• १९ फागुन २०८०, शनिबार

विभेदमुक्त समाजको खाँचो

blog

परापूर्वकालदेखि कथित सानो र ठुलो जात भनी समाजलाई विभाजन गर्ने गरिएको छ । यसरी सामाजिक रूपमा मानिसलाई जात, जाति, भाषा, वर्णका आधारमा भेदभाव गर्नु भनेको कानुनको उपहास र मानिसविरुद्ध मानिसले नै अन्याय गर्नु हो । हाम्रो कुनै पनि धर्मले वर्ण र रङको आधारमा जातजातिको विभाजन भएको स्वीकार गर्दैन । धार्मिक ग्रन्थ अनुसार मानिसको काम अथवा व्यवसाय अनुसार जाति विभाजन गरिएको स्वीकार गर्दछ । धार्मिक गुरुहरू जातको आधारमा मानिसलाई विभेद गरिनु हुन्न भन्दछन् । 

धर्मले मानिसले गरेको कर्म अनुसार उसको जाति निर्माण भएको ठान्दछ । सामाजिक व्यवहारलाई सहज तथा अनुकूल बनाउन पहिलेको समाजले मानिसले गर्ने व्यवसायको आधारमा मानिसलाई जातीय विभाजन गरेको हो । न कि यसको उद्देश्य जातीय छुवाछुत निर्माण गर्न हो तर हाम्रो पुरातन समाजले त्यसलाई आफूखुसी व्याख्या गर्‍यो र समाजको प्रतिष्ठित मानिएका मानिसहरूले आफू अनुकूलको व्याख्या गर्दै सानो जात, ठुलो जात भनी वर्गीकरण गरे । त्यसको अवशेषका रूपमा अझै पनि जातीय छुवाछुत हाम्रो समाजमा रहेको पाइन्छ । जुन शिक्षित समाजमा भन्दा अशिक्षित समाजमा बढी पाइन्छ ।

प्रत्येक नेपालीको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई नेपाली समाजले अझै पनि पूर्ण रूपमा पालना गरेको पाइँदैन । प्रत्येक व्यक्तिमा समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्नु सरकारको दायित्व हो । कुनै पनि स्थानमा गरिने छुवाछुत, बहिष्कार, प्रतिबन्ध, निष्कासन, अवहेलना तथा मानवताविरोधी भेदभावजन्य कार्यलाई कानुनले दण्डनीय मानिए पनि नेपाली समाज अझै पूर्ण रूपमा भेदभावमुक्त हुन सकेको छैन । व्यक्तिलाई धर्म, संस्कृति, परम्परा– रीतिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेसाका आधारमा छुवाछुत तथा भेदभाव गर्न नपाइने नेपालको संविधानमा उल्लेख छ ।

जनस्तरमा सचेतना र शिक्षाको पहुँच पुर्‍याउन सके मात्र पूर्ण रूपमा विभेदमुक्त समाज बन्ने कुरामा दुई मत नहोला । विगत र वर्तमानको नेपाली समाजमा विभेदका खाडल केही हदसम्म साँघुरा भएका छन् तर लगानी अनुसारको अपेक्षाकृत विभेदमुक्त समाज बन्न भने सकेको छैन । देशमा भएका राजनीतिक परिवर्तनले यसमा थप बल भने प्रदान गरेको कुरालाई नकार्न सकिँदैन । मानिसले प्राप्त गरेको शिक्षाले उसको चेतनास्तरमा भएको सकारात्मक परिवर्तन नै जातीय छुवाछुत अन्त्यको मूल अस्त्र बन्न सक्छ । आधुनिकीकरण उन्मुख हाम्रो युवा जमातले जातीय भेदभाव स्वीकार गर्दैन । आज हरेक मानिस परिवर्तनको पक्षधर छ, यसर्थ पनि उसले अङ्गीकार गर्ने परिवर्तनमा जातीय भेदभाव स्वतः कम हुँदै जान्छ । जसले समाजलाई विकासको गतिमा अघि बढाउँछ ।

नेपाली समाजको विकास क्रमलाई हेर्दा राज्य र समाजलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने मानव तथा मानव कल्याणका लागि विभिन्न प्रथा, परम्परा एवं संस्कारबाट समाज र राज्य अगाडि बढेको पाइन्छ । विगतमा चलेका प्रथा, प्रचलन, परम्परालाई संश्लेषण गर्दै तिनै पुराना मूल्य मान्यतालाई लिखित गरी कानुनी मान्यता प्रदान गरेका कारण हालसम्म यसले समाजमा जरा गाढेको हुन सक्छ । हिजो नेपाली समाजमा जे जस्ता विभेद र भेदभाव थिए, ती सबैलाई त्यसपछि बनेको ऐनले लिखित रूपमा कानुनी मान्यता प्रदान गरेका कारण आजसम्म विभेदको पालनपोषण हुन पुगेको अनुमान गरिन्छ । 

नेपाली समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले हाम्रो समाजमा प्रेममार्फत अन्तरजातीय वैवाहिक सम्बन्ध स्थापित हुन प्रेम जोडीले ठुलै सङ्घर्ष गर्नु परेको छ । अन्तरजातीय विवाहले पूर्ण रूपमा मान्यता नपाउँदा कोही गाउँ छोडेर पलायन हुने, पलायन हुन नसक्नेहरू आत्महत्या गर्नेसम्मका घटना समाजमा घट्ने गरेका छन् । केही जोडीले एकमुस्ट झुन्डिएर आत्मदाह गरेको घटनालाई प्रतिनिधि घटनाका रूपमा लिन सकिन्छ । यस्ता प्रकारका घटना हाम्रो समाजमा प्रशस्तै देख्न र सुन्न पाइन्छ । 

नेपालमा कानुनतः छुवाछुत अन्त्य भएको करिब छ दशक भइसकेको छ । सामाजिक अपराधलाई निरुत्साहन गरी समाजमा सबै जातजाति, वर्ग र समुदायबिच आपसी सामञ्जस्य एवं समानता कायम गर्न नेपाल सरकार सदैव प्रतिबद्ध रहेकोमा शङ्का गर्नुपर्ने कुनै कारण नभए पनि अपेक्षित क्रियाशीलता पटक्कै देखिएको छैन ।

लोकतन्त्रको पुनस्र्थापनापछि गरिएका अनेकौँ कानुनी प्रबन्ध तथा घोषणा हुँदाहुँदै पनि नेपालमा दलितमाथि हुने विभेदका घटनामा कमी आएको छैन । नेपालको संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्दै छुवाछुतविरुद्ध बनेका कानुनको पूर्ण रूपमा कार्यान्वयन गर्ने र वडापालिकालाई जातीय विभेद र छुवाछुतमुक्त वडापालिका बनाउन आवश्यक सहयोग र खबरदारीका लागि पूर्ण प्रतिबद्ध केवल कागज र भनाइमै सीमित देखिन्छ । सरकारी स्तरबाट बर्सेनि जातीय भेदभावविरुद्धको अभियानमा लाखौँ खर्च हुने गर्छ । नेपालमा जातीय हिंसा तथा जातीय भेदभावविरुद्ध चेतना फैलाउन विभिन्न प्रकारका सामाजिक सङ्घ संस्था स्थापना भएका छन् । राज्यले जात–जाति, भाषा–धर्म, लिङ्ग र वर्णको आधारमा कोही नेपाली पनि भेदभावको सिकार हुनुहुन्न । यदि त्यसो भएको खण्डमा कानुनले दण्डित गर्ने छ भनी कानुन बनाएको छ तर पनि समाजमा विभेदका घटना हुन छोडेका छैनन् । 

हाम्रो समाजका युवाले अङ्गीकार गर्ने प्रेम सम्बन्ध आफैँमा बलवान् हुनुपर्ने हो । प्रेमको अघोषित सिद्धान्त नै दुई व्यक्तिको सामीप्यता अथवा मिलन अरू कसैको साथ नभए पनि खुसीसँग जिउन सक्ने हुनु हो । प्रेम केवल प्राप्ति मात्र पनि होइन, प्रेम बिछोडभित्रको निकटता पनि हुन सक्नु पर्दछ । प्रेमले दुईबिचको मिलन मात्र होइन, विछोडभित्रको प्यार बोकेको हुन पनि सक्नु पर्दछ । प्रेमभित्र आत्मदाहको कायरता होइन, बहादुरीको जीवन जिउन सक्नु पर्दछ । अन्तरजातीय प्रेमीहरूले समाजका चुनौतीलाई सामना गर्दै समाज रूपान्तरणको उद्देश्यमा अघि बढ्न सक्नु पर्दछ । आत्महत्या कुनै जित होइन, त्यो त सबैभन्दा ठुलो पराजय हो । समाजमा गलत प्रकारको परम्पराको नाममा रहेको विकृतिलाई उन्मूलन गर्न सक्नु पर्दछ । समाजले मान्दै आएको धर्मगुरुहरूको माध्यमद्वारा जातिय भेदभावविरुद्धको चेतना फैलाउन प्राथमिकता दिनाले छिटोछरितो र प्रभावकारी उपलब्धि हासिल हुनसक्छ । मानिस जतिजति शिक्षित हुन्छ, उतिउति यस्ता कुरीति र अन्धविश्वास हराउँदै जान्छन् । यसर्थ राज्यले सचेतनाका कार्यक्रमहरू ग्रामीण समाजमा पुर्‍याउनु पहिलो प्राथमिकता हो । जसले समाज रूपान्तरणको ढोका खुल्न सक्छ ।   

Author

मुरारी ढुङ्गेल