• १९ फागुन २०८०, शनिबार

टुक्रे योजनामा नअल्झिन मुख्यमन्त्री पाण्डेको निर्देशन

blog

घोडेपानी (म्याग्दी), मङ्सिर १६ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरूलाई निर्देशन दिनुभएको छ । 

म्याग्दीको घोडेपानीमा आज भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले टुक्रे योजनामा समय र श्रम खेर नफाल्न निर्देशन दिनुभएको हो । 

“सङ्घीय सरकारले प्रदेशलाई दुई लाखसम्म बजेटका योजना कार्यान्वयन गर्न पठाएको छ । मैले प्रधानमन्त्री र सङ्घीय मन्त्रीहरूलाई पाँच/सात बजेटका साना योजना कार्यान्वयन गर्न सकिँदैन भनेको छु,” उहाँले भन्नुभयो, “परिमाण नआउने साना र टुक्रे योजनामा अल्झिएर समय र श्रम खेर नफाल्न भौतिक पूर्वाधार र सिँचाइ मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छु ।” प्रदेश सरकारको कूल बजेटको ३५ र पुँजीगत बजेटको ५५ प्रतिशत हिस्सा ओगटेको भौतिक मन्त्रालयको प्रगतिले समग्र प्रदेश सरकारको काम देखाउने भएकाले ८१ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यको कार्यान्वयन गर्न निर्देशन दिनुभयो । 

सङ्घीयता र प्रदेश सरकारप्रति उठेका प्रश्नको जवाफ काम गरेर देखाउनुपर्ने चुनौतीको सामना गर्न परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कुनै पनि बहानामा बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती तथा आलटाल गर्ने छुट नुहुने चेतावनी दिनुभयो । जनशक्ति अभावको समस्या समाधान गर्न करारमा कर्मचारी राख्ने अध्यादेश ल्याउनसमेत तयार रहेको र त्यसका लागि विपक्षी दलका नेतालाई समेत सहमत बनाएको बताउँदै उहाँले पटकपटक एउटै समस्या देखाएर जिम्मेवारीबाट नपन्छिन आग्रह गर्नुभयो ।

वि.सं.२०७६ को सङ्घीय वन ऐनलाई देखाएर विकास आयोजनामा अवरोध सिर्जना गर्ने गतिविधि हुनु थालेकोप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभाले २०८० मा जारी गरेको वन ऐनमा टेकेर काम गर्न अनुरोध गर्नुभयो । वन, आर्थिकलगायत नीतिगत समस्या समाधानका लागि मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालय तयार रहेको बताउनुभयो । 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले काम भएका विकास आयोजनामा बजेट अभाव हुनु नदिने र योजना कार्यान्वयनमा सहजीकरण गरिने बताउनुभयो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जालीले योजना कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा असल अभ्यास विस्तार गर्न समीक्षा कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राम पराजुली, यातायात व्यवस्था महाशाखाका प्रमुख टीकाराम पौडेल, पूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयका प्रमुखहरूले चालु आर्थिक वर्षका योजना कार्यान्वयनको अवस्था, देखिएका समस्या र समाधानका लागि भएको पहलको विषयमा जानकारी गराउनुभएको थियो । रासस