• १७ जेठ २०८१, बिहिबार

शिक्षा पहिलो प्राथमिकतामा

blog

दार्चुला जिल्ला सदरमुकाम खलङ्गा वरपरका क्षेत्रहरू खलङ्गा, छापरी, काँटै, धाप र दत्तु समेटेर महाकाली नगरपालिका बनेको हो । यो नगरपालिकामा नौ वडा छन् । पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहुँ, दक्षिणमा शैल्यशिखर र मालिकार्जुन पालिका रहेका छन् । करिब २१ हजार जनसङ्ख्या र १३५.११ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो नगरपालिका कृषि उत्पादनका लागि राम्रो मानिन्छ । सोही नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का तर्फबाट नरसिंह चैसिर हुनुहुन्छ । नगरपालिकाको आर्थिक तथा सामाजिक विकाससँगै उहाँको कार्यकालमा भएका उपलब्धिका विषयमा दार्चुला समाचारदाता लोकेन्द्रप्रसाद जोशीले गरेको सङ्क्षिप्त कुराकानी :

महाकाली नगरपालिकाको १३ औँ नगर सभा हालै सम्पन्न भएको छ, के के निर्णय गर्नुभयो ?

नगर सभा पञ्चवर्षीय आवधिक योजना पारित, बजेट संशोधन, कार्यपालिकाका निर्णय अनुमोदनलगायतका विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । हामीले १२ औँ नगर सभाले पारित गरेका नीति, कार्यक्रमलाई निरन्तरता दिनेबाहेक केही थप निर्णय गरेका छौँ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । १३ औँ नगर सभाले टुहुरा बालबालिकाको अभिलेख व्यवस्थापन गरी निःशुल्क शैक्षिक सामग्री र पोसाक उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै आमाबुवा नभएका बेसहारालाई नगर प्रमुख कार्यक्रम अन्तर्गत विगतदेखि नै रासन दिँदै आएकोमा अब ८० वर्षमाथिका वृद्धवृद्धाको अभिलेख व्यवस्थित गर्दै लुगाकपडा र बसाइ व्यवस्थापनमा समेत सहयोग गर्ने निर्णय गरिएको छ । प्लास्टिकजन्य पदार्थ न्यूनीकरण गर्ने नीति अवलम्बन गर्ने र निकट भविष्यमा प्लास्टिकमुक्त नगर बनाउने, डुङ्री जलविद्युत् आयोजना पुनः सञ्चालन गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, खलङ्गाको खानेपानी शुद्धता र व्यवस्थापनका लागि मिनरल वाटर प्लान्ट तयार गर्ने निर्णय गरिएको छ ।


महाकाली नगरपालिकाको आफ्नै प्रशासकीय भवन कहिले निर्माण हुन्छ ? 

हो, महाकाली नगरपालिका स्थापना भएको लामो समय बिते पनि आफ्नै नयाँ प्रशासकीय भवन निर्माण हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पाँच वर्षअघि महाकाली नगरपालिकालाई चारतले सो भवन निःशुल्क प्रयोग गर्न उपलब्ध गराइएको थियो । भवन प्रयोगको सम्झौताको अवधि सकिएपछि थप दुई वर्षका लागि माग गरिएको छ । आफ्नै भवन निर्माण गर्न नगरपालिकाले जग्गा खोजिरहेको छ । जग्गा खोजी गर्न कार्यदल गठन गरेर काम भइरहेको छ । सदरमुकाम क्षेत्रमा जग्गादाता नभेटिएकाले जग्गाको वैकल्पिक व्यवस्थापन गरेर नगरपालिकाले प्राथमिकताका साथ प्रशासकीय भवन निर्माण गर्ने योजना बनाएको छ ।


नगरवासीले खानेपानीको चरम समस्या भोग्दै आएका छन् यसको समस्या समाधान कहिलेसम्म हुन्छ ?

दार्चुला जिल्ला सदरमुकाम भएकाले पनि खलङ्गामा खानेपानी समस्या समाधान गर्न बृहत् योजना सञ्चालन गरिएको छ । खलङ्गा खानेपानी, ढल तथा सरसफाइ आयोजनाको सबै निर्माण कार्य केही महिनाभित्रै पूरा गर्ने सहमति भएको छ । यहाँका दुई हजार २८६ उपभोक्ताको धारामा नियमित खानेपानीको आपूर्ति गर्ने गरी ३० करोड रुपियाँ बजेटमा खानेपानी, ढल तथा सरसफाइ आयोजना निर्माणको काम भएको छ । 


फोहोर व्यवस्थापनमा के कस्ता काम गर्नुभएको छ ?

हरेक दिन खलङ्गाबजार क्षेत्रको फोहोर सङ्कलन गरेर किम्तडीस्थित व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्दै आएका छौँ । फोहोरलाई व्यवस्थित गर्न सचेतना अभियान चलाइरहेका छौँ । आगामी दिनमा नगरपालिकाभित्र प्लास्टिकजन्य पदार्थ न्यूनीकरण गर्ने नीति अवलम्बन गरेका छौँ । 


शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के काम गर्नुभएको छ ?

पूर्वाधार विकाससँगै शिक्षा क्षेत्रको विकास समृद्धिको आधार भएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । नगरपालिकाभित्र शैक्षिक पूर्वाधार र जनशक्तिको उचित व्यवस्थापन र परिचालन गरेर माध्यमिक तहसम्म सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने गरी काम गरिरहेका छौँ । निजी स्रोतका शिक्षकलाई तलब खुवाउन विद्यार्थीबाट शुल्क लिने गरिएकोमा अब त्यो हटाइ दरबन्दीको व्यवस्था गरेका छौँ । वडास्तरमा स्वास्थ्य उपचार तथा निःशुल्क औषधी वितरण गरिरहेका छौँ । 

नगरपालिकाको समग्र विकासको अवस्था कस्तो छ ?

प्रत्येक वडाका अधिकांश विकट बस्ती सडक सञ्जालमा जोडिएका छन् । विद्युत् विस्तारको काम लगभग सबै वडामा पूरा भएको छ । शिक्षामा पूर्वाधार निर्माण र मानवीय जनशक्ति व्यवस्थापन, माध्यमिक र आधारभूत विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि पनि धेरै काम भएका छन् । कृषकलाई प्रोत्साहन गर्दै आएका छौँ । २०७० सालको बाढीले बगाएदेखि खेलमैदानको अभाव झेल्दै आएकोमा शिवनगरमा खेलमैदान निर्माण गरिएको छ । पर्यटकीय पूर्वाधारहरू निर्माण भइरहेका छन् । जनताको सबै अपेक्षा र आवश्यकता पूरा गर्न नसके पनि भएको स्रोत साधन अधिकतम सदुपयोग हुने गरी आधारभूत कामहरू प्रभावकारी गरिरहेका छौँ ।


सुशासनका लागि के काम गर्नुभएको छ ?

सुशासनको क्षेत्रमा हामी अभ्यासरत छौँ । प्रत्येक वडामा नागरिक बडापत्रहरू राखेका छौँ । नगरपालिकामा डिजिटल बडापत्रको व्यवस्था गरेका छौँ । सार्वजनिक कार्यक्रम गर्नुपूर्व रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जालमार्फत प्रत्येक नागरिकसम्म जानकारी पुगोस् भन्ने उद्देश्यले सूचना सम्प्रेषण गरिरहेका छौँ । प्रत्येक वडा र नगरपालिकाको सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण कार्यक्रम गर्दै आएका छौँ । 


अन्त्यमा महाकालीलाई समृद्ध पालिका बनाउने योजना के छन् ?

सडक पुग्न बाँकी रहेका गाउँलाई सडक सञ्जालमा जोड्दै र बनेका सडकको  ट्र्याकहरूलाई ग्राभेल र कालोपत्रे गरेर बाह्रै महिना सञ्चालन हुने बनाउनुपर्ने छ । एक घर एक धारा, सिँचाइ, गुणस्तर शिक्षामा, कृषि, पर्यटन र खेल क्षेत्रमा पनि थुप्रै काम गर्ने योजना छन् । स्वरोजगार सिर्जना तथा आत्मनिर्भर बनाउने किसिमका काम गर्नुपर्ने छ । समृद्ध महाकाली, सुखी महाकालीवासी बनाउने अभियान जारी छ ।