• १ साउन २०८१, मङ्गलबार

सञ्जालको सदुपयोग

blog

सूचना प्रविधिको तीव्रतर विकासका कारण सिनेमा भवनहरू भत्काएर व्यापारिक भवनहरू बनाइएका छन् । ठुलो पर्दा (स्क्रिन) मा सिनेमा हेर्न नपर्ने गरी हातको मोबाइलमै सिनेमा हेर्न मात्र होइन, आफैँले बनाउन सक्ने अवसर दुनियाँले पाएको छ । अनेकौँ मोबाइल एप्स विकास गरी मानिसलाई सूचना, शिक्षा, मनोरञ्जन, आर्थिक अवसर उपलब्ध भएका छन् । मोबाइलमा दिने समय, गर्ने डाउनलोड र खर्च लगातार बढिरहेको छ । विश्वको जुनसुकै कुनादेखि विषयगत जानकारी तत्काल लिन दिन सकिने मोबाइल एप्सहरूले मानव जीवन स्वस्थ, सहज, सुसभ्य बनाउन सक्छन् । सूचना प्रविधिको यो विकास आधुनिक समयको हाइड्रोजन आविष्कार जस्तै भएको छ । सदुपयोग भए यसले मानव समुदायमा चामत्कारिक परिवर्तन ल्याउन सक्छ, दुरुपयोग हुँदा विध्वंस । त्यस्तो खतराप्रति सूचना प्रविधिका प्रयोगकर्तादेखि नियामक पक्षहरू बेलैमा सजग हुन अत्यावश्यक देखिएको छ । 

सूचना र अभिव्यक्ति स्वतन्त्रताको हक नागरिकको मौलिक अधिकारका रूपमा संविधानतः स्थापित गरेको नेपालले सुसूचित नागरिक नै सबल हुन्छन् भन्ने आत्मसात् गरेको प्रस्ट छ । यही मान्यताले गर्दा आफ्नै उत्पादन स्रोतमा अकिञ्चन नेपालले अत्याधुनिक सूचना प्रविधिको प्रयोगलाई निर्वाध सहज बनाएको छ । त्यसैले एउटै मोबाइलमार्फत सूचना, सञ्चार, शिक्षा, मनोरञ्जन, अर्थोपार्जनका गतिविधिमा रमाउने नेपाली प्रयोगकर्ताको सङ्ख्या तीव्र गतिमा वृद्धि भएको छ । इन्टरनेटमार्फत मोबाइलमा डाउनलोड गर्न सकिने अनेकौँ विषयगत साइट, एप्सहरूमा मानिसहरू दैनिक औसत चार, पाँच घण्टा बिताउन थालेका छन् । दैनिक चार, पाँच घण्टा थोरै मनोरञ्जन, धेरै जीवनोपयोगी सूचना र ज्ञानका लागि भए त राम्रो हुन्थ्यो तर हरेक घरका प्रयोगकर्तालाई हेर्दा त्यस्तो महसुस हुँदैन । विश्वभरकै तथ्यले पनि भन्छ, सूचना र विषयगत खोजी साइट ‘गुगल’ भन्दा मनोरञ्जनमूलक सामाजिक सञ्जाल ‘टिकटक’ तीव्र लोकप्रियताको सिँढी चढ्यो । सामाजिक सञ्जालको यो भिडियो ‘प्लेटफर्म’ सरल र बहुउपयोगी छ, यसमार्फत प्रयोगकर्ताले सम्बन्ध जोडेका छन्, सूचना आदानप्रदान गरेका छन्, लुप्त विषयहरू सार्वजनिक गराएका छन् । यसैमार्फत अर्थोपार्जन गरेका छन् । नागरिक नै सूचना सञ्चारका संवाहक र लाभकारी बनेका छन् । 

तर यही नै अन्तिम सत्य होइन । यसको भिडियो सुविधाको सदुपयोगभन्दा दुरुपयोग बढी महसुस भएको छ । प्रचलित नियम कानुनको कुनै जानकारी नभएका सर्वसाधारणको कुरा होइन, पढालेखाले समेत टिकटकमार्फत स्वच्छन्द रूपमा प्रयोग गरिरहेको स्वतन्त्रताले कतिपयको अवहेलना, अपमान, पारिवारिक तनाव र विखण्डन भएको छ । यसमै व्यस्त रहँदा कैयौँको अङ्गभङ्ग, मनोविकारका सिकार भएर अस्पतालमा भर्ना हुनु परेको छ । समाजमा अपाच्य विकृति प्रदर्शन भइरहेको छ । सामाजिक सद्भाव खल्बल्याउने हतियार यसलाई बनाउन खोजिएको छ । साइबर अपराधका एक हजार ६४८ उजुरीमध्ये अधिकांश टिकटकसम्बन्धी छन् । समाजलाई जोड्नुपर्ने सामाजिक सञ्जाल नै समाज खल्बल्याउने हतियार बन्दै गएपछि कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयबमोजिम नेपालमा यतिखेर टिकटक प्रतिबन्धित भएको छ ।

तर पनि नेपालभित्र व्यक्तिगत डाटा र साइबर सुरक्षाको जोखिम मोलेर डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटक सञ्चालन भइरहेको देखिन्छ । निःशुल्क भिपिएन र डिएनएस प्रयोग गर्दा त्यसका उत्पादकले प्राप्त गर्ने पहुँच जोखिमपूर्ण हुन्छ । दर्तावाल अनलाइनबाटै चिट्ठा प¥यो भनेर धेरै नेपाली ठगिएका छन् भने निःशुल्क भिपिएन प्रयोग गरेर टिकटक चलाउने आपैmँ कति सुरक्षित होलान् ? मन्त्रीपरिषद्को निर्णयले प्रतिबन्ध गरेको टिकटक अन्य ‘गेटवे’ मार्फत चलाउनु आफैँमा गैरकानुनी पनि हो । नागरिकले कानुन बुझ्दिनँ, जान्दिनँ भन्न पनि त पाउँदैन । 

सामाजिक सञ्जाल आफैँमा एउटा माध्यम मात्रै हुन्, ती आफैँमा खराब हुन् भन्न सकिँदैन । तिनलाई खराब र राम्रा बनाउने उत्पादक, प्रयोगकर्ता र नियामकले हो । नेपालको संविधानप्रदत्त सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको हक सीमाहीन पक्कै होइन । सञ्चारमाध्यमले के कस्ता विषय प्रसारण गर्न हुन्छ हुँदैन भनी संविधान, कानुनले तोकेका विषयमा प्रयोगकर्ताले हेक्का राख्नै पर्छ । सामाजिक सञ्जाल पनि सूचना सञ्चारको एउटा स्वरूप अवश्य हो तर मूलतः सामाजिक सञ्जाल नै भएकाले यसको प्रयोग समाज जोड्न हुनु पर्छ, भत्काउन र भड्काउन होइन । सामाजिक सञ्जालहरूको सदुपयोग गरिए यीमाथिको निषेध आवश्यक नै पर्दैन । कानुनी ज्ञान नभएका प्रयोगकर्तासमेतको पहुँचमा रहने यस्ता सञ्जालका सेवा प्रदायकले नै प्रचलित कानुन प्रतिकूलका सामग्री नियन्त्रण र निषेध गर्नु उचित हुन्छ ।