• १५ जेठ २०८१, मङ्गलबार

“डिप फेक” को भुमरी

blog

के तपाईंले कुनै नेताले अन्य दलको नेतालाई खुलमखुला गाली गरेको भिडियो देख्नु भएको छ ?, कुनै नायिकाको अश्लील भिडियो (पोर्न) हेर्नु भएको छ ?, इन्टरनेटमा कुनै उच्च अधिकारीको पत्याउनै नसक्ने खालको भाषा, हाउभाउ र शैलीको भिडियो भेट्टाउनु भएको छ ? 

यदि यस्ता कुरासँग तपाईंको साक्षात्कार भएको छ भने बेलैमा सचेत बन्नुहोस् । यस्ता भिडियो वास्तविक नभएर प्रविधिको प्रयोगबाट पनि निर्माण भएका हुन सक्छन् । त्यसैले यस्ता सामग्री तत्काल सेयर गरेर सनसनी फैलाउनेतर्फ नलागेर यस्ता भिडियोको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहोस् ।

विश्वमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको विकाससँगै यसका नकारात्मक पक्ष विस्तारै समाजमा देखिन थालेको छ । अहिले प्रविधिको क्षेत्रमा विकास भएका डिप लर्निङ अल्गोरिदम यति धेरै आधुनिक बनिसकेको छ कि तपाईंले डिजिटल दुनियाँमा देख्ने र सुन्ने सामग्री वास्तविकताभन्दा धेरै परका हुन सक्छन् । 

डिप लर्निङ तथा एआईको संयोजनले विकास भएको ‘डिप फेक’ प्रविधिबाट निर्माण भएका भिडियो र तस्बिरलाई हेर्दा कुन वास्तविक हो,  कुन नक्कली (फेक) हो भनेर छुट्याउन समस्या पर्न सक्छ । यो प्रविधिले तपाईंको अनुहार अन्य कुनै व्यक्तिको अनुहारसँग साटफेर गरेर मिलाइदिन्छ । 

यस्तो प्रविधिको प्रयोग गरेर बनाइएको भिडियो वा अडियो हेर्ने/सुन्नेले कुन सही र कुन गलत हुन् भनेर सजिलै छुट्याउन सक्दैनन् । यस्तो प्रविधिको प्रयोग गरेर जोसुकैले आफूले चाहेको कुरा अन्य कुनै पनि व्यक्तिको मुखबाट भन्न लगााउने, गीत गाउने, नाच्ने, कराउने, रुने, चिच्चाउने, विभिन्न हाउभाउ गर्नेलगायतका कुरा गराउन सक्छन् । 


‘डिप फेक’ भिडियो

‘डिप फेक’ भिडियो प्रविधि ‘डिप लर्निङ’ र ‘फेस स्वापिङ’ सफ्टवेयरको प्रयोग गरेर बनाइने पूर्ण रूपमा नक्कली अडियो/भिडियो हो । यस्तो प्रविधिको प्रयोग गरेर कुनै एक व्यक्तिको अनुहार अर्को भिडियोमा सजिलै साटफेर गर्न सकिन्छ । यस्तो भिडियो हेर्ने जोसुकैलाई साँच्चिकै जस्तो लाग्छ । साइबरविद्का अनुसार यस्तो प्रविधि प्रयोग गरेर बनाइने भिडियो छुट्याउनै नसकिने खालको हुन्छ । 

केही समययता यस प्रविधिको दुरुपयोग गर्ने क्रम बढेको छ । कुनै व्यक्तिको चरित्र हत्या गर्न कुत्सित मानसिकता भएका मानिसले यस्तो प्रविधिको सहारा लिने गरेका छन् । मनोरञ्जन तथा अन्य सकारात्मक प्रयोजनका लागि निर्माण गरिएका यस्ता एआई टुलले मानिसलाई चुनौती दिन थालेको स्पष्ट भएको छ । 

‘डिप फेक’ भिडियो प्रविधिको प्रयोगबाट तपार्ईं आफूलाई मन परेको जुनसुकै चलचित्रको दृश्यमा आफूलाई उतार्न सक्नुहुन्छ । यस प्रविधिबाट निर्माण भएका सामग्रीमा कसैले पनि नक्कली हो भनेर छुट्टाउन सक्दैन । 

यस्तै ‘डिप फेक’ प्रविधिको सहायताले कुनै सार्वजनिक व्यक्तिको आवाजको ‘क्लोनिङ’ वा कपी गरेर साइबर अपराध गर्ने प्रवृत्तिसमेत बढेर गएको छ । विश्वमा अहिले प्रसिद्ध व्यक्तिहरूको आवाज प्रयोग गरेर फेक समाचार बनाउने र डिप लर्निङको प्रयोग गरेर व्यक्तिको आवाज कपी गरेर बैङ्किङ ठगी गर्ने घटना बढ्दो छ । 

यस्तो प्रविधि प्रयोग गरेर नेपालमा समेत बैङ्किङ ठगीका साथै आगामी चुनावी अभियानलाई यस्तो प्रविधिले प्रभावित गर्न सक्ने नेपालका साइबरविद्ले बताएका छन् । 

‘डिप फेक’ भिडियोको पछिल्लो सिकार नायिकहरू बनेका छन् । यस प्रविधिको दुरुपयोग गरेर नायिकाको अश्लील भिडियो सार्वजनिक भइरहेको छ । यस्ता भिडियो प्रायः सबै भाइरल हुने गरेका छन् । जसका कारण नायिकाको चरित्रमै प्रश्न उठ्ने गरेको छ । यस्ता भिडियोबाट बलिउडका नायिका काजोल अग्रवाल, कट्रिना कैफ र रश्मिका मन्दनालगायत सिकार भएका छन् ।


‘डिप फेक’ को इतिहास

वास्तवमा ‘डिप फेक’ को सुरुवात तस्बिरबाट सुरु भएको मानिन्छ । सन् १८६० को अमेरिकी गृहयुद्धको समयमा राजनीतिक स्वार्थका लागि राजनीतिज्ञ जोन कलहवनको शरीरमा अब्राहम लिङ्कनको टाउको जोडेर तस्बिर बनाइएको थियो । यही फोटोलाई पहिलो ‘फोटो म्यानुपुलेसन’ अर्थात् फोटोमा अदलाबदली/छेडछाड भएको मानिन्छ । 

यस्तै २० औँ शताब्दीमा सोभियत युनियनका नेता जोसेफ स्टालिनले राजनीतिक हल्ला (प्रोपोगान्डा) फैलाउन ‘फोटो म्यानुपुलेसन’ को सहयोग लिएको बताइन्छ । सन् १९४२ मा इटालीका बेनिटो मुसोलिनी घोडा पनि सम्हाल्न नसक्ने रहेछन् भन्ने सर्वसाधारणलाई भान नपरोस् भनेर मुसोलिनी रहेको एक तस्बिरबाट घोडा स्याहार्ने व्यक्तिको तस्बिर मेटाइएको थियो । यसरी विश्वमा तस्बिर छेडछाड गर्ने क्रम बढ्दै गयो । त्यतिबेला तस्बिरलाई तोडमोड गर्ने तथा एक जनाको टाउको, अनुहार अर्कोमा जोड्न, हटाउन वा कुनै कुरा थप्न विज्ञ व्यक्ति चाहिन्थ्यो । यस्तो गर्न निकै खर्चिलो हुन्थ्यो तर त्यति बेलाका ठूला राजनीतिज्ञहरूले राजनीतिक स्वार्थका लागि यस्तो काम विज्ञ व्यक्तिबाट गराउँथे । 

यसक्रममा सन् २०१७ मा ‘डिप फेक’ प्रविधि प्रयोग गरिएको पोर्न भिडियो रेड्डिट नामक वेबसाइटमा भाइरल भयो । त्यसपछि विश्वमा इन्टरनेटका विभिन्न माध्यमबाट नायिका, नेता, चर्चित व्यक्तिका अनुहार पोर्न भिडियोमा जोडेर सार्वजनिक गर्ने क्रम बढ्यो । सन् २०१९ देखि अहिलेसम्म आउँदा एआईको प्रयोग गरेर ‘डिप फेक’ भिडियो, अडियोलगायतका विभिन्न सामग्री इन्टरनेटमा जताकतै पाइन थालेका छन् । 

नेपालमा केही वर्षयता नागरिक साइबर हमलाको सिकार हुने क्रम बढ्दो छ । यसको कानुनी उपचारका लागि नेपालका विद्यमान कानुन पर्याप्त छैनन् । छिमेकी देश भारतले नयाँ प्रविधिमा आधारित साइबर अपराध तथा एआई र ‘डिप फेक’ बाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावलाई कानुनबाट सम्बोधन गर्न नयाँ कानुन ल्याउने तयारी गरेको छ । 

त्यसैले छिटोभन्दा छिटो ‘डिप फेक’ र एआईबाट हुन सक्ने खतरालाई समयमै सम्बोधन गर्न नेपाल सरकारले समेत उचित कानुन निर्माणमा लाग्नुपर्ने देखिन्छ ।