• १९ फागुन २०८०, शनिबार

मस्तिष्क नसासम्बन्धी जटिल शल्यक्रिया

blog

नेपालगन्ज मेडिकल कलेजको न्युरो विभागको टोली । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २० गते । मस्तिष्कको नसासम्बन्धी शल्यक्रिया र उपचारका लागि यस क्षेत्रका अधिकांश बिरामी भारतको लखनउस्थित सुविधा सम्पन्न अस्पतालमा जानेगरेको भए पनि यहीँ नै सफल शल्यक्रिया हुन थालेको छ ।  

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्क नसासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएपछि अब सोको उपचारका लागि भारत जानु नपर्ने भएको छ । 

जटिल मानिने ‘ब्रेन एन्यूरिज्म’ को शल्यक्रिया सफलतापूर्वक गरिएपछि यस क्षेत्रका बिरामीलाई सेवा दिन सहज भएको शल्यक्रियामा संलग्न न्यूरोसर्जन डा. निरज घिमिरेले बताउनुभयो । 

उहाँले दिमागको रक्तनली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिने जनाउँदै भजनी नगरपालिका –२ कैलालीका ४३ वर्षीय अट्वारी चौधरी र दाङ दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको सफल शल्यक्रिया भएको बताउनुभयो । आफूसँगै न्यूरोसर्जनहरु डा. मनिष कक्षपति, र डा. सुबोध गौतम सहभागी हुनुभएको बताउनुभयो । 

यस्तो शल्यक्रियाहरु निकै कम सफल हुनेगरेको जनाउँदै डा. घिमिरेले चौधरी र श्रेष्ठको शल्यक्रिया सफल भएपछि आफूहरू उत्साहित भएको बताउनुभयो । कैलालीका चौधरीलाई सुरुमा परिवारले लखनउको अस्पतालमा लगेकोमा चिकित्सकले मेजर शल्यक्रिया गर्नुपर्ने र ४–५ लाख भारतीय रुपियाँ लाग्ने भनेपछि लखनउबाट फर्काएर मङ्सिर ६ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । यहाँ निकै कम खर्चमा शल्यक्रिया भएको चौधरीका आफन्तले जनाएका छन् । 

न्यूरोसर्जन डा. कक्षपति नेतृत्वको टोलिले ५ घण्टा लगाएर चौधरीको सफलतापूर्वक शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको अस्पतालले जनाएको छ ।

ब्रेन एन्यूरिज्मको समस्या निकै जटिल र गम्भीर किसिमको समस्या भएको जनाउँदै न्यूरोसर्जन डा. घिमिरेले करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नआउँदा समस्या हुनेगरेको बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजले काठमाडौँस्थित अन्नपूर्ण अस्पताल (अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस) सँगको सहकार्यमा नेपालगन्ज र कोहलपुरमा न्युरो सेवा दिन थालेपछि जटिल खालका शल्यक्रिया हुन थालेको हो । 

पश्चिम नेपालका बिरामीलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्यअनुसार अन्नपूर्ण अस्पतालसँग सहकार्य गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कुमार अधिकारीले बताउनुभयो ।