• १९ फागुन २०८०, शनिबार

नेपाल समृद्ध बनाउन एकल सरकार चाहिन्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको दैलेख कार्यक्रममा ।

गोरखापत्र अनलाइन

दैलेख, मंसिर १७ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दैलेखको राकममा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 


एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरू बाहिर जानेक्रम घटेको दाबी गर्दै उहाँले भन्नुभयो, “एमालेलाई सरकारबाट हटाइएको अढाई वर्षमा राजनीतिक रूपले देशमा अस्थिरता आएको छ, अराजकता छाएको छ । अर्थतन्त्र कमजोर बनेको छ र गरिबी, महँगी, युवाहरू बिदेसिनु पर्ने अवस्था सिर्जना भएको छ ।” उहाँले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरू लोकतन्त्रबिरोधी भएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आज कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछन्, त्यो देशद्रोही कुरा हो । लोकतन्त्रबिरोधी त हुँदै हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रविरुद्ध कसैले बोल्छ भने सोच्छ भने त्यो नेपाल र नेपालीका हितमा बोलिरहेको छैन, सोचिरहेको छैन ।’ 


एमालेलाई सत्ताबाट हटाएको अढाई वर्षमा राजनीतिक रूपले देशमा अस्थिरता आयो, अराजकता छायो, अनेक प्रकारका खराबी छाएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यो अवधिमा अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महँगी बढ्यो ।” एमाले सरकारमा छँदा गरिबी घटेको उहाँले दाबी गर्नुभयो । देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार अनिवार्य रहेको उहाँको भनाइ छ । जनता अहिलेको गठबन्धन सरकारबाट वाक्क र दिक्क भइसकेको उहाँले टिप्पणी गर्नुभयो ।