• १५ जेठ २०८१, मङ्गलबार

प्राथमिकतामा सडक राखेका छौँ

blog

मुगु जिल्लाको विकट मानिने खत्याड गाउँपालिकाको मुख्य आवश्यकता सडकमार्ग हो । जिल्ला सदरमुकाम गमगढी पुग्न जुम्लाको सडक प्रयोग गर्नुपर्ने बाध्यता खत्याडवासीलाई छ । रारा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र सडक निर्माणमा रोक लगाइएपछि खत्याडवासीलाई यो समस्या आइपरेको हो । चार हजार ५३६ जनसङ्ख्या रहेको खत्याड गाउँपालिका केन्द्रसम्म सबै वडाको सडक पहुँच बनाउने योजना पालिकाको छ । सदरमुकाम गमगढी बजारसँग सडक सञ्जाल जोड्ने योजनासमेत पालिकाको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट पालिका  अध्यक्षमा निर्वाचित अजबहादुर शाहीसँग विकास निर्माणमा भइरहेका प्रयास र उपलब्धिका विषयमा यस पटक कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष शाहीसँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी– 

अध्यक्षज्यू, तपाई नेतृत्वमा आएपछिको डेढ वर्षमा पालिकामा के कस्ता काम भए ?

खत्याड गाउँपालिका मुगु जिल्लाको सबभन्दा विकट गाउँपालिका हो । यहाँका जनताको आकाङ्क्षा धेरै छन् । सीमित स्रोत र साधनमा धेरै जनताको आकाङ्क्षा पूरा गर्नेतर्फ आशा र विश्वाससाथ अघि बढेका छौँ । सडक यहाँको मुख्य समस्या हो, त्यसैले सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । रारा राष्ट्रिय निकुञ्जका कारणले गर्दा यहाँका नागरिकले जुम्ला भएर सडक यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला सदरमुकाम गमगढीमा सडक सञ्जाल जोड्ने प्रमुख बाटो नै रारा राष्ट्रिय निकुञ्ज हो । रारा राष्ट्रिय निकुञ्जबाट सडक खुलाउन मन्त्रीपरिषद्को कार्यालयमा पहल भइरहेको छ ।

शिक्षा क्षेत्रमा के के काम भएका छन् ?

शिक्षा सुधार गर्ने उद्देश्यले प्रारम्भिक बालकक्षादेखि कक्षा १० सम्म विभिन्न कार्यक्रम तय गरिएका छन् ।  प्रारम्भिक बालशिक्षा कक्षालाई सुधार गरी बालशिक्षा नभएका विद्यालयमा थप कक्षाकोठा स्थापना गर्दै छौँ । आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्रीदेखि गुणस्तरीय शिक्षामा थप कक्षा सञ्चालन र कक्षा ९–१० का विद्यार्थीलाई बिहान र बेलुकाको समयमा कोचिङ कक्षामा राखेर अध्यापन गराउने सोच राखेका छौँ । यहाँका नौ वटा आधारभूत अस्पताल निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेका छौँ ।

जलविद्युत्को पहुँच पालिकामा नहुँदा वैकल्पिक ऊर्जाको प्रयोग भइरहेको छ, यो बाध्यता कहिले हट्छ ?

हामी प्रयासमा थियौँ । गत वर्ष असोजको वर्षा र बाढीपहिरोले खत्याड गाउँपालिक–११ मा  बिरागाड जलविद्युत्को क्यानलदेखि नहरसम्म क्षति पु¥याएसँगै विद्युत् आपूर्ति ठप्प भएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहजीकरणमा र एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा २७ करोड रुपियाँ र गाउँपालिकाको दुई करोड ८० लाख रुपियाँ गरी कुल योजनाको चार करोड ८० लाख रुपियाँमा बिराबगर जलविद्युत् निर्माण तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको थियो । पाँच सय किलोवाट क्षमताको उक्त जलविद्युत् आयोजनाले खत्याड गाउँपालिका सबै वडामा विद्युत् पु-याउने उद्देश्य राखेको थियो । विद्युत् आयोजनामा क्षति भएकाले केही महिनामा निर्माण कार्य  छिट्टै अघि बढ्छ ।

सामाजिक क्षेत्रका के के काम भएका छन् ?

ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकका लागि न्यानो कार्यक्रम ल्याएका छौँ । उक्त न्यानो कार्यक्रममा कम्बल, जुत्ता र कपडा माघ महिनाको पहिलो हप्ताभित्र वितरण गर्ने कार्यतालिका बनाएका छौँ । यसै आर्थिक वर्षबाट स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकका लागि मासिक घुम्ती स्वास्थ्य परीक्षणको काम अघि बढाएका छौँ । गाउँपालिकाभित्र १४/१५ वर्षको उमेरमा विवाह गर्ने परम्परा थियो । गाउँपालिकामा समस्याका रूपमा रहेको बालविवाह अन्त्यका लागि आमनागरिकमा जनचेतना अभियान चलाएका छौँ ।

कृषि क्षेत्रलाई पालिकाले कति प्राथमिकता दिएको छ ?

कृषि क्षेत्रलाई हामीले प्राथमिकतामै राखेका छौँ । कृषिको क्षेत्रमा सहज र छिटोछरितो काममा सहज हुने उद्देश्यले आधुनिक कृषि प्रविधिका औजारमा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने काम अघि बढाएका छौँ । यो कार्यक्रम मुगु जिल्लाकै नमुना कार्यक्रम हो । यसले किसानलाई व्यावसायिक खेतीप्रति आकर्षित गर्छ ।

नागरिकका अपेक्षा र सहभागिताको अवस्था कस्तो छ ?

नागरिकलाई सेवा प्रवाहमा हामीले चुस्तता दिएका छौँ । जनताका अपेक्षा धेरै हुन्छन्, हामीले हाम्रो नीतिमा बाँधिएर काम गर्नुपर्ने बाध्यता छ । चार हजार घरधुरी रहेको गाउँपालिकामा सबै नागरिकका अनेक अपेक्षा छन् तर हामीले नागरिकले दीर्घकालीन रूपमा फाइदा लिने गरी योजना बनाउने र त्यसै अनुरूप काम गर्दै आएका छौँ । अर्को अभ्यास यसभन्दाअघि योजना सम्झौता भएपछि काम सम्पन्न नभए पनि खातामा रकम राखिदिने अभ्यास थियो । त्यसले काम नहुने, खाता रोक्काले झन्झट हुने गरेको थियो । अहिले जति काम भएको छ, भौतिक अनुगमन तथा गुणस्तरको जाँच गरेर मात्र भुक्तानी दिने कामको अभ्यास गरेका छौँ । हामीसँग अत्यन्त सीमित बजेट हुन्छ, त्यसमा धेरै काम गर्ने दबाब छ ।

स्वतन्त्र ढङ्गले काम गर्न कति सकिएको छ, चुनौती के के महसुस गर्नुभएको छ ?

बाल्यकालदेखि नै सामाजिक काम गर्ने बानी भएकाले ममा केही फरक गर्नु पर्छ भन्ने सोच छ । त्यसलाई व्यवहारमा देखाउने प्रयत्न गरेको र जनताले त्यसमा साथ दिएको अवस्था पनि छ । मेरो कार्यशैलीले पालिकामा गलत फाइदा उठाउन खोज्ने, भ्रष्टाचारको मनसाय भएकाका लागि असुविधा भएको होला तर मेरो कार्यकालमा सही नीति र संस्कारको विकास गर्ने प्रयास गरेको छु । कार्यालयदेखि समुदायसम्ममा मेरो उपलब्धताको सुनिश्चितता गरेको छु ।

तपाईंको पालिकामा गर्नैपर्ने कामहरू के के छन् र कसरी गर्ने लक्ष्य छ ?

पहिलो प्राथमिकतामा सडक त्यसपछि अवरुद्ध विद्युत् आपूर्तिलाई सहज बनाउनुपर्ने छ । यसले यहाँका नागरिकलाई धेरै असुविधा भएको छ । त्यस्तै समयको बचत गर्ने उद्देश्यले र स्वच्छ खानेपानीका लागि एक घर एक धाराको योजनाका लागि गैरसरकारी निकायसँग समन्वय गरी योजना सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ ।

पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

खत्याड गाउँपालिकाको एक्लो प्रयासले पालिकाको विकास गर्न सम्भव छैन । नीतिगत रूपमै अहिले पनि सङ्घ र प्रदेशसँग समन्वय नगरी नहुने अवस्था छ । कतिपय व्यवहारगत कठिनाइले पनि समन्वय गर्नेपर्ने हुन्छ । कतिपय योजनामा हामीले सङ्घीय र प्रदेश सरकारसँगको समन्वयमा मात्र दिगो विकास गर्न सक्दछौँ । खत्याड गाउँपालिकाले रचनात्मक काम गर्ने भएकाले सङ्घीय र प्रदेश सरकारसँग समन्वय राम्रो भएको छ ।