• १५ जेठ २०८१, मङ्गलबार

मानवीय र सामाजिक विकास केन्द्रमा छ

blog

सिराहा जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको छ, धनगढीमाई नगरपालिका । २०७२ साल असोज १ गते साबिक धनगढी, विष्णुपुरकट्टी, हनुमाननगर, भवानीपुर, फुलकाहाकट्टी र अयोध्यानगर गरी छ वटा गाविस समायोजन गरी धनगढीमाई नगरपालिका घोषणा गरिएको थियो । पूर्वपश्चिम राजमार्गमा परेका ससाना बजारलाई प्रवर्धन गरी सहरीकरण गर्नु धनगढीमाई नगरपालिकाको प्रमुख प्राथमिकता रहे पनि यस नगरपालिकाले पर्यटन, स्वास्थ्य र कृषि क्षेत्रमा प्रशस्त सम्भावना बोकेको छ । स्थानीय शिशुज्योति आवासीय माध्यमिक विद्यालयको संस्थापकका रूपमा शिक्षण पेसाबाट राजनीतिमा आएका धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित हुनुभयो । उहाँसँग गोरखापत्रका सिराहा समाचारदाता सन्तोष सुवेदीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप 

– नगरपालिकाको नेतृत्व गर्दै जाँदा कस्तो अनुभव गर्नुभएको छ ?

मैले डेढ वर्षको अवधिमा केही महŒवपूर्ण कार्यमा सफलता प्राप्त गरेको छु । हाम्रो नगरपालिका जिल्लाकै कान्छो नगरपालिका भएकाले अघिल्लो कार्यकालमा सुरु गरिएका केही महŒवपूर्ण काम सम्पन्न गर्ने जिम्मेवारीका साथै नयाँ कार्यलाई अगाडि बढाउने दायित्व हामीमाथि सरेको छ । डेढ वर्षकै अवधिमा शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, पूर्वाधारतर्फ महŒवपूर्ण फड्को मारेका छौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmम अन्तर्गत ११ वटा विद्यालय भवन निर्माण गरिसकेका छौँ । दुई वटा नमुना विद्यालयमा एक÷एक करोड बराबरको छुट्टै भवनको टेन्डर लागिसकेको छ । नेपालमै पहिलो नेचुरल थेरापीको कोर्स यहीँको प्राविधिक धार विद्यालयमा सञ्चालन गरेका छौँ । स्वास्थ्यतर्फ महेन्द्र गेनाई मेमोरियल अस्पताल, प्राकृतिक चिकित्सालय र नगर अस्पताललाई सुविधासम्पन्न बनाएका छौँ । राजमार्गदेखि उत्तरतर्फ चुरेको फेदमा रहेको जननेता मदन भण्डारी महासचिव हुनुभएको विकट अम्बास क्षेत्रसम्म पुग्न २५ करोड रुपियाँको लागतमा कालोपत्रे सडक, दुईवटा झोलुङ्गे पुल र सञ्चार नेटवर्क स्थापना हुँदै छ । धनगढीमाईस्थित पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमा नाकासँग जोड्न यहाँदेखिको दक्षिणका गाउँपालिकासँग समन्वय गरेर विभिन्न सहायक मार्गमा कालोपत्रे गरिँदै छ ।

– नगरपालिकालाई व्यवस्थित सहरी नगर बनाउन कस्तो योजना बनाउँदै हुनुहुन्छ ? 

विभिन्न गाउँ र विभिन्न साना बजार रहेको यस नगरपालिकालाई व्यवस्थित सहरी र बजार क्षेत्रका रूपमा परिचित बनाउन निकै चुनौतीपूर्ण छ । तर पनि यसका लागि केही खास योजना बनाएका छौँ । नगरपालिकाभित्र पूर्वपश्चिम राजमार्गमा पर्ने छपराडी, धनगढी, जिरोमाइल र कसहालाई व्यवस्थित सहरी क्षेत्रमा रूपान्तरण गर्न सुरु गरिसकिएको छ । यी चारै बजारलाई एकआपसमा जोड्न उज्यालो धनगढीमाईको अवधारणा अगाडि बढाएका छौँ । यस अन्तर्गत राजमार्गमा रहेका बिजुलीका खम्बाहरूमा सिसिटिभी र स्मार्ट सडक बत्ती जडान गर्ने लक्ष्य छ । भारतीय नाकासँग जोडिने प्रत्येक सडक धनगढीमाई नगरपालिकाका यी चारै वटा बजारी क्षेत्रसँगको सिधा सम्पर्कमा हुने छन् । यसले गर्दा यस क्षेत्रका व्यवसाय उकालो लाग्ने सम्भावना देखेका छौँ ।

– नगर प्रमुखका नाताले सबैभन्दा प्रमुख चुनौती केलाई ठान्नुहुन्छ ?

पहिलो पटक निर्वाचित जनप्रतिनिधिका लागि पहिलो वर्ष त सिकाइकै वर्ष हुने रहेछ । यसमा पनि स्पष्ट बहुमत नभएको र खिचडी सरकार जस्तो निर्वाचित भइआएका जनप्रतिनिधिका लागि पनि प्रशस्त चुनौती र समस्या आउँदो रहेछ । स्थानीय तहमा पहिलेदेखि कायम रहेका कर्मचारीको मानसिकता परिवर्तन नहुँदा केही जटिलता आउने रहेछ । निर्वाचित भएर काम सुरु गर्न थालेको छैन; ज्ञात अज्ञात उजुरीकर्ताबाट भए नभएका काममा समेत अख्तियारमा सयौँ निवेदन दिइएका छन् । हामीसँग सीमित स्रोतसाधन छ । पूर्वपश्चिम राजमार्गमा भएर पनि हामीसँग पर्याप्त स्थायी बजार छैनन् । नगरवासीको आकाङ्क्षा ठुलो छ । जनप्रतिनिधिप्रति विभिन्न आशा राखिएका छन् । नगरभित्रको कर प्रणाली, आन्तरिक स्रोत, आन्तरिक प्रशासन कमजोर अवस्थामा छन् । यी सबै कमीकमजोरीलाई व्रmमिक रूपले सुधार गर्दै बल्ल व्यवस्थित गर्दै आएका छौँ । शिक्षा, स्वास्थ्य र पूर्वाधारतर्फको विकास हाम्रो अनिवार्यता हो । सबैले यसतर्फ ध्यान दिइरहेका छन् तर मानवीय र सामाजिक पक्ष बलियो नहुने हो भने जतिसुकै बाटोघाटो र विकास गरे पनि त्यो निरर्थक हुन्छ । त्यसैले मैले मानवीय र सामाजिक विकासलाई केन्द्रमा राखी विकासको मोडेल तयार गरेको छु । यही मोडेलका कारण कान्छो नगरपालिका भए पनि कार्यकालको अन्तिम समयसम्म नगरपालिका सुन्दर र समृद्ध नगरपालिकामा रूपान्तरण हुने छ ।

– नगर क्षेत्रभित्र रहेका अन्य राजनीतिक दलसँग कसरी सहकार्य र समन्वय गरिरहनुभएको छ  ?

नेकपा (एमाले) बाट गत स्थानीय निर्वाचनमा निर्वाचित हुनेमा म नगर प्रमुख र अन्य दुई वडाध्यक्ष मात्र छन् । अन्य बाँकी पदमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीबाट जनप्रतिनिधिहरू निर्वाचित भएर आउनुभएको छ तर पनि हामीबिच कहिल्यै विवाद आएको छैन । भएका सानामसिना विवादलाई हामीले तत्कालै आपसमै बसेर टुङ्ग्याउने गरेका छौँ । अहिलेसम्म नियमित रूपले कार्यपालिकाको बैठक बसिरहेकै छ । यसैबाट स्पष्ट हुन्छ, स्थानीय सरकार प्रमुखको हैसियतले मैले अन्य राजनीतिक दलको अस्तित्व स्विकार्दै उनीहरूसँग समन्वय र सहकार्य गर्दै आइरहेको छु ।

– प्रदेश र सङ्घीय सरकारसँग के कस्तो सहयोगको आशा गर्नुभएको छ ?

चाहेर पनि नगरपालिकाको एक्लो बलबुताले भ्याउन नसकिने निकै काम छन् । भारतीय सीमानजिक भएर पनि निर्यातमुखी बन्न सकेका छैनौँ । कृषिको प्रचुर सम्भावना छ तर त्यसलाई विदेशी भूमिमा पठाउन सकेका छैनौँ । ढल निकास र व्यवस्थित बजारीकरणको खाँचो छ । खानेपानी र बजारी सौन्दर्यको खाँचो पूरा गर्न बाँकी छ । यी सबैलाई मैले चुनौती र समस्याका रूपमा लिएको छु । यसलाई सङ्घीय र प्रदेश सरकारको सहयोगमा एकपछि अर्को गर्दै निरुपण गर्नु पर्छ । आर्थिक सङ्कटको बहानामा माग गरिएको जस्तो बजेट प्रदेश र सङ्घबाट आइरहेको छैन । तर पनि कृषि क्षेत्रका लागि पौने तीन करोड रुपियाँ जतिको बजेट आएको छ । 

– काममा नगरवासीबाट कस्तो सहयोग पाउनुभएको छ ?

विकासका प्रत्येक योजनामा स्थानीयस्तरबाटै अनुगमन समिति र निर्माण समिति बनाइएका छन् । त्यस्ता समिति निर्माणमा कुनै पनि किसिमको राजनीतिक दबाब आएको हुँदैन । अनुगमन समिति र निर्माण समितिले कुनै गलत काम गर्ने प्रयास गरेछन् भने त्यसको गुनासो सर्वसाधारणबाट तत्काल हामीकहाँ आइपुग्छ । यो अवस्था हेर्दा मलाई लाग्छ; जुन हिसाबले विकासका योजना कार्यान्वयन गरिँदै छ, ती सबैमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता देखिने गरेको छ ।