• ३० माघ २०८१, बुधबार

बिदेसिएका युवा अब स्वदेश फर्किनुपर्छ : अध्यक्ष तिमिल्सिना

blog

बिदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना। तस्बिर : केशब गुरुङ

काठमाडौँ, मङ्सिर १९ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो । 

बाल क्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच्न बनाउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राख्नुभयो । “राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइ दिएनन् भनेर झोला बेरेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ । युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ । त्यसका लागि म सहयोग गर्न तयार छु ।” 


उहाँले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताउनुभयो । अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका राजनीतिक प्रचार प्रसारमा लाग्न पाइँदैन तर राजनीतिक ज्ञान हासिल गर्न अहिलेको आवश्यकता रहेको छ ।”


सिजपका महासचिव तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । रासस