• २० फागुन २०८०, आइतबार

अपाङ्गता दिवसमा स्वास्थ्य शिविर

blog

स्वास्थ्य जाँच गराउन आएकी अपाङ्गता भएकी बालिका आफ्नो अभिभावकसँग । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मंसिर १८ गते । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर तथा लेखाजोखा कार्यक्रम गरिएको छ । 

स्वास्थ्य शिविरमा ६७ जना अपाङ्गता भएका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिनुभएको महिला विकास शाखा प्रमुख सम्झना दर्लामीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा जनरल फिजिसियन, आँखा चेकजाँच, अडियो मेट्रोलगायतका ६७ जना अपाङ्गता भएका नागरिकलाई सेवा प्रवाह गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले अपाङ्गता भएका व्यक्तिमा विशेष क्षमता हुने हुँदा उनीहरूले यथोचित अवसर पाउनुपर्ने बताउनुभयो । उहाँले पालिकाभित्र भएका व्यक्तिलाई छिटोछरितो र सहजरुपमा सेवा दिन प्रतिबद्ध रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिको आयआर्जनका लागि विभिन्न कार्यक्रम ल्याउनेतर्फ पालिका प्रतिबद्ध रहेको बताउनुभयो । 

पालिका उपाध्यक्ष मनीषा सिंह थारुले अपाङ्गताको आधारमा कसैलाई पनि भेदभाव गर्न नहुनेमा जोड दिँदै अपाङ्गतासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनमा जोड दिइने बताउनुभयो । 

कार्यक्रममा कार्यपालिका सदस्य केशवराज दमाई, अपाङ्ग सञ्जालका अध्यक्ष यमराम वलीलगायतले आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरूले अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्नेमा जोड दिँदै त्यसयता व्यक्तिलाई दया, माया र करुणाभाव मात्र नदेखाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाको आयोजनामा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।