• १५ जेठ २०८१, मङ्गलबार

आवश्यकताका आधारमा योजना

blog

गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको तेस्रो ठुलो व्यापारिक क्षेत्र हो  । विभिन्न आठ गाविस गाभिएर गल्याङ नगरपालिका बनेको हो । पालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पोखरा र लुम्बिनीलाई जोड्ने सिद्धार्थ राजमार्ग मध्यभागबाट गएको छ । नगरपालिकाको पूर्वमा चापाकोट र वालिङ नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा जिल्ला पर्दछन्  । कुल ११ वटा वडा रहेको यस पालिकाको क्षेत्रफल १२२.७१ वर्ग किमी छ । २०७८ सालको जनगणना अनुसार पालिकाको जनसङ्ख्या ३६ हजार ९६७ रहेको छ । लामो समय विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरुप्रसाद भट्टराई २०७९ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख भट्टराईसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी  : 


पालिकाको विकास र समृद्धिका आधार तय गर्नुभएको छ ? 

पक्कै पनि नगरवासीको अपेक्षा र आवश्यकता पूरा गर्नु मेरो एक मात्र ध्येय हो । त्यसका लागि म प्रयासरत छु । निर्वाचित भएपछि म नगरभित्रै सम्भावनाको खोजीमा छु । स्थानीयलाई रोजगारी दिई यहीँ बस्न मन लाग्ने बनाउनु मेरो दायित्व हो । विकास र समृद्धिको नारा मात्र लगाएर प्राप्त हुँदैन त्यसैले दीर्घकालीन रणनीति र योजना तयार गरेर हामी अगाडि बढिरहेका छौँ । यो पाँचवर्षे कार्यकालमै हामी विकासको आधार तयार गर्दैै छाँै ।  

निर्वाचित भएर आएपछि हामीले पालिकाको समग्र वस्तुस्थितिको अध्ययन, मूल्याङ्कन र आगामी दिनमा कस्तो सुधार गर्न सकिन्छ भन्ने चिन्तन, मनन र छलफल ग¥यौँ ।  पालिकाका लागि आवश्यक ऐन कानुन र कार्यविधि तयार ग¥यौँ भने कतिपय समयानुकुल परिवर्तन पनि ग¥यौँ । अब हाम्रो ध्यान जनताका आवश्यकता पूरा गर्न कृषि उत्पादनमा जोड दिई दीर्घकालीन र तत्कालीन योजना निर्माण र यसको कार्यान्वयनमा छ ।


पूर्वाधार निर्माण र पर्यटन प्रवर्धनका लागि काम भइरहेको छ ? 

ग्रामीण भेगमा रहेको गल्याङ पर्यटकीय सम्पदायुक्त छ । यसको संरक्षण र प्रवर्धनका लागि पूर्वाधार तयार गर्ने क्रममा छौँ । पर्यटकीय सम्भावना भएका आलमदेवी, रामनदीधाम, ताम्केकोट, केदारनाथ, उत्तरबाहिनी, गेझाकोट कालिका, जगत्रदेवी, हुँगीघाट, चिउरी, गह्रौसुर जस्ता रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढिरहेका छौँ । उक्त स्थानसम्म सहज रूपमा पुग्नका लागि ग्रामीण सडक कालोपत्रे गरिरहेका छौँ । नागरिकलाई पर्यटन क्षेत्रबाट स्वरोजगार बनाउन पालिकाले नीतिगत र व्यावहारिक कार्यको सुरुवात गरेको छ । 

नगरको थप पूर्वाधार विकासका लागि प्रदेश र सङ्घीय सरकारसँग योजना माग र समन्वयका लागि काम गरिरहेका छौँ । हाम्रो पालिकालाई सदरमुकाम र गाउँसम्म सहजै जोड्नकै लागि सडक व्यवस्थित गर्नु पर्छ भन्ने हाम्रो ध्यान छ । करादी–तीनदोबाटे–खस्कुना–पकवादी सडक, गल्याङ–पेलाकोट–पिडिखोला, सडक, गल्याङ–कुरुङ्चे–मोहनडाँडा सडक जस्ता लामो दुरीका सडक पनि कालोपत्रे गर्ने कार्यमा अगाडि बढेका छौँ । 

सबै वडाका लागि कार्यालय निर्माण गरी त्यहाँसम्म कालोपत्रे सडक पु¥याउन लागिपरेका छौँ । नागरिकका आवश्यकता पूरा गर्दै नगरलाई समुन्नत बनाउन हामी लागिपरेका छौँ ।  त्यस्तै स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा प्रभावकारी सेवा प्रवाहका लागि पालिकाले काम गर्दै आएको छ । फोहोरलाई मोहरमा परिणत गर्न पालिकाले विशेष योजना बनाएर अगाडि बढेको छ । 

पालिकाको आन्तरिक आम्दानीमा सुधार गर्नुभयो ? 

कालीगण्डकीको ढुङ्गा, गिट्टी र बालुवा निकासी हाम्रो राजस्वको महत्वपूर्ण स्रोत हो, जुन बिक्री गर्न नपाउँदा हाम्रो राजस्वमा अपेक्षाकृत रूपमा बढोत्तरी हुन सकेको छैन । कृषि उत्पादन आम्दानीको पहिलो स्रोत हो । यसमा जोड दिएका छौँ । अहिले पालिकाको राजस्वमा तुलनात्मक रूपमा वृद्धि भएको छ । जस्तै गल्याङ नगर अस्पतालमा हामी निर्वाचित हुनुपूर्व ७२ लाख रुपियाँ खर्चिनु पथ्र्याे तर अहिले आम्दानीसमेत गर्न सफल भएका छौँ । 

कृषि क्षेत्र विकासका लागि कार्यक्रम बनाउनुभएको छ ? 

गल्याङमा हामी खेतबारीमै प्राविधिक सहयोग पु-याउने उद्देश्यले ‘कृषकसँग कृषि प्राविधिक’ कार्यक्रम सञ्चालन गर्दे बिउबिजन वितरण गरेका छौँ । कृषकका समस्या समाधानका लागि कृषक हातेपुस्तिका तयार गरी कृषकलाई उपलब्ध गराएका छौँ । कृषि तथा पशुसम्बन्धी विभिन्न शिविर, कृषि सामग्री तथा उपकरण वितरण, उत्पादनको आधारमा अनुदान, रैथाने बाली संरक्षण गरिरहेका छौँ ।  गाउँमा पुगेका प्राविधिकले यही वर्ष मात्रै चार हजार दुई सय कृषकलाई उत्पादन बढाउन सहयोग गर्दै आएका छन् । 

प्रदेश र सङ्घ सरकारसँग समन्वय भएको छ ? 

प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरिरहेका छौँ । पूर्वाधार निर्माण भवन, सडक र विषेश गरी खानेपानीका योजनामा सहलगानीमा काम भइरहेको छ । पालिकाले पाउने ससर्त अनुदान र अन्य बजेट वडाबाटै सिफारिस भई नगरपालिकाले पनि अगाडि बढाएको योजनामा बजेट छुट्याइनु पर्दछ । बजेट जनताका समस्या समाधानका लागि हुनु पर्छ । कुनै नेता र व्यक्तिविशेषले टिपाएको र सिफारिस गरेको आधारमा अनुदान र बजेट दिने तर पालिकाको आवश्यकता महसुस नगरिदिने कुराको अन्त्य गरिनु पर्दछ । 

स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा कसरी काम गर्नुभएको छ ? 

स्वास्थ्य जाँच सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न नगर अस्पताल र मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै प्रत्येक टोल र वडामा सुलभ स्वास्थ्य सेवा तथा गाउँघर क्लिनिक, घुम्ती शिविर सञ्चालन गरिरहेका छौँ । सबै वडामा स्वास्थ्य चौकी र असहज ठाउँमा आधारभूत स्वास्थ्य शिविर गर्दै आएका छौँ । एक घर एक धारा खानेपानी कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गराउन बजेट व्यवस्था गरेका छौं । शिक्षामा गरिब विद्यार्थी छात्रवृत्ति, तालिमलगायतका कार्यक्रम ग्रिरहेका छौँ । आमशैक्षिक बेरोजगारी अन्त्यका लागि हामीले लोक सेवा कक्षा सञ्चालन, प्राविधिक क्षेत्रका विभिन्न तालिम दिएका छौँ ।  पलिकाको टोली गाउँमै पुगेर योजना सम्झौतासहित एकीकृत घुम्ती शिविर सञ्चालन गरेका छौँ । नागरिकले गाउँमा नै स्वास्थ्य सेवा लिएका छन् । तीन हजार एक सय कृषकले शिविरबाट सेवा लिएका छन् । 

स्थानीयस्तरमै रोजगारी सिर्जनाको काम पनि भएको छ ? 

मौसमी तथा बेमौसमी तरकारी खेतीलाई प्राथमिकता दिएका छौँ । साना किसानलाई उत्पादनमा जोड्ने काम गरिरहेका छौँ । पशुपालनलाई आम्दानीको गतिलो स्रोत बनाउन दुधमा प्रतिलिटर १५ रुपियाँ उत्पादनमा आधारित अनुदान दिएका छौँ । यसबाट वार्षिक पाँच लाख लिटर दुध बिक्री तथा निर्यात भएको छ । मासुजन्य उत्पादन वृद्धि गर्दै निर्याततर्फ जोड दिएका छौँ । गल्याङमा खपत गरेर पनि वार्षिक रूपमा सुन्तला साढे सात करोड, दुध छ करोड, आलु पाँच करोड र मासुमा साढे तीन करोड रुपियाँ बराबरको निर्यात गरिएको छ । सुन्तला  र आलु उत्पादन वृद्धि गर्ने गरी जोन तथा पकेट क्षेत्र सञ्चालन गरेका छौँ । ‘कृषि तथा पशु उद्यमशीलता परियोजना’ सञ्चालन गरी कृषि तथा पशुपालन क्षेत्रमा रोजगारी सिर्जनाको काम गरिरहेका छौँ । 

भावी योजना के के छन् ? 

नगरको समृद्धि एक घर एक धारा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारीका अवसरका सिर्जना गर्ने दीर्घकालीन योजनासमेत तयार गरेर त्यसमै काम गरिरहेका छौँ । कृषि, पर्यटन र पूर्वाधारमा ध्यान दिएको छु । पालिकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, कृषि, स्वास्थ्य, सरसफाइ, भौतिक विकासलगायतका विषयमै काम गर्नुपर्ने हुन्छ । नागरिकको माग र आवश्यकताका आधारमा योजना बनाई कार्यान्वयन गर्ने छौँ ।