• १९ फागुन २०८०, शनिबार

गाईभैँसी उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम

blog

कपिलवस्तु नगरपालिकाको श्रीनगरमा पशु जाँच गरिदैं । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, मंसिर १४ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरिरहेको छ । 

कार्यक्रममा कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाको ५० गाईभैंसीको उपचार गरेको हो । विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. प्रवेज आलमले जिल्लाका व्यावसायिक रूपमा गाईभैँसीपालन र डेरी कोरिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको बताउनुभयो । 

दुधालु गाईभैँसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । “गाईभैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ” उहाँले भन्नुभयो, “उपचारपश्चात् प्रजनन हुने र दूध उत्पादन पनि हुनेछ ।”

गाईभैँसीको बाँझोपन, जुका, माटे, खनिजतत्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रम रहेको पशु प्राविधिक राजु पौडेलले बताउनुभयो । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको उहाँको भनाइ छ । 

कपिलवस्तु नगरपालिका –१० का किसान सुलोचना पराजुलीले कार्यालयबाट घरमै पुगेर सो सेवा दिनु राम्रो भएको बताउनुभयो । आफूले पालेको गाई र भैँसीमा प्रजनन नहुने समस्या रहेको र कार्यालयबाट उपचारसँगै निःशुल्क औषधि पाएको उहाँको भनाइ छ । उहाँले प्रत्येक वर्ष एक पटक यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने बताउनुभयो ।

सो कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाको सहजीकरण र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको  आयोजनामा भएको हो । केन्द्रले कार्यक्रम सञ्चालन गरेपछि किसान खुसी भएका छन् ।