• १७ जेठ २०८१, बिहिबार

केन्द्रीकृत मानसिकता मुख्य चुनौती

blog

छायाक्षेत्रस्थित छत्रेश्वरी देवी प्रख्यात धार्मिक स्थल मानिन्छ । सल्यान जिल्लाका साबिक दमाचौर, कोर्बाङझिम्पे, लेखपोखरा र छायाक्षेत्र गाउँ विकास समितिको भूगोल छत्रेश्वरी गाउँपालिका नामकरण गरिएको छ । छत्रेश्वरी गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षमा निर्वाचित ओजबहादुर बुढाथोकीले शैक्षिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्दै आउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट अध्यक्षमा निर्वाचित बुढाथोकीसँग विकास निर्माण र आगामी योजनाका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष बुढाथोकीसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी–  

छत्रेश्वरी गाउँपालिकामा विकास अवसर र सम्भावना के छन् ? 

सल्यानका १० वटा स्थानीय तहमध्ये छत्रेश्वरी गाउँपालिका अलि फरक महत्व र निकै धेरै सम्भावनाले भरिएको गाउँपालिका हो । यहाँ हिमालमा पाइने स्याउदेखि तराईमा पाइने आँपसम्म फल्छ । यति मात्र नभएर अन्न उत्पादनका लागि तथा विभिन्न धार्मिक तथा पर्यटकीय दृष्टिकोणले छत्रेश्वरी महत्वपूर्ण मानिन्छ । यहाँको जलस्रोत, हावापानीको उपयोगमार्फत कृषिलाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउन र धार्मिक एवं पर्यटकीय क्षेत्रको विकास, संरक्षण, संवर्धन गर्दै गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको पहुँच बढाउँदै समृद्ध पालिका निर्माणमा धेरै अवसर छन् । यी अवसर तथा सम्भावनालाई सार्थकता दिन निरन्तर रूपमा इमानदार प्रयासमा छौँ । कतिपय कामको सकारात्मक परिवर्तन पनि देखा पर्न थालिसकेका छन् । 


तपाईंको पालिकाको मुख्य समस्या के के हुन् ? तिनको समाधानमा के कस्ता प्रयास भएका छन् ? 

हामीकहाँ सम्भावनासँगै समस्या पनि छ तर पनि हरेक समस्या, अप्ठ्यारा र चुनौतीलाई पन्छाउँदै, सामना गर्दै अघि बढिरहेका छौँ । काम गर्न नदिने अथवा अनेक किसिमले समस्यामा पार्न खोज्ने समस्या त सायद धेरैतिर छ । नागरिकका अपेक्षा धेरै छन् तर सीमित स्रोतसाधनबिच काम गर्नुपर्ने बाध्यता छ । माथिल्ला सरकारबाट हामीसँग हुनुपर्ने समन्वय, सहकार्यमा अभाव पनि देखिएका छन् । रोजगारीका लागि विदेश वा सहरकेन्द्रित हुने युवा वर्गलाई स्थानीय तहमै रोक्न, कृषि तथा पशुपन्छी पालनको उत्पादकत्व वृद्धि गर्न समस्या छन् । पालिकामै आर्थिक क्रियाकलाप बढाउने, ‘बस्ती बस्तीमा पनि भविष्य छ है’ भन्ने कुराको विश्वास दिलाउन सोही अनुरूपका नीति, योजना, कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, विज्ञ समूह सबैसँग सहकार्य, समन्वय गरेर काम गरिरहेका छौँ । 


पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

नेपालमा तीन तहका सरकार छन् । सहकार्य, समन्वय र सहअस्तित्व अर्थात् तीन ‘स’ का आधारमा तीन तहका सरकारबिच सम्बन्ध हुन आवश्यक छ । स्थानीय सरकार नागरिकको दैलोको सरकार हो । यहाँ नागरिकका ससाना समस्या पनि आउने गर्छन् । नागरिकका हर समस्या समाधानको पहिलो दायित्व पनि स्थानीय सरकारमा नै छ । यसर्थ नागरिकको दैलोको सरकारलाई सबल, सक्षम बनाउन माथिल्लो तहका सरकारको सहयोग महत्वपूर्ण हुन्छ । हामीले आफ्नातर्फबाट प्रदेश तथा केन्द्रीय सरकारसँग सहकार्य र समन्वयको हात फराकिलो तरिकाले अघि बढाएका छौँ । स्थानीय स्रोतसाधनले नधान्ने केही महत्वपूर्ण र गौरवका आयोजना माथिल्लो सरकारसँग साझेदारी गरेर अघि बढाइएको अवस्था छ तर ससाना योजना पनि केन्द्र, प्रदेशले गर्न खोज्नु, अन्य योजना र कार्यक्रममा पनि स्थानीय तहलाई कुनै पनि जानकारी नदिनुले कता कता माथिल्लो तहका भनिएका सरकारले नागरिक र स्थानीय तहका जनप्रतिनिधिबिच द्वन्द्व सिर्जनाको प्रयास गरेका हुन् कि भन्ने लाग्छ । 


समृद्ध पालिकाका लागि अबको बाँकी अवधिमा के के गर्ने योजना रहेको छ ?

‘म बनाउँछु मेरो छत्रेश्वरी’ नारासहित गाउँपालिका निरन्तर नागरिकसँग सहकार्य गरिरहेको छ । विभिन्न परियोजनासँग साझेदारीलाई प्रभावकारी रूपले सञ्चालनको प्रयास गरेका छौँ । जस अनुरूप ठुला ठुला खानेपानी, सरसफाइ तथा स्वच्छताका योजना, सिँचाइ तथा तटबन्धका योजना सञ्चालन भइरहेका छन् । 

गुणस्तरीय सडक निर्माण, समय सुहाउँदो र बालबालिकाको भविष्य उज्ज्वल बनाउन शैक्षिक सुधारका कार्यक्रम एवं स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायत विविध क्षेत्रमा योजनाबद्ध तरिकाले काम गरिरहेका छौँ । यसले पक्कै पनि अबको तीन/चार वर्षपछि निकै महत्वपूर्ण र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ । 

समाजमा व्याप्त विभेद, अन्धविश्वास र कुप्रथा अन्त्य गर्न महिला समूहमार्फत जागरण, स्वास्थ्य स्वयंसेविका परिचालन र बाल क्लब गठन गरी किशोरी शिक्षा तथा बाल विवाह न्यूनीकरणलगायत कार्यक्रममार्फत सचेतना अभियान सञ्चालन गर्ने, लक्षित वर्गका लागि सिपमूलक कार्यक्रममार्फत क्षमता विकास एवं रोजगारी सिर्जना गर्ने, ज्येष्ठ नागरिकको सम्मानसँगै पराम्परागत ज्ञान, सिप र अनुभव हस्तान्तरण गर्ने हाम्रो नीति अनुरूपका कार्यक्रम योजना सञ्चालन गर्ने योजना छ । भौतिक विकास र मानवीय विकास एकअर्काका परिपूरक भएकाले दुवैलाई उत्तिकै महत्वसाथ कार्यान्वयन गर्दै गइरहेका छौँ ।


स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अघि बढाइरहेको छ ?

गाउँपालिका अन्तर्गत प्रवाह हुने सार्वजनिक सेवालाई कार्यान्वयनमा उतार्ने गरी र ती सेवा उद्देश्य अनुसार लक्षित वर्ग र लक्षित स्थानसम्म पु¥याउने गरी नै हामीले काम गरिरहेका छौँ । नागरिकको इच्छा, चाहना अनुसारका दीर्घकालीन महत्व राख्ने किसिमका योजनालाई नागरिक अथवा उपभोक्ताकै प्रत्यक्ष सहभागितामा कार्यान्वयन गर्ने कोसिस गरिरहेका छौँ । सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन हामी निरन्तर प्रयासमा छौँ । 

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के कस्ता योजना बनाउनुभएको छ ?

वित्तीय अनुशासन कायम हुने गरी समयमै वार्षिक बजेट तर्जुमा गरी नागरिकले देख्ने, अनुभव गर्ने र महसुस गर्ने गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्ने विषयमा ध्यान दिएका छौँ । चुनावका बेला गरेका वाचा नागरिककै सहभागितामा सम्पन्न गर्न हामी तत्पर छौँ । योजना तर्जुमाका चरणलाई सकेसम्म पूरा गर्दै आएका छौँ । नागरिक तथा लक्षित वर्ग समूहलाई पनि आफ्ना लागि योजना आफैँ बनाउन प्रेरित गरिरहेका छौँ । गैरसरकारी संस्थाको कार्यक्रम तथा बजेटलाई समेत छत्रेश्वरीको प्राथमिकता अनुरूप परिचालन र सहकार्यमा जोड दिएका छौँ । संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानुनमा तोकिएको समयसीमामा सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अपनाउँदै आमनागरिकलाई विकासमा साझेदार बनाई सुशासनको अनुभूति दिलाउने गरी योजनाबद्ध रूपमा नै बजेट एवं नीति कार्यक्रम कार्यान्वयन गरिरहेका छौँ । 

नमुनायोग्य कुनै विशेष योजना वा कार्यक्रम के के छन् ? 

चर्चामा आउनभन्दा पनि परिणाममुखी र हरेक नागरिकलाई महसुस हुने खालका काममा जोड दिएका छौँ । दलित, विपन्न र जेहेनदार विद्यार्थीलाई प्राविधिक धारतर्फ छात्रवृत्तिको व्यवस्था गरी सात वडाका १४ जनालाई शारदा मावि शङ्खमूलमा निःशुल्क पढने व्यवस्था गरिएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई निःशुल्क औषधी वितरण, आयआर्जनमा जोड्ने व्यवसाय सञ्चालन गर्न ऋण लगानी तथा कृषि सामग्री वितरण गरिएका छन् ।

जनप्रतिनिधिका रूपमा के कस्ता चुनौती भोग्नुभयो ?

स्रोतसाधनको अभावले निकै चुनौती थपिदिने रहेछ । हामीकहाँ आन्तरिक स्रोतको अवस्था निकै कमजोर छ । हुन त यो अधिकांश स्थानीय तहको समस्याका रूपमा मैले पाएको छु । यसलाई सुधार वा आन्तरिक आय वृद्धितर्फ उचित योजना बन्न र ध्यान पुग्न नसकेको पनि हुन सक्छ । अर्को कुरा दक्ष जनशक्तिको अभाव, समयमै कानुन निर्माण हुन नसक्नु जस्ता समस्याले पनि सताएको पाइन्छ । स्थानीय सरकारलाई प्रभावकारी रूपमा काम गर्न नदिने केन्द्रीकृत मानसिकता मुख्य चुनौतीका रूपमा लिएका छौँ । अन्य स्थानीय तहका साथीसँग पनि हामीले बेलाबखतमा यस विषयमा छलफल गर्ने गरेका छौँ । स्थानीय सरकार र जनप्रतिनिधिलाई असफल देखाएर अधिकारलाई माथि नै केन्द्रित गर्ने प्रयास देखिएकै छ । तपाईं देख्न सक्नुहुन्छ, गाउँपालिकामा प्राप्त हुने बजेटमा सामाजिक सुरक्षा, शिक्षक, कर्मचारीको तलब र साधारण बजेटको हिस्सा नै बढी छ । हामीले निःसर्त वा आफूले तय गरेर कार्यान्वयन गर्ने बजेट असाध्यै कम छ ।