• २० फागुन २०८०, आइतबार

पुरानो ल्यान्डफिलमा बन्यो गौशाला

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर २० गते । ‘पुष्करिणी परोपकार गोकुल धाम’ मा अहिले तीन सयभन्दा बढी गाई छन् । दुई वटा ठुला र दुई साना गोठ छन्, छेउमै गोदाम छ । वरिपरि बिरुवा रोपिएका छन्, चौतारी बनाइँदै छ, साना बाच्छाबाच्छी रमाउँदै दौडिन्छन् । यो रमणीय दृश्य हेर्न टाढा टाढाबाट मान्छे आउँछन् । 

सेती किनारमा पर्ने पोखरा–१४, बाच्छेबुडुवामा सात महिनाअघिसम्म फोहोरका थुप्रा मात्रै थिए । राष्ट्रिय परोपकार महासङ्घले सात महिनामै संरचनासहित आधुनिक गौशाला बनाएको हो । गौशालाका बाँकी पूर्वाधार निर्माण र व्यवस्थापनको काम अबको एक वर्षभित्रै सक्ने योजना छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि छेउमै रहेको ल्यान्डफिल साइटमा फोहोर फाल्न छाडिएको थियो । फोहोर नफाले पनि पुरानो फोहोरमा गिद्ध आइरहने र सो क्षेत्र अव्यवस्थित बसोबासीले कब्जा गर्ने भय थियो । सँगसँगै छाडा चौपायाका कारण दिनदिनै पोखरामा दुर्घटना भइरहन्थे । 

परोपकार महासङ्घका अध्यक्ष कमलनयन गौतमले यी समस्या समाधान र गाईको संरक्षणका लागि गौशाला चलाउने योजना बनाउनुभयो । गौतमको योजनालाई सात महिनाअघि महानगर कार्यपालिका बैठकले अनुमोदन ग¥यो । अहिले गौशालामा रहेका धेरै गाईवस्तु सडकबाट ल्याइएका हुन् । स्थानीयले नै यहाँ ल्याएर छाडेका पशु पनि छन् । 

दिनदिनै गौशालामा खटिनुहुने महासङ्घ अध्यक्ष गौतम भन्नुहुन्छ, “अब पोखरामा गाईगोरु, बाच्छाबाच्छी भोक, रोग र पीडाले मर्नु पर्दैन । हामी बेवारिसे गाईको उद्धार मात्र गर्दैनौँ, यहाँ नमुना काम गरी देखाउँछौँ ।” गौशालामा अहिलेसम्म तीन करोडभन्दा बढी खर्च भइसकेको छ । 

पोखरा महानगरले गत वर्ष गोठ निर्माणका लागि ५० लाख उपलब्ध गराएको थियो । बाँकी रकममध्ये केही परोपकार महासङ्घ आफैँले हालेको छ भने केही दाताले सहयोग गर्ने आश्वासन दिएका छन् । गौशालाबाट हुने आम्दानी र जनस्तरको सहयोगबाटै यसलाई चलाउने योजना छ ।

घरमा पाल्दा फाइदा नहुने ठानी छाडेका गाईबाट दुध उत्पादन गरी आम्दानी हुने सम्भावना निकै कम छ । भलै केही हदमा दुध उत्पादन भएको छ । अहिले गौशालामा दैनिक ५० लिटर हाराहारीमा दुध उत्पादन हुन्छ । गौतम भन्नुहुन्छ, “मुख्य लक्ष्य गोबर र गहुँत व्यवस्थापन नै हो । हाम्रो क्षमता सीमित छ, सबै गाई यही व्यवस्थापन गर्नेभन्दा पनि गाईको महत्व बुझाउने र घर घरमै पाल्ने वातावरण बनाउनु मुख्य कुरा हो ।”

छाडा चौपायाले सडक असुरक्षित बनेको र गाईको बिजोग भएपछि गौशालाको योजनालाई सहयोग गरेको महानगरका प्रमुख धनराज आचार्य बताउनुहुन्छ । महानगरले अहिले सडकबाट घाइते, बिरामी पशुलाई उठाउन विशेष गाडी (एनिमल रेस्क्यु भेइकल) नै बनाएको छ । 

गाईको आहाराका लागि गौशाला परिसरमा डाले घाँस लगाइएका छन् । गाईको मलमूत्र प्रयोग गरी १० रोपनीमा अर्गानिक तरकारी खेतीसमेत थालिएको छ । यो गौशालालाई अध्ययन, अवलोकन स्थल बनाउने लक्ष्य रहेको बताइएको छ ।