• १५ जेठ २०८१, मङ्गलबार

‘सुर्नया गाउँपालिका पूर्ण विद्युतीकरण हुन्छ’

blog

बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये सुर्नया गाउँपालिका अन्न भण्डारका रूपमा परिचित छ । जिल्ला सदरमुकाम पाटनबाट ३५ किलोमिटर पूर्वमा रहेको यो गाउँपालिकाको नामकरण सुर्नया नदीका नामले गरिएको छ । सुर्नया नदी किनार धान र गहुँ खेतीका लागि उर्वर रहेको छ । साबिक हटैराज, वासुलिङ, भौनेली, रौलेश्वर, शङ्करपुर र शिखरपुर गाविस समावेश गरी यो गाउँपालिका बनेको हो ।  धार्मिक तथा पर्यटकीय क्षेत्रमध्ये लामो दाबी गरिएको पत्तालभुमेश्वर गुफा यस पालिकामा पर्दछ । समाज शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेर २२ वर्ष शिक्षण पेसा गर्नुभएका अम्मरबहादुर कुँवर पालिका अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ पालिका अध्यक्ष कुँवरसँग गोरखापत्रका बैतडी समाचारदाता गोकर्ण दयालले गरेको कुराकानी :

 

 शिक्षण पेसाबाट स्थानीय सरकार प्रमुख बन्नुभएको छ । पढाउन सजिलो कि सरकार सञ्चालन गर्न ? कस्तो अनुभव हुँदै छ ?  

शिक्षक समाजको बौद्धिक वर्ग हो । यद्यपि शिक्षकले राजनीति गर्न थालेको भन्ने आरोप सर्वत्र छ । म पनि शिक्षण पेसा गर्दागर्दै स्थानीय सरकारको प्रमुखमा नेकपा (एमाले) बाट टिकट पाएपछि शिक्षण पेसा त्यागेर स्थानीय सरकारको नेतृत्वमा पुगेको हुँ । समाज निर्माण गर्ने कुरा, रूपान्तरण गर्ने कुरा निकै चुनौतीपूर्ण काम हो । हिजो एउटा विद्यालयको जिम्मेवारी थियो भने आज समग्र गाउँपालिकाको जिम्मेवारी मेरो काँधमा छ । स्थानीय सरकारको नेतृत्व गर्दा विकास निर्माणका काममा बढी खटिनु परेको छ । शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा पालिकाको लगानी गरेर केही रूपान्तरणकारी काम गर्न खटिएको छु । जिम्मेवारी बढेसँगै आशा, अपेक्षा र गुनासो पनि त्यति नै बढी आएका छन् । 

 शिक्षा क्षेत्रमा के कति लगानी गर्नुभएको छ ? लगानी अनुसारकोे शैक्षिक गुणस्तर दिन नसक्नुका कारण के होला ? 

यस गाउँपालिकामा–१३ वटा माध्यमिक विद्यालय र अन्य आधारभूत गरेर ४० वटा शैक्षिक संस्था छन् । दरबन्दी अनुसार शिक्षक नहुँदा विगतका वर्षदेखि नै पालिकाले स्वयम् शिक्षक नियुक्त, कक्षाकोठा व्यवस्थापन र शिक्षण सिकाइ अनुदान स्वरूप वार्षिक करिब तीन करोड रुपियाँ खर्च गर्दै आएको छ । खर्च अनुसारको शैक्षिक गुणस्तर भने कायम हुन सकेको छैन । शैक्षिक गुणस्तर कायम गर्न पालिकासँगै अभिभावक, विद्यार्थी र शिक्षक सबैको उत्तिकै दायित्व हुने भएकाले लगानी अनुसारको प्रतिफल खोज्न सबैले इमानदारितापूर्वक काम गर्नु पर्छ । 

 आधारभूत स्वास्थ्यको जिम्मेवारी पालिकामै रहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिन के काम गरिरहनुभएको छ ? 

गाउँपालिकाका कुल ८ वडामा १२ वटा स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पाएका छौँ । कार्यालय सहयोगीबाहेकका अन्य पदमा स्वास्थ्यकर्मी भर्ना गर्नु परेको छैन । जनशक्ति व्यवस्थापन भएपछि पालिकाका सबै स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनेको छ । 

 सुर्नया उज्यालो बनाउने तपाईंको घोषणा कहाँ पुग्यो ? पूर्ण विद्युतीकरणका लागि के कति लगानी गरिएको छ ? 

मेरो पहलमा सुर्नया गाउँपालिकाका ७० प्रतिशत घरधुरीमा बिजुली बलेको छ । यही आर्थिक वर्षभित्र पूर्णविद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ । विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा एक करोड रुपियाँ खर्च गरेर उज्यालो सुर्नया बनाउने अभियानमा खटिएको छु । आठ वटामध्ये छ वटा वडामा बिजुली बलिसकेको छ । टोल टोलमा पोल गाडेर तार तान्ने काम चलिरहेको छ । 

 अन्न भण्डारका रूपमा परिचित सुर्नया गाउँपालिकाले कृषि क्षेत्रमा के कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ? 

पालिकाको कृषि उत्पादनलाई तीन भागमा बाँडेका छौँ । नदी किनारको बेँसी क्षेत्रमा अन्न उत्पादन र माछापालन, मध्य भागमा तरकारी, फलफूल खेती र उच्च लेकाली भागमा बाख्रापालन र चरन क्षेत्रका रूपमा वर्गीकरण गरेका छौँ । किसानलाई प्रोत्साहन गर्न सिप सिकाएर अनुदान वितरण गरिरहेका छौँ । गत वर्ष बाख्रा, कुखुरा, माछापालन र तरकारी खेती गर्ने आठ जना अगुवा किसानलाई सात हजारदेखि एक लाख रुपियाँसम्म अनुदान दिएका छौँ । उच्च लेकाली भेगलाई बझाङ जाने जयपृथ्वी लोकमार्गले छोएको छ । मध्य भागको क्षेत्रलाई बैतडी सदरमुकाम जाने दशरथचन्द लोकमार्ग र दार्चुला जाने महाकाली लोकमार्गले छोएका कारण यातायात सेवा र बजारको समस्या छैन । 

 गाउँपालिकाको आन्तरिक आयआर्जनचाहिँ कतिको छ ? 

गत वर्ष २५ लाख रुपियाँ आन्तरिक आय हुने अनुमान गरेकोमा करिब २३ लाख रुपियाँ उठ्यो । यो वर्ष ३३ लाख रुपियाँ आन्तरिक आय हुने लक्ष निर्धारण गरेका छौँ । आन्तरिक आय बढ्नु भनेको राम्रो काम गरिरहेका छौँ भन्ने हो ।  कृषिसँगै धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेका छौँ । पातारभूमेश्वर गुफा र रौलाकेदार धार्मिक स्थलका बारेमा डिपिआर तयार गरेका छौँ । पातारभूमेश्वर गुफा दक्षिण एसियाकै ठुलो र गहिरो गुफा दाबी गरिएको छ । भर्खरै पनि गुफा विशेषज्ञको टिम बोलाएर एक हजार पाँच सय मिटरसम्मको गुफा अध्ययन गरेका छौँ ।

 सामाजिक कुरीति र अन्धविश्वासले हो कि छाउपडी प्रथा हटाउन सक्नुभएन नि, समाजमा जातीय विभेद व्याप्त छ नि ?  

विगतको तुलनामा जातीय विभेद हट्दै गइरहेको छ । गाउँका केही पुरानो पुस्ताका मानिसमा यो समस्या कायमै छ । गाउँपालिकाको पनि छाउपडी र जातीय विभेद हटाउन सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । छाउपडी प्रथा र जातीय विभेद उन्मूलन गर्न महिला समूह र दलित सञ्जाल गठन गरी सरकारले जारी गरेका ऐन, कानुन र संविधानका विषयमा जानकारी गराउँदै आइरहेका छौँ । 

 प्रदेश गौरवको आयोजना सतबाँझदेखि श्रीभावर सडक स्तरोन्नतिको काम के कस्तो भइरहेको छ ? 

सतबाँझ–श्रीभावर सडकखण्ड सुर्नयाको मेरुदण्ड सडक हो । यो सडकले सुर्नया हुँदै पुर्चौडी नगरपालिकाबाट दार्चुलासम्म छुने छ । अहिले सडक चौडा पार्ने कामसँगै कालोपत्रे चलिरहेको छ । सडक चौडा गर्ने बेलामा स्थानीयका घरजग्गा वा बाटो परेर विवाद हुँदा स्थानीय सरकारको अगुवाइमा समन्वय गर्दै निर्विविवाद ढङ्गले सडकको काम अघि बढेको छ । छ किलोमिटर पक्की भइसकेको छ भने थप १४ किलोमिटर सडक कालोपत्रेको ठेक्का भई काम अघि बढेको छ । प्रदेश गौरवको सडक भनिए पनि यो सडकमा सङ्घीय सरकारले पनि बजेट विनियोजित गर्दै आइरहेको छ ।