• २० फागुन २०८०, आइतबार

दशगजा नजिक सडक निर्माणको सर्भे

blog

दशगजा नजिकै बर्दियाको बढैयाताल डाँफेमा सडकको सर्भे गर्दै भारतीय टोली । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बर्दिया, मङ्सिर १६ गते । भारतीय पक्षले बर्दियास्थित दशगजा नजिकै सडक निर्माणका लागि एकपक्षीय रूपमा सर्भे गरिरहेको छ । केही दिनअघि बढैयाताल गाउँपालिका–१ डाँफेनजिकै भारतीय टोलीले सडक निर्माणका लागि भन्दै सर्भे गरेको स्थानीयले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दशगजा नजिकै २० मिटर चौडाइको सडक निर्माणका लागि भन्दै भारतीय टोलीले नापजाँच गरिरहेको छ, नेपाली पक्ष साथमा नभएकाले हामीलाई शङ्का लागिरहेको छ ।’ 

नजिकै नेपाली सुरक्षा निकाय भए पनि सडकको सर्भेमा भारतीय टोली मात्रै आएको स्थानीयको भनाइ छ । भारतीय पक्षले दशगजासँग जोडेर सीमावर्ती क्षेत्रमा सडक निर्माण गरिरहेको छ । सीमावर्ती क्षेत्र अन्तर्गत बाँकेमा दशगजा नजिकै भएर भारतीय पक्षले सडक निर्माण गरिसकेको छ । सोही सडकसँग जोडिनेगरी भारतीय पक्षले बर्दियामा पनि सडक निर्माण गर्न लागेको हुनसक्ने आशङ्का स्थानीयको छ । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले भने सीमा क्षेत्रमा भारतीय पक्षले गरिरहेको सडक सर्भेबारे जानकारी नभएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मोहनप्रसाद अर्यालले भन्नुभयो, ‘सिडियोसाब जिल्ला बाहिर हुनुहुन्छ, हालसम्म सीमावर्ती क्षेत्रमा सडक निर्माणको सर्भे भएको बारेमा हालसम्म कुनै जानकारी छैन ।’