• १९ फागुन २०८०, शनिबार

हेटौँडामा एशियाली खुला बुद्धिचाल प्रतियोगिता सुरु

blog

नेपाल खेलकुद महासङ्घ, हेटौँडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा हेटौँडामा बुधबारबाट हेटौँडा कप एशियाली खुला बुद्धिचाल प्रतियोगिता ।

राममणि दाहाल

हेटौँडा, मङ्सिर १३ गते । नेपाल खेलकुद महासङ्घ, हेटौँडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा हेटौँडामा सुरुभएको नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल भारतीय खेलाडीसँग पराजित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो राउन्डको खेलमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल भारतीय खेलाडी १४३३ रेटिङ भएका पङ्कज बोर्सेसँग पराजित हुनुभएको हो ।

पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईं भारतीय खेलाडी पियुस कुमारसँग बराबरीमा रोकिनुभएको छ । प्रतियोगिता अन्तर्गत पहिलो राउन्डमा भारतीय खेलाडी सुवयण कुण्डु, बङ्गलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह र राहुल गुरुङले जित हासिल गर्नुभएको छ । 

यस्तै श्रीलङ्कन खेलाडी डब्लुआइएम सचिनी राणाशिंघे, नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाललगायतका शीर्ष खेलाडीहरूले पहिलो राउन्डमा बाजी आफ्नो हातमा पार्न सफल हुनुभएको आयोजकले जनाएको छ ।

यसअघि प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामा, प्याब्सन, बागमतीका अध्यक्ष केशवलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, नेपाल खेलकुद महासङ्घ मकवानपुरका अध्यक्ष सविन मोक्तानलगायतले बोल्नुभएको थियो । 

प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपियाँ, उपविजेताले खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः २५ हजार र २० हजार रुपियाँ पाउने भएको छन् ।  साथै छैटौँदेखि दसौँ स्थानसम्मका खेलाडीले जनही १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले जनही ११ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरम लामाले प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगायत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने जानकारी दिनुभयो ।