ।

सहर होस् वा गाउँ पछिल्लो समयमा तिहारलाई सयपत्री र मखमली फूलको चाडका रूपमा बुझ्ने गरिन्छ । उहिले मध्यपहाडमा रैथाने जातका सयपत्री र मखमली फूल असोज र कात्तिक (शरद् ऋतु) मा मात्रै फुल्थयो । अहिले सयपत्री फूल सहरका बगैँचा र छतका गमलामा बाह्रै महिना फुुलेको देख्न पाइन्छ ।

प्राडा वीणा पौडेलले पनि धार्मिक र सांस्कृतिकसँगै पर्यावरणीय र प्राकृतिक महत्वलाई बढी प्राथमिकता दिएको चाडको रूपमा तिहार रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक महिनाको कृष्णपक्षमा पर्ने द्वादशी, त्रयोदशी, चतुर्दशी, औँसी, प्रतिपदा र द्वितीया गरी पाँच दिनसम्म मनाइने तिहार धार्मिक र सांस्कृतिकसँगै प्रत्यक्ष रूपमा पर्यावरण र प्रकृतिसँग जोडिएको छ । त्यसैले तिहारका पाँचै दिन सयपत्री फूल अनिवार्य प्रयोग गरिन्छ । मखमली फूल भाइटीकामा मात्रै प्रयोग हुने तर सयपत्री फूल तिहारका पाँचै दिन र विशेष गरी लक्ष्मीपूजामा घर सजावटमा बढी प्रयोग गरिन्छ । तिहारमा फूलको बढी प्रयोग गरिने भएकाले होला तिहारलाई फूलको चाड पनि भन्ने गरिएको हो । तिहारमा काग, कुकुर, गाई, गोवर्र्धन, लक्ष्मी र दाजुभाइको पूजा गर्दा सयपत्री फूलको प्रयोग व्यापक रूपमा बढेको छ । नेवारी समुदायले म्ह पूजामा पनि सयपत्री फूलको प्रयोग गर्छन् । पछिल्लो समयमा सयपत्री, मखमली फूलसँग गोदावरी, रातो गुलाबसमेत मिसाएर माला गाँस्ने चलन छ तर धेरैले अहिले पनि सयपत्री र मखमली फूलका मात्रै माला प्रयोग गर्दै आएको प्राडा पौडेल सुनाउनुहुन्छ । मखमली फूल नेपालीका लागि सांस्कृतिक महìव बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले नओइलाउने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।

रैथाने जातका सयपत्री लोपोन्मुख

वनस्पति विभागका पूर्व वनस्पति वैज्ञानिक कुवेरजङ्ग मल्ल मखमली र सयपत्री फूललाई वनस्पतीय भाषामा सौन्दर्यपरक बिरुवा (अर्नामेन्ट प्लान्ट) भन्नुहुन्छ । उहाँका अनुसार नेपालको रैथाने जातको सयपत्री लगभग लोपको सँघारमा पुगेको छ । उच्च पहाडमा कहीँ कहीँ मात्रै यो फूल पाइन्छ । वनस्पति विभागमा रहेर लामो समय बोटनिकल गार्डेनरको रूपमा काम गरेर भर्खर अवकास हुनुभएका मल्लको बुझाइमा अहिले नेपालमा व्यावसायिक खेती गरिने सयपत्री फूल कलकत्ते हो । यो जातको फूल एकनासको हुन्छ र धेरै फुल्छ । नेपालको रैथाने सयपत्री फूलको थुँगा ठुलो हुन्छ र लामो समय टिक्छ । तर कलकत्ते सयपत्री फूल त्यति लामो समय टिक्दैन । सयपत्री फूल उत्पादन हुने मौसम असोजदेखि बढीमा मङ्सिरसम्म भएको भन्दै उहाँले भन्नुभयो, “बाह्रै महिना व्यावसायिक रूपमा सयपत्री फूल उत्पादन गर्ने किसानले रासायनिक विषादीको प्रयोग गर्छन् । बेमौसममा विषादीबिना सम्भव छैन, रोगकिराले सताउँछ ।” सिजनमा फुल्ने सयपत्री फूल र त्यसको पातमा समेत औषधीय गुण हुने भएकाले रोगकिराको निराकरणमा प्रयोग गर्ने गरिएको उहाँको अनुभव छ । मखमली फूल बढी टिकाउ हुन्छ । यी फूलको पहिले मध्यपहाडी जिल्लामा मात्रै हुने गरे पनि पछिल्लो समयमा विभिन्न प्रजातिका सयपत्री फूल उच्च पहाड, मध्यपहाड र तराईमा खेती नै गरिन्छ । तिहारको समयमा घर कार्यालय सजाउनका लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ । नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूलभन्दा यो धेरै लोकप्रिय छ । निकै नै मन्द, कस्तुरी झैँ गन्ध आउने यो फूललाई संस्कृति भाषामा स्थलपद्यम् नामले चिनिन्छ । 

१६ औँ शताब्दीमा मेक्सिकोमा फुलेको सयपत्री फूल बिस्तारै बिस्तारै अन्य देशसम्म पनि फैलिएको विभिन्न अध्ययनमा पाइन्छ । विश्वभर सयपत्री फूलको ५० भन्दा बढी प्रजाति छन् । नेपालमा पनि सयपत्रीका १५ भन्दा बढी प्रजाति उपलब्ध छन् । सयपत्री फूल नेपालमा निकै लोकप्रिय मानिन्छ । विभिन्न अध्ययनमा सयपत्री फूल नेपालमा सन् १८०० भन्दा पहिले नै ल्याइएको भनिन्छ । सयपत्री फूल देख्नमा त्यतिकै सुन्दर भएकाले तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले सन् १८५५ मा उपहार स्वरूप बेलायत पठाएको पनि भनिन्छ । पूर्वीय दर्शन अनुसार सयपत्री फूलको प्रयोगले मानिसमा भएको अहङ्कारलाई कम गर्छ । फूलको केसरी रङले त्याग र माया–मोहको दूरीलाई दर्शाउँछ । यसबाहेक घरको मुख्य ढोकामा सयपत्रीको फूलको तोरण लगाउनाले घरमा नकारात्मकता आउन पाउँदैन । सयपत्री फूलको अर्को रोचक भनाइ फूल ओइलाउन अथवा सुक्न थाल्यो भने पनि यसको सुगन्ध फैलिरहन्छ, जसले निराश हुँदा पनि धैर्य गर्ने बल पुग्छ । ऊर्जा तथा प्रेरणाले भरिएको यस फूलको नौरङ्गी रङको महìव पनि कम छैन । 

माला खपत बढ्यो

यो वर्ष तिहारमा गत वर्षभन्दा मालाको माग बढ्ने अनुमान गरिएको छ । गत वर्षको तिहारमा करिब ३८ लाख माला खपत भएकामा यो वर्ष साढे दुई लाख बढेर ४० लाख ५० हजार हुने अनुमान गरिएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार हरेक वर्षको तिहारमा दुईदेखि तीन लाख मालाको खपत बढ्ने भएकाले यो पटक पनि बढ्ने अनुमान गरी त्यही अनुसारको तयारी गरिएको छ । यो सङ्ख्या सयपत्री, मखमली, गोदावरी तथा मिश्रित फूल सबैको हो । यस पटक तिहारमा सयपत्री फूलका माला ३५ लाख आवश्यक पर्ने छ, जसमा ८० देखि ८५ प्रतिशत माला आन्तरिक उत्पादनबाटै पूर्ति हुने छ भने बाँकी १५/२० प्रतिशत अपुग हुने सयपत्री फूलको माला भारतबाट आयात गरिने छ । यस्तै पाँच लाख मखमली, २० हजार गोदावरी तथा मिश्रित फूलको ३० हजार माला आवश्यक पर्ने एसोसिएसनले जनाएको छ । तिहारअघि नै सयपत्री फूल फुलिसकेकाले आन्तरिक उत्पादनले माग अनुसार पूर्ति गर्न नसकिएको सङ्घका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सयपत्री फूलको माग ग्रामीण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले नै धान्ने गरे पनि सहरी क्षेत्रलाई आयात गर्नुपर्ने अवस्था रहेको छ । एसोसिएसनका अनुसार यो वर्ष तिहारमा सयपत्री र मखमली फूल गरी साढे ३१ करोड बराबरको कारोबार हुने अनुमान रहेको छ ।


तिहारमा सयपत्रीसँगै मखमली फूलको माला पनि अत्यधिक रुचाइन्छ । नेपालले सयपत्री फूलका अपुग माला आयात गरे पनि मखमली फूलका माला भने निर्यात गर्ने गरेको छ । यो वर्षको तिहारमा विश्वका २० वटा देशमा एक लाख ५० हजार मखमली फूलका माला निर्यात हुने अनुमान गरिएको छ । गत वर्षको तिहारमा एक लाख ३५ हजार मखमलीका माला निर्यात गरेको एसोसिएसनले यो पटक थप १५ हजार माला बढी माग रहेकाले एक लाख ५० हजार निर्यात हुने जनाएको छ । यस वर्ष मखमलीको कारोबार गत वर्षकै मूल्यमा हुन्छ । यो वर्ष मखमलीको थोक मूल्य ४५ रुपियाँ र खुद्रा मूल्य ६०/६५ रुपियाँसम्म हुन सक्ने पनि एसोसिएसनको अनुमान छ । पछिल्लो समय तिहारमा गोदावरी तथा मिश्रित फूलको मालाको फेसन पनि बढेको छ । यस वर्ष तिहारमा २० हजार गोदावरीको माला तथा ३० हजार मिश्रित फूल (गुलाब, सयपत्री, गोदावरी) मालाको बिक्री हुने अनुमान छ । तिहारलाई चाहिने फूल तथा माला भाइटीकाको पाँच दिनअघिबाट बजारमा ल्याउने तयारी एसोसिएसनको छ । 

सरकारले कृषिका सबै उपजको व्यवसायमा मूल्य अभिवृद्धिको सीमा तोकेकाले यो वर्ष सयपत्री फूलको मालाको मूल्य बढ्ने फूल व्यवसायीले बताउँदै आएका छन् । सरकारले फूलसहित कृषि उपजमा मूल्य अभिवृद्धिको सीमा तोकेका कारण सयपत्री फूलका प्रतिमालामा २५ रुपियाँसम्म बढ्न सक्छ । यस वर्ष सयपत्री माला एक मिटरको थोक मूल्य ७५ रुपियाँ र खुद्रा मूल्य १२५ देखि १५० रुपियाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । ‘किसानबाट फूल किनेर बिव्रmी गर्ने व्यवसायीहरूको ५० लाख माथिको कारोबारमा मूल्य अभिवृद्धि कर लाग्ने भएकाले गत वर्षको तुलनामा माला केही महँगो हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार काँठ क्षेत्रका किसानले तीनदेखि चार मिटरसम्मको माला पनि बिक्री गर्ने भएकाले मालाको मूल्य थप महँगो हुन सक्ने देखिएको छ । मालाको गुणस्तर र छानोटमा भने उपभोक्ता स्वयम् चनाखो हुनुपर्ने एसोसिएसनले जनाउँदै आएको छ । 

नेपालमा फूल उत्पादन

नेपालमा पछिल्लो सयमा फूल खेतीप्रति आकर्षण बढेको छ । अन्य खेतीको तुलनामा यसको खेती गर्न सहज र बजारको पनि त्यति समस्या नहुने भएकाले यसप्रति आकर्षण बढेको हो । नेपालमा हरेक वर्ष फूलखेती फैलिँदै गएको छ । खेती र उत्पादन बढेसँगै फूलको कारोबार पनि वृद्धि भइरहेको छ । नेपालका ४८ जिल्लाका २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ । हालसम्म दुई सय एक्काइस हेक्टर क्षेत्रफलमा फूलखेती हुँदै आएको छ, जसमा दुई सय विघाभन्दा बढी क्षेत्रफलमा सयपत्री खेती भइरहेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार सयपत्री फूलको व्यावसायिक उत्पादन सातै प्रदेशमा भइरहेको छ । प्रदेश सरकारले व्यावसायिक फूल खेतीमा लगानी गर्न थालेपछि उत्पादन बढ्न थालेको जनाइएको छ । यतिबेला सयपत्री फूलको उत्पादन काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, मोरङ, धनुषा, सप्तरी, कास्की, बाँके, पाल्पा, तनहुँ, दाङ तथा कैलालीलगायतका जिल्लामा व्यावसायिक रूपमा हुँदै आएको छ । फूल खेतीमा ४४ हजारभन्दा बढी जनशक्तिले यस क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका छन् भने एक हजार ११६ जना फूल व्यवसायी संलग्न छन् । 

फूलको कारोबार बढ्ने

फूलको कारोबार हरेक वर्ष बढ्दो छ । चालु आर्थिक वर्ष २०८०/८१ मा करिब चार अर्ब रुपियाँ बराबरको फूलको कारोबार हुने अनुमान एसोसिएसनको छ । गत आर्थिक वर्ष २०७९/८० आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३० प्रतिशतले व्यवसाय वृद्धि भएर फूलको कारोबार दुई अर्ब ३० करोड रुपियाँ पुगेको थियो तर आर्थिक वर्ष २०७९/८० मा कारोबारमा ३३.६ प्रतिशतले वृद्धि भई तीन अर्ब १० करोड रुपियाँभन्दा बढीको भएको थियो । हरेक वर्ष फूलको माग र कारोबार बढेकाले चालु आर्थिक वर्षमा चार अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ३३ करोड रुपियाँ बराबरका विभिन्न प्रकारका फूल आयात भएको थियो भने ६८ लाख रुपियाँ बराबरको पुष्प निर्यात भएको एसोसिएसनले जनाएको छ । 

आयातित फूलको परीक्षणमा कडाइ

कृषि विकास मन्त्रालय अन्र्तगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्रले अस्वस्थ एवं गुणस्तरहीन फूलको अवैध आयात र रोक्न देशभका प्लान्ट क्वारेन्टाइन कार्यालयलाई पत्रचार गरेको छ । केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभर सञ्चालित प्लान्ट क्वारेन्टाइनका १४ वटा कार्यालयलाई फूलको गुणस्तर परीक्षणका लागि पत्राचार गरेको हो । केन्द्रले बिरुवा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ अनुसार देशबाहिरबाट आउने वनपतिजन्य वस्तुमा रोक र किराको परीक्षण गर्ने गरेको छ । केन्द्रका सूचना अधिकारी वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले तिहारमा जथाभावी रूपमा रोगकिरा लागेका फूल तथा माला भित्रिन सक्ने सम्भावना भएकाले स्वस्थताको प्रमाणपत्र नभएका अवैध फूल नेपाल भित्र्याउन रोक्नका लागि केन्द्रले दुई साताअघि नै देशभर रहेका प्लान्ट क्वारेन्टाइन कार्यालयलाई पत्रचार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तिहारमा मखमली र सयपत्री फूल बढी खपत हुन्छ । सस्तोको लोभमा जथाभावी रोगकिरा लागेका फूल भित्रिने सम्भावना पनि त्यति नै हुन्छ । त्यस कारण यो पटक चेकजाँचमा कडाइ गरिएको छ । केन्द्रका अनुसार कुनै पनि कृषि र वनस्पतिजन्य वस्तु एक देशबाट अर्को देशमा लाँदा–ल्याउँदा स्वास्थता र कुनै खालको हानिकारक रोगकिरा नभएको प्रमाणपत्र (फाइटो सेनेटरी सटिर्फिकेट) अनिवार्य हुनु पर्छ । नेपालमा बर्सेनि भारतलगायत मुलुकबाट फूलको आयात हुने गर्छ । अझ तिहारमा आयात उच्च हुने गर्छ ।