• ६ वैशाख २०८१, बिहिबार

सङ्घर्षबिच भूपिको जीवनी

blog

प्यारा भाइबहिनीहरू ! नेपाली साहित्यमा गद्य कविता क्षेत्रका एक नक्षत्र भूपि शेरचनबारे सानो जनकारी गराउँछु है त । भूपि शेरचनको पूरा नाम भूपेन्द्रमान शेरचन हो । उनको जन्म विसं १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा भएको थियो । उनी सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनका कनिष्ठ पुत्र हुन् । 

भूपिका बाबु धनीमानीमा गनिन्थे । पोखराबाट सामान मुस्ताङ लैजाने र त्यहाँ उत्पादित स्थानीय वस्तु पोखरामा ल्याएर बेच्थे । परिवारमा खान र लाउन दुःख थिएन । दिन समय बित्दै गए । उनी पाँच वर्षको हुँदा आमाको देहावसान भयो । उनीबारे अनर्गल प्रचार सुरु भए । हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । आमा टोकाहा र पिराहा जस्ता उपनाम पाए । यता मातृवियोग झेल्नु प¥यो, उता परिवार र समाजबाट अपहेलित र तिरष्कृत जस्तै बन्नु पर्‍यो । कहिले जङ्गल, कहिले खोला त कहिले तलाउनजिक पुगेर मन बहलाउन थाले । सम्पन्न परिवारका भूपिलाई यथा समयै अक्षर सिकाउने प्रबन्ध गरियो । घात र आहात भएका भूपि छ वर्षको उमेरमा घर छाडेर दाजुसँग बसी पढ्न थाले । दाजु जहाँ जहाँ सरुवा हुन्छन् भूपि पनि त्यहीँ त्यहीँ गएर पढे । कहिले चितवन, कहिले पोखरा, कहिले बुटबल त कहिले काठमाडौँ गर्दै डुल्दै फिर्दै बनारससम्म पुगेर उनले विद्यालयीय जीवन व्यतित गरे । 

भूपि १२ वर्ष भएपछि पढ्न बनारस पठाइयो । विसं २००६ देखि कविता लेख्न प्रारम्भ गरेका भूपीले परम्परावादी सोच र रुढीग्रस्त सामाजिक व्यथितिका विरुद्ध कविता लेखे । आफूले पाएको आहातविरुद्ध  लेखनका माध्यमबाट विद्रोहको आगो ओकले । बाबुको व्यवहारको बोध गर्दै उनका विरुद्ध कविता लेखे । बाबुको विचारविपरीत धारमा उभिएर अगाडि बढे । सामन्तको उछितो काट्ने भूपीले आपनो नामको पछाडि ‘सर्वहारा’ उपनाम लेख्ने गर्दथे । 

आइएको परीक्षा दिएर बनारसबाट नेपाल आए । यो बिचमा गाउँकै विद्यालयमा अध्यापन गरे । पढाउने क्रममा विद्रोही भाव व्यक्त गर्दथे । पढाउँदै गर्दा शोषक र सामन्तवर्गको अन्याय अत्याचारलाई नजिकैबाट नियाल्ने मौका पाए । बनारसबाट आउँदा उनी कम्युनिस्ट भएका थिए । गाउँमा छँदा आइए फेल भयो भन्ने हल्ला फिँजिएपछि उनी पोखरा झरे । बीएसम्मको उच्च शिक्षा हासिल गरेका भूपिले कविता लेखन र राजनीतिमा लागेपछि पढाइलाई निरन्तरता दिएनन् । 

भूपि मुस्ताङबाट पोखरा आएर राजनीतिकर्मीलाई भेट्न थाले । उनी त्यस ठाउँका चर्चित नेतामा समेत गनिन पुगे । कम्युनिस्ट पार्टीको कास्की जिल्लाको सचिव भए । खरो स्वभावका उनी निर्मम बनेर पार्टी जीवनमा होमिए । विसं २०१२ मा जेल परे भने २०१३ मा जेल मुक्त भए । लेखनलाई निरन्तरता दिँदै गए । पुस्तक प्रकाशित हुन थाले । विसं २०१७ मा पञ्चायती व्यवस्था आएपछि नेता कार्यकर्तामाथि धडपकड सुरुभयो । भूपी भूमिगत जीवन बिताउन थाले । क क (कम्युनिस्ट र कविता) ले मेरो जीवन बर्बाद पा¥यो भन्ने भूपिले २०२६ पछि खासै कविता लेखेनन् ।

परिवारको खुब ख्याल गर्दै एक पुत्र, एक पति, एक पिता हुँ भन्ने भूपि पछि गएर आफ्नो कर्तव्यविमुख बने । उनी बोतलभित्रको धुनमा हराउन थाले  । सुरासुन्दरी सामान्य जस्तै बन्न पुग्यो । त्यसले उनलाई अकालमै स्वर्गतिर हिँडायो । उनले २००६ र २०२६ गरी दुई विवाह गरे । पहिलो विवाहले जीवनमा ऊर्जा थप्यो भने दोस्रो विवाहले निराशा उत्पन्न गरायो । दोस्रो विवाहपछि लेखनकार्यबाट करिब करिब बिदा नै भए । 

कविता विधाबाट नेपाली साहित्यमा उदाएका भूपि २०१० सालमा परिवर्तन नाटक लिएर देखा परे । नयाँ झ्याउरे (२०११), निर्झर (२०१५), घुम्ने मेचमाथि अन्धो मान्छे (२०२५) र भूपि शेरचनका कविताहरू (२०५७) उनका अन्य कृति हुन् । राष्ट्रियता, देशप्रेम, मानवता, प्रकृतिप्रेम र युगचेतका दृष्टिकोण भूपिका कविता उच्च श्रेणीका छन् । गीतकविता लेख्ने भूपीका दर्जनौँ कविता निकै शक्तिशाली छन् । 

२०३० पछि दम र मधुमेहका रोगी बनेका उनी २०३६ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य बने । जीवनका जे जस्ता आरोह अवरोह भए पनि कविता विधामा उनको नाम अजर अमर छ । उनी ५४ वर्षको उमेरमा २०४६ साल जेठ १ गते यस संसारबाट बिदा भए । उनको नश्वर शरीर हामीमाझ नभए पनि काव्यिक शरीर समगमाथा जस्तै उच्च भएर रहिरहने छ ।