• १५ जेठ २०८१, मङ्गलबार

कृषि, शिक्षा र पर्यटन विशेष प्राथमिकतामा

blog

चौबिसे गाउँपालिका धनकुटाका सात स्थानीय तहमध्ये एक हो । करिब १९ हजार जनसङ्ख्या रहेको यो पालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ निर्वाचित हुनुभएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र खानेपानीको व्यवस्थासहित बसाइँसराइ रोकी पूर्वाधार निर्माण गर्नु यस गाउँपालिकाको मुख्य चुनौती हो । कृषि पर्यटन यो पालिकाको मुख्य आधार हो । सीमित स्रोतसाधनका बिच जनताका असीमित चाहना पूरा गर्नु मुख्य चुनौती छ । यो वर्ष कृषि र शिक्षामा बढी बजेट केन्द्रित गरेर कृषि र शिक्षा वर्षका रूपमा मनाएको पालिकाले आगामी वर्ष पर्यटन वर्ष मनाई पर्यटकीय केन्द्र बनाउने उहाँको योजना छ । यसै सन्दर्भमा गाउँपालिकाका प्रमुख राजकुमार चेम्जोङका अनुभव भावी रणनीति, चुनौतीलगायतका विषयमा गोरखापत्रका समाचारदाता कविराज घिमिरेले उहाँसँग गर्नुभएको कुराकानी:

गाउँपालिका अध्यक्षका रूपमा पहिलो वर्षको अनुभव कस्तो रह्यो ?

पहिलो वर्ष अनुभव सङ्कलन गर्दैमा बित्यो । त्यसमा पनि सबै जनतासँग घुलमिल हुन पाइयो । उहाँहरूको समस्या र चाहना बुझ्न पाइयो । केही जनतालाई राहत पुग्ने गरी सुशासनको काम भने सुरु गरेका छौँ । 

तपाईं अध्यक्ष भएर आएपछिका मुख्य उपलब्धि के के हुन् ?

विकास निर्माणका नाममा ठुला ठुला भवन र बाटा मात्र निर्माण गरेर जनता खुसी नहुने रहेछन् । जनतामा खुसी ल्याउन उनीहरूसँग निकट रहेर काम गर्नुपर्ने रहेछ । तिनका सानातिना समस्या मात्रै हल गरिदिँदा पनि ठुलै राहत मिल्ने रहेछ । हामीले यस्तो महसुस गरेपछि सुशासन कायम गर्दै जनताका घर घरमै सेवा दिन सुरु गरेका छौंँ । त्यस्तै जनताको चाहना कृषि र शिक्षा भएकाले यस वर्ष त्यसैलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।  

तपाईंले यस पालिकामा कस्ता कस्ता चुनौती सामना गर्नु परिरहेको छ ?

चुनौती धेरै छन् । गाउँपालिकासँगको स्रोतसाधन सीमित छ । यसैबाट जनाताका असीमित चाहना पूरा गर्नुपर्ने छ । यस पालिको आन्तरिक आय खासै राम्रो छैन । एकै पटक जनताका सबै आकाङ्क्षा पूरा गर्न सकिँदैन । त्यही नै हाम्रा लागि चुनौती हो तर मेरो यही कार्यकालमा जनताका अधिकांश चाहना पूरा हुने गरी काम गर्छौं । 

यो पालिकाको आवश्यकतालाई कसरी प्राथमिकीकरण गर्नुभएको छ ?

पालिकाका आवश्यकता धेरै छन् । पर्यटन प्रवर्धन गर्न सके पालिकाको आन्तरिक स्रोत बढाउन सकिन्छ । यसबाट यहाँको आर्थिक उन्नतिमा पनि सहयोग पुग्छ । कृषिमा आधुनिकीकरण गर्न अति आवश्यक छ । तमोर नदीको पानी माथि ल्याएर सुक्खा क्षेत्रमा सिँचाइ गर्ने योजना छ । ग्रामीण सडक दिगो हुने गरी बनाउनुपर्ने छ । शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री र व्यावसायिक बनाउनु परेको छ । स्वास्थ्यमा सबैको पहुँच बढाउनुपर्ने छ । सामान्य उपचारका लागि पनि धरानसम्म धाउन नपर्ने गरी स्वास्थ्य केन्द्र राख्नुपर्ने छ । 

आन्तरिक स्रोत कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?

आन्तरिक स्रोत भनेका खोला मात्र हुन् । त्यो पनि दुई वटा सिमानामा छन् । एउटा हाम्रो एकल स्वामित्वमा छ । योभन्दा अघि यसको जोहो हुन सकेको थिएन । हामी आएपछि व्यवस्थित गरेर आन्तरिक आय सङ्कलन गर्न सुरु गरेका छौँ । केही रकम जम्मा पनि भएको छ । त्यसबाहेक विभिन्न सिफारिसप्रधान कामका शुल्क मात्र हुन्; जुन ज्यादै न्यून छ । राजस्वको दायरा बढाउनु पर्छ भनेर हामी लागेका छौँ । 

सङ्घ र प्रदेश सरकारसँग कत्तिको सहकार्य र समन्वय हुँदै छ ?

स्थानीय तहको सरकार भएकाले अधिकांश विषयमा सङ्घ र प्रदेश सरकारबिच सहकार्य र समन्वय भइरहेकै छ । हामीले माग्ने सङ्घ र प्रदेशसँगै हो तर मागे अनुसार पाएका छैनाँै । राजनीतिक पूर्वाग्रहले पनि हुन सक्छ वा प्रदेश सरकार अस्थिर भएका कारणले पनि हुन सक्छ । सङ्घ र प्रदेशबाट आउने ठुला योजनाका बजेट पनि कटौती भएका छन् । त्यही पनि हामी माग गरिरहेका छौँ । प्रदेश सरकार अस्थीर भएकाले त्यति आसलाग्दो अवस्थाचाहिँ छैन । 

अन्य पालिकाभन्दा यस पालिकाले फरक कार्य के गरेको छ । 

नयाँ केही गरौँ, जो अन्यभन्दा फरक होस् भनेर हामीले बगरमा खेती सुरु गरेका छौँ । यहाँ तमोर नदीलगायत अन्य धेरै खोलाका बगर खेर गइरहेका छन् । ती बगरको पनि सदुपयोग गर्न बगरमा खेती सुरु गरेका छौँ । सुक्खा क्षेत्रमा भुइँकटहर खेती प्रवर्धन गर्ने कार्यक्रम छ । वन्यजन्तुको प्रकोप नियन्त्रण गर्न त सकिन्न तर त्यस्ता ठाउँमा अदुवा र बेसार खेती गर्दा असर कम गर्ने रैछ । त्यो प्रयासमा छौँ ।