• १९ फागुन २०८०, शनिबार

उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका

blog

मेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु । तस्बिर : रासस

मन्थली (रामेछाप), कात्तिक २५ गते । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइडराइ पहिरो पार गरेर विद्यालय पुग्नुहुन्छ । उहाँलाई विद्यालयमा पढ्न आउँदा र फर्किंदा माथिबाट पहिरोसहित ढुङ्गा खस्छ कि भन्ने डर छ । ज्यान जोखिममा राखेर उनीजस्ता बालबालिका उज्यालो भविष्य खोजिरहनुभएको छ । 

पहिरोका कारण स्थानीय ठिङ्केपु विद्यालयमा पढ्न आउने रियासँगै खिनमाया, आईश्वरी, अर्निताजस्ता धेरै बालबालिका जोखिम पार गरेर पढ्न आउन बाध्य छन् । भविष्यलाई उज्यालो बनाउन उनीहरु जस्ता धेरै बालबालिकाले सङ्घर्ष गरिरहेका छन् ।

पहिरोकै कारण विद्यालयमा आउने विद्यार्थी कम भइसकेका विद्यालयका प्रधानाध्यापक राजन सुवेदीले बताउनुभयो । “यो पहिरो जानुअघि तीन सय ५० भन्दाबढी विद्यार्थी थिए । अहिले घटेर ७५ पुगेका छन् । हिँउद र वर्षा दुवै समयमा आउने पहिरोका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ । हिजोआज पनि विद्यार्थीहरू डराइडराई विद्यालयमा आइपुग्छन् । सर आज ढुङ्गा खसेन नी भनेर खुसी हुन्छन्”, उहाँले भन्नुभयो, “वर्षाको बेलामा ल्याउने र पुर्‍याउने गर्नुपर्छ । पहिरो कटाउन सकिएन भने यतै व्यवस्थापन गर्नुपर्छ । ठूलै झरी परे विद्यार्थी आउने सम्भावना नै हुँदैन ।”

ज्यान जोखिममा राखेर नानीबाबुहरू आउँछन् । मानसिकरूपमा नै थाकेर स्कुल आइपुगेका कलिलो दिमागले कति ज्ञान लिन सक्लान् र खै रु सुवेदीले दुखेसो पोख्नुभयो । “यो त दोस्रो घ्याप्चेभन्दा पनि फरक पर्दैन । त्यहाँ जस्तै यहाँ पनि पहिरोले साह्रो कष्टकर दैनिकी बनाएको छ”, उहाँले भन्नुभयो ।

मन्थली नगरपालिका र लिखु तामाकोसी गाँउपालिकाको सिमानामा पर्ने ध्याप्चे पहिराका कारण सालुको गैराथोक कठजोरको अर्चलेका धेरै स्थानीय विस्थापित भइसकेका छन् । सदरमुकाम मन्थली र आसपाका धेरै खेतीयोग्य जमिनलाई नस्ट पारेको घ्याप्चेको पहिरोलाई जिल्लाको ठूलो पहिराका रुपमा लिइन्छ ।

सानो पानी परे पनि पहिरो खस्ने र हिउँदमा सुख्खा पहिरो खसेर बाटो माथिबाट ढुङ्गा झर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार सुनुवारले बताउनुभयो । “पानी पर्‍यो कि पहिरो झरिहाल्छ । पहिरो कतिबेला आएर के गर्ने हो पत्तो हुँदैन । अर्कोबाटो भएर घुमेर आउ नानीबाबु भन्न पनि कतै बाटो छैन”, उहाँले भन्नुभयो, “पहिरो झरेको फेदीमा झेलुङ्गे पुलको योजना पर्‍यो भन्ने सुनिन्छ तर पुल तरेर आउदा–जाँदा बालबालिकालाई निकै उकालो ओरालो हिँड्नुपर्छ ।”

भुजीको पहिरो रोकिनेभन्दा पनि जोखिम बढाउँदै गइरहेको छ । विसं २०७२ को भूकम्पदेखि सुरु भएको उक्त पहिरो त्यस वर्षको वर्षात्को समयदेखि बढ्दै गएको स्थानीय भीमबहादुर नेवारले बताउनुभयो । “निरन्तर पहिरो झर्ने भएकाले जोखिम बढ्दै गएको छ । विद्यालय जाने–आउने बालबालिकालाई निकै समस्या छ”, उहाँले भन्नुभयो, “जोखिमका कारण वर्षाद्को समयमा बालबालिकालाई वडाको व्यवस्थापनमा वडा कार्यालयमा राखेर पढउने गरिन्छ ।”

पहिराका कारण भुजीको ठिङ्केपुु पीपलडाँडा, सारीटोल, कोकर्सी गाउँको नेवारी, सुनुवार र दलित समुदाय गरी करिब ८० घरपरिवार विस्थापित भइसकेका उमाकुण्ड गाउँ कार्यपालिका सदस्य हेमन्त सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार पीपलडाँडाबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारसहित दलित र नेवारी समुदायका २५ घरपरिवार अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।

भूर्गविद्लाई यससम्बन्धी गहिरिएर अध्ययन गराई समस्याको समाधान गर्नुपर्ने भन्दै समयमा नै समस्या समाधान नभए थप जोखिम बढ्ने कार्यपालिका सदस्य सुनुवारले बताउनुभयो । “सरकारले यस ठाउँको बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन सकेको छैन । रुना, ठिङ्केपु, पीपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना पर्नुका साथै पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रू १० लाखको योजना परेको छ । तर यो मात्र पर्याप्त छैन”, उहाँले भन्नुभयो ।

उक्त पहिरोको जोखिमका कारण वर्षाद्का समयमा भुजीस्थित पोल्दिममा भएको स्वास्थ्यचौकीमा र वडा कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्या पनि घटेको स्थानीय दशराम सुनुवारले जानकारी दिनुभयो । “पहिरोले विद्यालय र बालबालिकालाई मात्र नभएर अरु स्थानीयलाई समेत समस्या परेको छ । ओल्लोपाटोका नागरिकलाई किनमेलका लागिसमेत समस्या छ”, उहाँले भन्नुभयो, “दैनिक उपभोग्य सामान खरिदका लागि पहिरो कटेर जानुपर्ने बाध्यता छ ।”

पहिरोलाई रोकछेक गर्ने कुनै सम्भावना नै नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । “हामीले अहिलेलाई त्यहीँ पहिरोको बीचबाट बाटो खोलेका छौँ । तर त्यहाँबाट आवतजावत गर्न जोखिम छ”, उहाँले भन्नुभयो, “हरेक वर्ष बाटो खोल्छौँ । वर्षा लागेपछि बाटो सरेर झण्डै एक सय मिटरभन्दा तल पुगेको हुन्छ । त्यसको विकल्पका लागि पुल बनाउने योजनामा छौँ ।”

पुल निर्माणका लागि कार्यपालिकाबाट निर्णय भएर केन्द्रमा गइसकेको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो । यो प्रक्रियागत काम भएकाले छिट्टै पुल बनाउने काम सुरु हुने उहाँको भनाइ थियो । पुल बनेपछि मात्रै यहाँका नागरिकले पहिरोको जोखिमबाट मुक्ति पाउनेछन् । रासस