• १५ जेठ २०८१, मङ्गलबार

पञ्चवर्षीय रोजगार रणनीति तयार गर्दै छौँ

blog

रतुवामाई नगरपालिका मोरङको दक्षिणपूर्वी ग्रामीण भूगोल समेटेर बनेको नगरपालिका हो । नगरपालिकामा भर्खर विकासको जग बस्दै छ । यस नगरको आर्थिक समृद्धिको आधार पशुपालन र कृषि हो । पूर्वमा झापा र भारत, दक्षिणमा भारत, पश्चिममा सुनवर्षी र उत्तरमा उर्लाबारी नगरपालिकाले घेरिएको यस नगरपालिकाका नगर प्रमुख नागेश्वरप्रसाद सिंह कोशी प्रदेशकै पाको जनप्रतिनिधि हुनुहुन्छ । उमेरले ८० पुग्नै लाग्दा पनि सव्रिmयता साथ काम गरिरहनुभएका नगर प्रमुख सिंहसँग गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानी :

० यहाँ नगर प्रमुखमा निर्वाचित भएर आएपछिको प्रमुख कामहरू के के भए ?  

जनताको म्यान्डेट लिएर आएपछि हामीले जनतासामु गरेका प्रतिबद्धता अनुसार काम गरिरहेका छौँ । पहिलो वर्षमा हामीलाई अघिल्लो कार्यकालका जनप्रतिनिधिबाट करिब २४ करोड रुपियाँ बराबरको दायित्व सिर्जना हुने गरी विभिन्न आयोजना हस्तान्तरण भएका थिए । तिनीहरूलाई निरन्तरता दिई सम्पन्न गर्ने अवस्थामा पुगेका छौँ । यस अन्तर्गत विभिन्न वडाका कालोपत्रे सडकदेखि वडा कार्यालय भवन, पुल, कलभर्ट निर्माणका योजना रहेका छन् । हामीले पहिलो वर्षदेखि नै कृषकको सिँचाइ महसुल मिनाहा गरेका छौँ । त्यस्तै शिक्षा, स्वास्थ्य उद्यमशीलतालगायतको क्षेत्रमा विभिन्न काम गरेका छौँ ।

० रतुवामाई नगरपालिकालाई आर्थिक रूपमा समृद्ध बनाउने आधारहरू के के हुन् ?

यो कृषिप्रधान नगरपालिका हो । यसलाई समृद्ध बनाउने कृषि र पशुपालनबाहेक अन्य विकल्प छैन तर यहाँको कृषि प्रणाली पनि पूर्ण रूपमा व्यावसायिक नभएर निर्वाहमुखी मात्र छ । अब यसलाई व्यावसायिक बनाउनु छ । नगरपालिका र माथिल्लो तहका सरकार र कृषकको संयुक्त प्रयासले यहाँको कृषि उत्पादन प्रणालीलााई थप व्यवस्थित र आधुनिकीकरण गर्दै उत्पादकत्वमा वृद्धि गरी, उत्पादन भएका चिज वस्तुलाई प्रशोधन, प्याकेजिङ र बजारीकरणको व्यवस्था मिलाउन सके नगरवासीको जीवनस्तर उकास्न सकिन्छ, नगरपालिका समृद्ध बन्न सक्छ ।  त्यसैले कृषिलाई आधार बनाएर उद्योग र पर्यटनलाई समेत जोड्ने योजना नगरपालिकाले बनाइरहेको छ । नगरपालिकाको कार्यव्रmम पनि पशुपालन र कृषिमा आधुनिकीकरणमा केन्द्रित छन् ।

० नगरपालिकामा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या अधिक छ । नगरमा मानव संसाधन, स्वास्थ्य र शिक्षाका क्षेत्रमा भएका काम र आगामी योजना के छन् ?

वास्तवमा यहाँको बहुसङ्ख्यक जनसङ्ख्या गरिबीको रेखाबाट माथि उठ्न सकेका छैनन् । त्यसो हुनुमा यहाँको भौगोलिक तथा सामाजिक रहनसहन पनि प्रमुख कारण हुन् । रोजगारीको अभाव, निर्वाहमुखी कृषि प्रणाली अनि वित्तीय साक्षरताको कमी छ । वैदेशिक रोजगारी तथा विभिन्न क्षेत्रबाट आएको आयआर्जन पनि अनुत्पादक क्षेत्रमा लगाउनाले आर्थिक अवस्थामा सुधार हुन सकेको छैन । यद्यपि यो सुधारोन्मुख छ । नगरपालिका मानव संसाधनको क्षेत्रमा सुधार ल्याउन उद्यमशीलता प्रवर्धन गर्ने योजनाका साथ केही मानिस तथा समूहलाई तालिम दिएर उद्यमी बनाएको  छ । यो कार्यव्रmमलाई विस्तार र व्यवस्थित गर्दै जाने योजना छ । यसै वर्ष नगरपालिकाभित्रको रोजगारीको अवस्थालाई सुधार गर्न पञ्चवर्षीय रोजगार रणनीति तयार गर्दै छौँ ।

रतुवामाई नगरपालिकाको शिक्षा ऐनलाई संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ । स्थानीय तहको पाठ्यव्रmम स्वीकृत भइसकेकाले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने छौँ । त्यसै गरी ६ कक्षा सम्मका विद्यार्थीलाई निःशुल्क खाजाको व्यवस्था गरेका छौँ । ६ देखि १२ सम्मका छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउँदै आएका छौँ । विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र साथै विद्यालय भवनको निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ । रतुवामाईमा रहेका ३१ वटा सामुदायिक विद्यालयलाई सुधार गर्दै संस्थागत विद्यालयलाई नियमन गरिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा १० वटै वडाबाट ल्याबसहितको सेवा प्रदान गर्दै आएका छौँ । नगर अस्पताल झुर्कियालाई सुविधासम्पन्न बनाउन अस्पताल भवनको शिलान्यास गरी काम अगाडि बढाइसकेका  छौँ । स्वास्थ्यमा यसै वर्ष नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गर्न सफल भयौँ ।

० नगरको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो छ ?

– हो, यहाँ समस्या छ । भूगोल ठुलो छ, आम्दानी सानो छ । करिब एक करोड ५० लाख रुपियाँभन्दा बढी  आन्तरिक आम्दानी उठ्ने सम्भावना छैन । हामीकहाँ प्राकृतिक स्रोत जस्तै ढुङ्गा, गिट्टी बेच्ने खालका नदी, खोला छैनन् । रतुवा र बक्राहा नदीमा भरौट बालुवा छ । त्यसको पनि बिक्री गर्न पटक पटक ठेक्का आह्वान ग-यौँ तर ठेक्का नलागेर नगर प्रहरी लगाएर दस लाख जति राजस्व सङ्कलन भयो । अरू सामान्य मालपोत व्यवसाय दर्ता र सिफारिस शुल्क उठेको रकम मात्र हो तर यस पटक हामी नगरपालिकाको राजस्व सुधार योजना पनि बनाउँदै छौँ ।

० नगरपालिकाका ठुला आयोजना के के छन् ? ती आयोजनाका लागि आर्थिक स्रोत के हुन् । 

हामीकहाँ धेरै वटा ठुला आयोजना छन् । हाम्रो नगरपालिका दुई वटा खोलाको बिचमा रहेको  छ ।  रतुवा र बक्राहाको स्थायी तटबन्ध बनाउन नसकेर बर्सेनि बाढीले लाखौँ जनधनको क्षति हुन्छ । तटबन्ध बलियो बनाउनका लागि सङ्घ तथा प्रदेश सरकारसमक्ष माग गर्दै आएका छौँ । त्यसै गरी राष्ट्रिय राजमार्ग जोड्ने मदन भण्डारी मार्ग र गिरिजाप्रसाद कोइराला मार्ग जुन सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका योजना हुन् । त्यसको काम पनि अगाडि बढ्न सकेको छैन । हुलाकी राजमार्गको झापा र मोरङलाई जोड्ने रतुवा नदीमा रहेको पुल वर्षौंदेखि अलपत्र थियो । यस क्षेत्रका पूर्वसांसद डा. मीनेन्द्रप्रसाद रिजालको पहलमा बजेट पारेपछि पुनः काम नियमित भएको छ । ठुला आयोजना मुख्यतया यिनै हुन्  तर हाम्रो आन्तरिक आम्दानी उल्लेख्य नभएको हुँदा अन्य सार्वजनिक निर्माणको कामलाई समेत नगरको आफ्नै स्रोतबाट मात्र सम्पन्न गर्न कठिन छ । 

० नगरपालिकाका अन्य चुनौती चाहिँ के के हुन् ?

नगरवासीको चाहना र आवश्यकता असीमित छन् । ती सबै एकै पटक पूरा गर्न ठुलो चुनौती छ । नगरपालिकाको स्थायी आम्दानीको स्रोत अत्यन्तै कम छ । सुरु भएका ठुला योजना सम्पन्न हुन सकेका छैनन् । दुई ठुला नदीमा स्थायी तटबन्ध नहुँदा बर्सेनि लाखौँ रुपियाँको धनजनको क्षति हुने गरेको छ । सबैभन्दा ठुलो चुनौती रतुवा र बक्राहा नदीको नियन्त्रण नै हो ।

० रतुवामाई नगरपालिकाबाट अन्य पालिकाले सिक्नुपर्ने केही काम गर्नुभएको छ ?

– राम्रो कुरा जहाँबाट सिको गर्दा पनि हुन्छ । सामाजिक विकासका क्षेत्रमा हामीले केही काम गरेका छौँ । जस्तो कि किसानका लागि सिँचाइ महसुललाई निःशुल्क बनाइदिएका छौँ, अनुदानमा धान, मकै तथा तरकारी बालीको उन्नत जातको बिउ उपलब्ध गराइरहेका छौँ । २४ घण्टा निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा उपलब्ध गराइरहेका छौँ । ८० वर्षमाथिका नागरिकलाई मासिक एक हजार रुपियाँ पोषण खर्च उपलब्ध गराइरहेका छौँ । विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्न आर्थिक सहायता उपलब्ध गराइरहेका छौँ । विपन्न नागरिकको काजकिरिया खर्चस्वरूप १० हजार रुपियाँ उपलब्ध गराइरहेका छौँ । यस्ता काम अन्य नगरपालिकाले पनि सिक्दा राम्रै हुन सक्छ ।