• ६ साउन २०८१, आइतबार

महलका मालिक पनि सडकमा

blog

काठमाडौं, पुस २६ गते । हिउँदको कठ्याङ्ग्रिदो जाडोयाममा खुला आकाशमुनि रात बिताउने यी मानवका दृश्य हेर्दै दुःखदायी छन् । दिनमा तातो खाना छैन न त, रातमा छाना नै छ । मन्दिरका पाटीपौवा, सडकका गल्ली, नदी–किनारमा बेवारिसे बनेको छ एउटा शरीर । कोही आफन्त गुमाएर बैराग छन् त कोही फेरि नजिकमा नातेदार, साथीभाइ भएका र अग्ला भवनका मालिक पनि सडकमा पुगेका यी मानवका आ–आफ्नै कथा छन् । 

यी मान्छे अर्थात् जसको कोही छैन, जससँग केही छैन उसको सेवामा ‘सबैका लागि खाना, सबैका लागि नाना, सबैका लागि छानाः हाम्रो चाहना’ भन्ने नारासहित अघि बढिरहेको छ मानव सेवा आश्रम । मानव सेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष ररामजी अधिकारीका अनुसार सातै प्रदेशका १९ जिल्लामा आश्रम क्रियाशील छ । 

आश्रममा १९ जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत एक हजार सात सय जना आश्रित छन् । तीमध्ये करिब एक हजार जनामा मानसिक समस्या छ । आश्रमले आगामी २०८२ सालसम्म ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल’ निर्माणको सङ्कल्प लिएको छ । तर यो त्यति सहज कार्य भने पक्कै होइन ।

उहाँले भन्नुभयो, “बेसहारा भएर रहेका व्यक्तिलाई आश्रममा लिएर आइसकेपछि गर्ने भनेको ‘प्रेम उपचार’ हो । हामी प्रेम दिन्छौं, आफ्नोपनको अनुभूति दिलाउने प्रयास गर्छौं । आमाबुवा उमेर समूहलाई हामी आमाबुवा नै भनेर सम्बोधन गर्छौं । छोराछोरी उमेर समूहका लागि छोराछोरी, भाइबहिनी भन्छौं । आफन्तपनको अनुभूति पाइसकेपछि उहाँहरुको विक्षिप्त भएको मनले सहारा भेट्छ । मनले आफन्त भेट्छ ।”

गोरखापत्र अनलाइनकर्मी आश्रमको उद्धार टोलीसहित स्थलगत रिपोर्टिङमा पुग्दा नातिनातिना खेलाउने उमेर समूहका ज्येष्ठ नागरिकदेखि विभिन्न उमेरका बेसहारा महिला तथा पुरुष सडकमा भेटिए ।

कोही एकसरो पोका पन्तुरामा ढलेका त कोही चिसो सडकमै लडेका थिए । काठमाडौं उपत्यकाको कालीमाटी तरकारी बजार जस्ता व्यावसायिक क्षेत्रमा काम पाउने आशामा पनि बस्ने गरेको पाइयो । 

त्यहाँ बिहान सबेरै भारी बोक्न पाउने र कमाउने आशमा सडकपेटीमा सुत्नेको लर्को नै थियो । कारण जे सुकै होस् चिसोयाममा सडकमा रात बिताउने मानवको फिक्री थोरैलाई मात्र छ । 

आश्रमका अध्यक्ष अधिकारीले आमाबुवाबाट माया नपाएका, शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ भएका बच्चाहरु पनि सडकमा पुग्ने गरेकोे बताउनुभयो । आश्रमले हालसम्म तीन हजारभन्दा बढीको सुखद पारिवारिक मिलन गराइसकेको छ ।  

उहाँले आश्रम स्थापना भएको ११ वर्षको अवधिमा हालसम्म नौ हजारभन्दा बढीको उद्धार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई लाग्छ, ती नौ हजारकै आफ्ना कथाव्यथा छन् । ७५ वर्षका आमा दिदीबहिनी पनि सामूहिक बलात्कार भएर सडकपेटीमा छटपटाइरहेका छन् । छोराबुहारी आफन्त र आर्थिक रुपले सम्पन्न छन् तर, ९२ वर्षका आमाहरु सडकपेटीमा अर्काले फालेका खानेकुरा टिपेर खाँदै गरेको अवस्थामा हामीले उद्धार गरेका छौं ।” 

आमाबुवाबाट माया नपाएका, शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ बच्चाहरु सडकमा पुग्ने गरेको उहाँको भनाइ छ । उहाँले हालसम्म तीन हजारभन्दा बढीको सुखद पारिवारिक मिलन गराइसकेको बताउनुभयो ।  

बेवारिसे सडक मानवको व्यवस्थापनमा राज्य वा सम्बन्धित निकाय कतिको जिम्मेवार छ भन्ने जिज्ञासामा उहाँले तीनै तहको सरकारको नीति तथा कार्यक्रम मानवतालाई केन्द्रबिन्दुमा राखेर बन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीनै तहको नीति तथा कार्यक्रम र बजेट बन्दा आफूभन्दा कम अवसर पाएका व्यक्तिलाई थोरै भएपनि योगदान गरिदिनुपर्‍यो । यसको पूरै जिम्मेवारी राज्यबाट लिइदियो भने सेवाको गुणस्तर बढाउन सहयोग पुग्थ्यो । यो भयो, त्यो भएन भन्दा हामी नागरिकको पनि कर्तव्य हो तिमीले यो गरेनौ भन्दा मैले के गर्न सकें त भन्ने सकारात्मक भावले सोच्नुपर्छ ।” यहाँमा आश्रम स्थापना नै गर्ने सोच र प्रेरणा चाहिँ कसरी आयो भन्ने जिज्ञासामा योजनाभन्दा भावनाका कारण आश्रम सुरु भएको बताउनुभयो ।

२०६९ साल जेठ २३ गते स्मरण गर्दै उहाँले भन्नुभयो, “साथी–साथी गेट टुगेदर त जति पनि हुन्छ । आफूभन्दा कम अवसर पाएका सहयोगापेक्षीसँग त्यस दिन सहभोजको आयोजना गरेका थियौं । ती आमाबुवासँग रमायौं, नाच्यौं, नुहाइदियौं, कपाल काट्यौं । तातो खाना दिएपछि उहाँहरुले पनि हामीलाई आफन्तको अनुभूति गर्नुभयो । तर, हामीसँग केही विकल्प थिएन उहाँहरुलाई संरक्षणमा राख्ने । त्यो बेला सहभोजमा ल्याएकालाई बेलुका सडकमै लगेर छोड्यौं ।” परिचयपत्र, नागरिकता वा कुनै कागजात नभएकालाई कुनै अनाथ आश्रमले पनि नराख्ने भएपछि साथीहरुसँग मिलेर मानव सेवा आश्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो । 

उहाँको नेतृत्वमा मानवता प्रवर्धन महाअभियान अन्तर्गत विभिन्न प्रशिक्षण तथा प्रेरणामूलक सभा, गोष्ठी सञ्चालन हुँदै आएको छ ।


भिडियो: मनोजरत्न शाही र केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।