• २० फागुन २०८०, आइतबार

लोकतन्त्र रक्षा गर्न बेलैमा सचेत बनौँ : कृष्ण पहाडी

blog

नागरिक संवादमा आफ्नो भनाइ राख्दै मानव अधिकारकर्मी नेता कृष्ण पहाडी लगायत । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर १८ गते । मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरूलाई आग्रह गर्नुभएको छ । लोकतन्त्र रक्षाका लागि दलहरू नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरूलाई इतिहासले क्षमा नगर्ने उहाँको कथन छ । 

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा आयोजित  लोकतन्त्रको प्राण: सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र बचाँँउन साझा सङ्कल्प गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘‘बेला छदै उपचार गरौँ,अराकताबादी खेती नगरौँ,धर्म र जातीको मुद्धामा दाइले भाइलाई मार्छ ।’’

पहाडीले मुलुकमा सुशासन नभए लोकतन्त्र टिक्न नसक्ने तर्क गर्दै सङ्घीयताले मुलुकलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्ने धारणा राख्नुभयो ।यतिबेला नेपालका दलहरू सर्पको मुखको भ्यागुताजस्तो भएको टिप्पणी गर्नुभयो । ‘सङ्घीयता को दोष छैन, दोष त भ्रष्टाचार हो, कुसंस्कार हो ।’’

उहाँले भन्नुभयो, ‘‘सिंहदरबार को अधिकारसँगै भ्रष्टाचार पनि प्रत्यायोजन भयो,मुलुकमा सुशासन नभए लोकतन्त्र टिक्दैन । दलहरू सत्ता केन्द्रित मात्रै हुँदा परिवर्तनमाथि प्रश्न उठ्न थालेको उहाँको भनाइ छ । पहाडीले भन्नुभयो, ‘‘टाउकोमा परेका २–४ वटा ढाडे जुम्रा मार्ने हो, टाउको फाल्ने होइन ।’’

मङ्सिरपछि चलेको आन्दोलन मानव अधिकार विरोधी र अर्थहीन रहेको उहाँको तर्क छ । फरक प्रसङ्गमा पहाडीले क्रान्तिको दुवाइले भ्रष्टाचारमा उन्मुक्ति दिन नसकिने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक आन्दोलन गर्छु भनेर धम्क्याउनु गलत भएको बताउनुभयो । उहाँले पछिल्ला काण्डहरुमा माओवादीका काण्डहरू बाहिर आउँदा प्रधानमन्त्री मौन रहनु लज्जाजनक भएको तर्क गर्नुभयो । 

मानव अधिकार तथा शान्ति समाजका केन्द्र सभापति रामकृष्ण बरालले शान्ति समाजले विभिन्न मुद्धामा अभियान चलाइरहेको उल्लेख गर्नुभयो ।जनताका एजेन्डालाई केन्द्रमा राखिएको उहाँको तर्क छ । सो अवसरमा समाजको अवधारणापत्र प्रस्तुत गर्दै निवर्तमान केन्द्रीय सभापति तथा सल्लाहकार गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि नागरिक सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।  खनालले लोकतन्त्रको रक्षाका लागि सुशासनको प्रत्याभूति र सद्भाव प्रवर्द्धन आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसालले जनयुद्धकै कारण देशमा सामन्तको अन्त्य भएको दाबी गर्नुभयो । उहाँले दलहरूको विकल्प दलहरू नै भएको उहाँको भनाइ छ ।

नेपाली काँग्रेस क्षेत्र न २ का सभापति प्रजापाल गिरीले दलहरू बलियो बन्ने तर जनता कमजोर बन्ने परिस्थिति बनाउन नहुने बताउनुभयो ।लोकतन्त्र र सङ्घीयताको विकृत पक्षलाई समाधान गर्नुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा पत्रकार डा बालकृष्ण चापागाईँले यतिबेला मुलुकमा ग्रहण लागेको भन्दै शान्ति समाजले मूर्त एजेण्डा बनाउनुपर्ने बताउनुभयो । लेखक ऋषि आजादले लोकतन्त्रवादी शक्तिहरू एकजुट बनेमा राजतन्त्र नफकर्ने ठोकुवा गर्नुभयो । उहाँले चुनावमा एमालेले राजावादी शक्ति बोक्दा र कांग्रेसले माओवादीलाई बोक्दा अहिलेको परिस्थिति आएको तर्क गर्नुभयो ।

सहकारी अभियन्ता वसन्तप्रसाद ढकाल, बुटवल उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष सुरज भट्टराई, नागरिक समाजका उपाध्यक्ष रामकृष्ण हमाललगायतले लोकतन्त्र बचाउन सबै एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो  ।