• २० फागुन २०८०, आइतबार

प्रतिष्ठानले अग्रजको स्मृतिमा चौतारी बनाइँदै

blog

सङ्गीत चौतारी निर्माण स्थलको फोटो सार्वजनिक गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा लगायत । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर १६ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाले अग्रज स्रष्टाको स्मृतिमा चौतारी निर्माण गर्नेभएको छ । 

सो कार्यको बारेमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापाले चौतारीको फोटो सार्वजनिक गर्दै जानकारी गराउनुभएको थियो । प्रतिष्ठानको जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त कार्यको जानकारी गराइएको हो । बेनी नगरपालिका –६ डम्बरामा निर्माण गर्न लागिएको उक्त चौतारीको लागत दुई लाख ५० हजार अनुमान गरिएको प्रतिष्ठानका म्याग्दी जिल्ला अध्यक्ष ध्रुव जिसीले जानकारी दिनुभयो ।

राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापाले जिल्ला शाखाले गर्न लागेको कामको सराहना गर्दै हरेक जिल्लाले केही न केही फरक काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले केन्द्र मात्र बलियो भएर नहुने भन्दै जिल्ला शाखाहरू मजबुत बनाइनु पर्ने र त्यसका लागि केन्द्रले भूमिका खेल्ने बताउनुभयो । 

केन्द्रले भूमिका खेलेर मात्र नहुने भएकाले जिल्लाले पनि आफूलाई बलियो बनाउन रचनात्मक कार्य गर्नुपर्ने उहाँको भनाइ छ । कुनै पनि शाखा वा केन्द्रीय समिति बन्दै गर्दा हुने निर्वाचनबाट बाहिरिएकालाई पनि समेट्ने र शुभचिन्तकको पनि साथ लिएर अघि बढे मात्रै संस्थाले काम गर्न सक्ने धारणा राख्नुभयो । 

जिल्ला अध्यक्ष ध्रुव जिसीले प्रतिष्ठानले रचनात्मक काम गर्दैआएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखाले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा काम गरेको छ ।’ प्रतिष्ठानले बेनी नगरपालिकामा शुद्ध पिउने पानीको व्यवस्थापन गर्दै वाटरगार्ड प्रदान गरेको बताउनुभयो । 

त्यस्तै, उद्घोषण तालिम सञ्चालन, लिटिल मास्टर नृत्य प्रतियोगिता अब लगत्तै आयोजना गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यसैगरी प्रतिष्ठान म्याग्दीले अपाङ्गता भएका तथा द्वन्द्वपीडित एवम् असहायका लागि निःशुल्क कम्प्युटर डिप्लोमा तालिम दोस्रो लट सञ्चालन गर्नुका साथै निम्न आयस्तर भएका विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, योग शिविर, मातातीर्थ औँसीमा आमाहरूसँग कार्यक्रम गरेको पनि उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीले बेनी नगरपालिका –६ डम्बरामा साङ्गीतिक चौतारी निर्माण गरी कला तथा सञ्चार क्षेत्रमा योगदान दिएर निधन भएकाहरूको शिलालेख राख्ने जनाएको छ । कला तथा सञ्चार क्षेत्रका अग्रजको नाम चौतारीको शिलालेखमा राखिने अध्यक्ष जिसीले बताउनुभयो ।  

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव शङ्कर विरही गुरुङ, सहसचिव तारानाथ आचार्य, जिल्ला शाखा म्याग्दीका प्रथम उपाध्यक्ष एकराज चापागाईँ, सचिव विजुन खत्रीलगायतले मन्तव्य राख्नुभएको थियो ।