• १९ फागुन २०८०, शनिबार

सुदूरपश्चिम महोत्सवको तयारी पूरा

blog

महोत्सव तयारीबारे जानकारी गराउँदै आयोजक । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर २१ गते । भोलिदेखि धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको तयारी पूरा भएको छ । 

आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको सबै तयारी पूरा भएको जनाएको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो । 

सुदूरपश्चिमको उद्योग, पर्यटन तथा व्यापारको प्रवर्द्धन र आर्थिक विकास गर्ने उद्देश्यका साथ आयोजना हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा कृषि, व्यापार, अटोमोबाइल्स, लगायतको गरेर ४०० वटा स्टल रहेको सङ्घका अध्यक्ष कुँवरले जानकारी दिनुभयो । 

महोत्सवमा करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको आयोजकले जानकारी दिएको छ । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने जनाइएको छ । महोत्सव अवधिभरि सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीसहित निजी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । 

यसैगरी, सुरक्षाको लागि सीसी टिभी क्यामेरा पनि जडान गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रत्येक दिन प्रस्तुति रहने जनाइएको छ ।