• १९ फागुन २०८०, शनिबार

लैङ्गिक हिंसा सचेतनासँगै कानुनी कारबाहीमा अन्त्य गर्न सुझाव

blog

महिला आयोगको मङ्गलसेनमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुली, प्रतिनिधि सभा सदस्यसहित जनप्रतिनिधिहरू । तस्बिर : शिवराज ढुङ्गाना

शिवराज ढुंगाना 

मंगलसेन, मङ्सिर १९ गते । महिला आयोगद्वारा सदरमुकाम मङ्गलसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा छाउपडी, बहुविवाह, बालविवाह, जातीय विभेद, लैङ्गिक हिंसामा सचेतनासँगै कानुनी कारबाहीबाट नै अन्त्य हुने सुझाव राखिएको छ । 

हानिकारक गलत अभ्यासले व्यक्ति र समाजको विकासको गतिलाई रोकेको कारण यसको अन्त्य गर्न सरोकारवालाहरूले जोड दिएका छन् । तीनै तहको सरकारले समाजका गलत अभ्यासका विरुद्धमा नीति, योजना बनाएर सचेत पार्ने र गलत गर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा लैजानुपर्नेमा महिला अगुवा अनुराधा स्वारको भनाइ छ । 

समाजमा लैङ्गिक हिंसा, छाउडी, बालविवाह, बहुविवाह, जातीय छुवाछुतका घटनामा न्यूनीकरणका लागि सशक्तीकरणका क्षेत्रमा समेत काम गर्नुपर्ने सुझाव स्वारको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक बालविवाह भएको सुनिएको भएपनि उजुरीको अभावमा कारबाहीको दायरामा ल्याउन नसकेको उहाँको भनाइ छ । 

स्थिति सङ्कलन र विश्लेषण, जनचेतना अभिवृद्धि र प्रभावकारी रूपमा कानुन कार्यान्वयनमा भएमा सबै प्रकारका गलत अभ्यासको अन्त्य हुने अछाम–२ का प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाहको भनाइ छ । शाहले भन्नुभयो, “हाम्रा कानुन प्रस्तुत छन्, कानुनको समयमै कार्यान्वयन नहुँदा पीडितले न्याय महसुस गर्न सकिरहेका छैनन् ।” सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले सामाजिक, सांस्कृतिक, धार्मिक कारणले हिंसा र अन्य गलत अभ्यास भइरहेको भन्दै यसको न्यूनीकरणमा व्यक्तिले मानसिकता परिवर्तन गर्नुपर्ने जोड दिनुभयो ।  

महिला आयोगका अध्यक्ष कमला पराजुलीले भौतिक विकासलाई मात्रै विकास समृद्धि नहुने भन्दै मानवीय विकासलाई जोड दिनुभयो । तीनै तहको सरकार स्वायत्त भएकोले प्राथमिकतामा आधारमा योजना बनाएर भौतिकसँगै मानवीय विकासमा जान सुझाव दिनुभयो । गरिबी र दुर्गमा मात्रै हैन सभ्रान्त वर्गमा समेत हिंसा हुने गरेको भन्दै समतनामुलक समाज निर्माणका लागि अधिकार र कर्तव्य सबैलाई बुझाउन पर्ने आवश्यक रहेको भनाइ अध्यक्ष पराजुलीको छ । 

आयोगको अन्तर्क्रियामा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारी, अधिकारकर्मी, सुरक्षाकर्मीको सहभागिता थियो । महिला आयोगले गरिरहेको कामका बारेमा आयोगमा कार्यरत उषा गजमेरले जानकारी जानकारी गराउनुभयो ।