• १९ फागुन २०८०, शनिबार

टिकटक प्रतिबन्ध यस कारण स्वागतयोग्य

blog

गत मार्चमा अमेरिकी संसद्को एक समितिले पाँच घण्टा समय लगाएर टिकटकको कार्यकारीलाई सोधपुछ गरेको थियो । जसमा यसले गर्ने समयको बर्बादी, गलत सूचना, बालबालिकाको सुरक्षा, मानसिक स्वास्थ्य, डाटा किनबेच र सुरक्षा सम्बन्धमा सोधपुछ गरेको पाइन्छ । यसबाट टिकटक कति गम्भीर रहेछ भनेर देख्न सकिन्छ । नेपाल सरकारले कात्तिक २७ गते टिकटक बन्द गरेकाले यस विषयको चर्चा सान्दर्भिक भएको हो ।

नेपालमा विभिन्न सामाजिक सञ्जाल र मिडिया हेरियो भने राम्रो समाचार आउनै छोडेको भान भएको छ । सामाजिक सञ्जालले हाल मानव अधिकारको रूप पनि लिएको छ । इन्टरनेट चलाउन पाउनु पछिल्लो पुस्तालाई चाहिने नैसर्गिक र अति आवश्यक मानव अधिकार हो । इन्टरनेटको बदलिँदो प्रभाव र यसले ल्याउने नकारात्मक बाछिटाको संसारमा चर्चा परिचर्चा हुन थालेको छ । हालै बेलायतमा आर्टिफिसियल इन्टलिजेन्स समिट भयो, जहाँ विभिन्न टेक कम्पनीका मालिकलाई आमन्त्रण गरिएको थियो । 

टिकटकको प्रभाव

सामाजिक सञ्जाल भनिने टिकटकमा मान्छेहरूले आफ्नो प्रतिष्ठा इज्जतसमेतलाई तिलाञ्जली दिँदै विभिन्न अपाच्य गतिविधि गरेको देखिएको थियो । टिकटकबाट केही सामग्री राखियो भने धेरै समक्ष पहुँचमा पुग्ने गरेको पाइन्छ । सक्दो धेरै मान्छेमा आफ्नो सामग्री सम्प्रेषण भयो भने चर्चा परिचर्चा हुने र आफू हिट र सेलिब्रेटी भइने भन्दै केहीले हदैसम्मको आफ्नो व्यक्तिगत पाटो उदाङ्गोसमेत पारे । कतिपयले यसैमार्फत विभिन्न समाजलाई हानि हुने गतिविधि, सामाजिक मूल्य र मान्यतामा हेर्नै नसकिने गरी प्रहार गर्ने प्रवृत्ति र कसैको धर्म र सांस्कृतिमा आँच आउने गरी बोल्ने लेख्ने प्रवृत्ति बढिरहेको अवस्था थियो ।

प्रतिबन्ध लगाउने कारण 

सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनको जवाफ दिँदै सरकारले टिकटकका कारण नेपाली समाजमा डिजिटल अर्थात् प्रविधिगत प्रदूषण बढदै गएको र त्यो नियन्त्रण आवश्यक रहेको दाबी गरेको छ । टिकटकले समाजमा सद्भाव बिथोलिएको, घृणा फैलाएको, सामाजिक सहिष्णुतामा आँच आउने अभिव्यक्ति आएको, अश्लील सामग्री सेयर गरेर फैलाउने क्रम बढेको भन्दै सरकार नियन्त्रण गर्न अग्रसर देखिएको हो । हुन पनि टिकटकले कसैको व्यक्तिगत मानमर्दन गर्ने, गोपनीयता (प्राइभेसी)को ख्याल नराख्ने र आवेशप्रेरित रूपमा कसैलाई गालीगलौच गर्ने काम नभएको होइन । त्यस्तै रिट निवेदनको जवाफमा प्रधानमन्त्रीले टिकटकको बढ्दो प्रयोगले सामाजिक आचरण स्खलित भएको र बालबालिकालाई समेत असर गरेको, सामाजिक शिष्टता र नैतिकतामा प्रतिकूल असर गरेको, राष्ट्रिय सुरक्षा, डाटा चुहावट र साइबर सुरक्षा जस्ता कारणले प्रतिबन्ध लगाउनु परेको बताउनुभएको थियो । 

टिकटकको नकारात्मक प्रभाव 

टिकटक प्लेस्टोरबाट डाउनलोड गर्नसाथ व्यक्तिगत विवरण र आफ्नो आइडीबिनै भिडियो हेर्न सक्ने एप थियो । मन परे र अरूसँग जोडिन चाहेमा र आफ्ना मान्छेको भिडियो हेर्न भने लग इन गरेर पाइन्थ्यो । हाल यसको एक अर्ब प्रयोगकर्ता छन् आजको युगमा सामाजिक सञ्जालले बढीभन्दा बढी आफ्नो प्रयोगकर्ता बढाइरहेका छन् । पङ्क्तिकारले बेलाबेला आफ्नो मोबाइलमा स्क्रिनटाइम हेर्दा दिनको छ घण्टासम्म चलाइएको पाइन्छ । सामाजिक सञ्जालले हाम्रो मस्तिष्कमा डोपमिन सिर्जनामा वृद्धि गराएर प्रभाव जमाउन खोज्ने गरेको विभिन्न अध्ययनले देखाउने गरेको पाइन्छ । निउरोसाइन्टिस्ट एन्ड्रयु ह्युबरम्यानका अनुसार डोपमिन एक ड्रग जस्तै हो, जुन जति बढी लिइन्छ त्यति बढी शरीरले पनि खोज्दै जाने गर्छ । त्यस कारण सामाजिक सञ्जाल पनि एक ड्रगसरी अघि आएको भनेका छन् । उनी एक पोडकास्टमा भन्छन् ‘हामीलाई थाहा हुन्छ हामी गलत गर्दै छौँ तर हामीले सम्बन्धित सामग्री भने प्रयोग गर्न खोजिराख्छौँ ।’ 

फ्रान्सको एक सर्भे अनुसार उमेर ११–१८ वर्ष उमेरमा रहेका ६६ प्रतिशत केटाले र ६० प्रतिशत केटीले टिकटक प्रयोग गरेको पाइन्छ । भारतमा बन्द हुनुभन्दा पहिला २० करोडभन्दा बढी टिकटकका प्रयोगकर्ता थिए । टिकटक प्रयोग गर्ने २० प्रतिशत हिस्सा भारतले ओगटेको थियो । चाइनिज भर्जनवाला टिकटक झन्डै ७५ करोडले हेर्ने गरेको पाइन्छ । एक अध्ययनका अनुसार अमेरिका टिकटकको सबैभन्दा ठुलो प्रयोगकर्ता रहेको पाइन्छ, जहाँ झन्डै १५ करोड प्रयोगकर्ता छन् । त्यसपछि क्रमशः इन्डोनेसिया झन्डै १० करोड, ब्राजिलमा आठ करोड, मेक्सिको छ करोड, रसिया पाँच करोड, भियतनाम चार करोड चार लाख, पाकिस्तान तीन करोड नौ लाख, फिलिपिन्स तीन करोड चार लाख, थाइल्यान्ड तीन करोड पाँच लाख र टर्की तीन करोड दुई लाख प्रयोगकर्ता रहेका छन् । 

विश्वप्रसिद्ध वाल स्ट्रिट जर्नलमा प्रकाशित जुलि जार्गनको एक लेख अनुसार टिकटकले बालबालिकालाई घातक गरिराखेको भनेर लेखेकी छन् । उनले ‘टिकटक फिड्स टिनस अ डाइट अफ डार्कनेक्स’ मा टिकटकले खानपिन समयमा अस्तव्यस्त ल्याइदिने, व्यक्तिगत हानि, आत्महत्या गर्न प्रोत्साहन गर्ने र हानिकारक सामग्री सम्प्रेषण गर्नेमा पहुँच पुगेको भनेर दुःखद पाटो उदाङ्गो पारेकी छन् । 

त्यस्तै सेन्टर फर काउन्टरिङ डिजिटल हेटको एक अध्ययन अनुसार गत अगस्तमा अन्वेषकले अमेरिका, युके, क्यानडा र अस्ट्रेलियाको १३ वर्षका बालबालिका हुन जस्तो देखिने गरी आठ टिकटक खाता सेट गरे, ३० मिनेटका लागि । खाता पछाडि अनुसन्धानकर्ताले प्लेटफर्मको तपाईंका लागि पृष्ठले उनीहरूलाई शरीरको छवि र मानसिक स्वास्थ्यको बारेमा देखाएको कुनै पनि भिडियोमा छोटो पज गरेर तिनीहरूलाई मन पराउनका लागि हृदय ट्याप गर्छन् । टिकटकले तुरुन्तै आत्महत्या र खाने विकारबारे भिडियो सिफारिस गरेको थियो अनुसन्धानकर्ताले भने । शरीरको छवि र मानसिक स्वास्थ्यबारे भिडियो प्रत्येक ३९ सेकेन्डमा खाताहरू ‘तपाईंका लागि पृष्ठहरूमा पप अप हुने भनिएको छ, जुन डरलाग्दो हो । पियु रिसर्च सेन्टरको एक हालैको अध्ययनका अनुसार अमेरिकाका युवाले समाचार टिकटककै माध्यमबाट लिने गरेको पाइएको छ । यो माध्यम सहज भए पनि त्यसमार्फत हुने नकारात्मक समाचारले प्रश्रय नपाउला भन्न सकिन्न । अमेरिकामा हाल टिकटक बन्द गर्नुपर्ने आवाज उठेको पाइन्छ । २०२२ सम्म ४१ प्रतिशत अमेरिकीको पहुँचमा टिकटक पुगेको पाइन्छ भने १८–१९ वर्ष उमेरका विद्यार्थीमा १० मा सात जनाले टिकटक प्रयोग गर्ने गरेको र २०–२९ वर्ष उमेरको ५६ प्रतिशतले टिकटक प्रयोग गरेको पाइन्छ ।

अन्य देशमा किन लगाइयो प्रतिबन्ध ?

पछिल्लो समय साइबर सुरक्षा, गोपनीयता, डाटाको सुरक्षालगायत अन्य विषयलाई लिएर भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने देशको सङ्ख्या बढ्दै गएको छ । कुनै मुलुकले प्रतिबन्ध लगाउँदा भूराजनीतिक कारण देखिए पनि वास्तवमा त्यो सत्य नहुन पनि सक्छ । अफगानिस्तानमा युवालाई गलत बाटोतर्फ लग्ने भन्दै प्रतिबन्ध लगाइएको, अस्ट्रेलियाले सरकारी डिभाइसमा प्रयोग गर्न प्रतिबन्ध, बेलजियमले मार्च २०२३ बाट साइबर सुरक्षा र सुरक्षालाई कारण मानेको, क्यानडाले फेब्रुअरी २०२३, डेनमार्कले मार्च २०२३ बाट आफू मातहतका कर्मचारीलाई, युरोपेली सङ्घले आफू अन्तर्गतका कर्मचारीलाई, फ्रान्सले सरकारी कर्मचारीलाई, लात्भियाले मार्च २०२३ बाट सुरक्षाको कारण देखाउँदै बन्द गरे । पाकिस्तानले हालसम्म चार पटक अस्थायी रूपले प्रतिबन्ध गरेको, ताइबान, बेलायत, नर्बे, न्युजिल्यान्ड, नेदरल्यान्ड र अमेरिकाको ५० मध्ये ३४ राज्यमा टिकटक प्रतिबन्ध छ । माथिका देशमा कुनैमा आंशिक र कुनैमा पूर्ण प्रतिबन्ध छ । हालसम्म २७ राष्ट्रले टिकटक प्रतिबन्ध गरेको खबर सञ्चार माध्यमबाट पाइन्छ । हालसम्म नेपाल र भारतसहित छ देशले पूर्ण रूपमा टिकटक बन्द गरेका छन् ।

निष्कर्ष

टिकटकमार्फत अर्थतन्त्रमा योगदान नपुगेको भन्ने होइन । धेरैले यस प्लाटफर्ममार्फत राम्रो आयआर्जन गरेका समेत छन् । यो भन्दै गर्दा एउटा कुरा के बिर्सन भएन भने बहुमत कतातिर लम्किँदै छ । टिकटक अल्गोरिदमले गर्ने विभिन्न क्षति र सुरक्षा जोखिमबारे विस्तृतमा चर्चा गरिसकेको अवस्थामा नेपाल जस्ता मुलुकमा टिकटक तत्काल नियन्त्रण गर्न सक्ने कुरासमेत होइन । भारत जस्तो मुलुकले समेत सुरक्षाको कारण र भूराजनीतिक कारणले टिकटक प्रतिबन्ध लगाएको अवस्थामा यो सोचनीय विषय पक्कै हो । नेपालमा २२ लाखभन्दा बढी प्रयोगकर्ता टिकटकमा रहेको भनिन्छ । मानव अधिकारको कुरा गर्ने अमेरिकाका राज्यहरूले समेत टिकटकमा प्रतिबन्ध लगाएका छन् । टिकटकको चाइनिज भर्जनले शैक्षिक, वैज्ञानिक अन्वेषणका कुरालगायत उपयोगी कुरा मात्र प्रयोगकर्तालाई देखाउने तर पश्चिमी र अन्य मुलुकमा भने अर्को भर्जनले मनोरञ्जन र छाडा सामग्री ओतप्रोत हुनुले राम्रा पक्ष मात्र हेरेर टिकटक सही हो भन्ने अवस्था छैन ।  

Author

रितेश पन्थी