• १७ जेठ २०८१, बिहिबार

‘मनास्लु स्याउ ब्राण्डिङ गर्दैछौं’

blog

गोरखाको गोरखा जिल्लाको हिमाल पारिको विकट गाउँपालिका चुमनुब्री साविकका सामगाउँ, ल्हो, प्रोक, बिही, छेकेम्पापर, चुम्चेत र सिर्दिबास गाउँ विकास समिति मिलेर बनेको हो । बुढीगण्डकी नदीको पश्चिमी भागमा पर्ने यो गाउँपालिका समुद्री सतहबाट एक हजार दुई ३९ मिटरदेखि आठ हजार एक ६३ मिटरसम्मको उचाइमा अवस्थित छ । नेपालको आठौँ उच्च शिखर मनास्लु हिमाल (८१६३ मिटर) यही गाउँपालिकामा पर्दछ । कुल जनसंख्या नौ हजार दुई सय ८९ जना रहेको यो गाउँपालिकामा गएको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट निमा लामा अध्यक्षमा चुनिनुभएको छ । गाउँपालिकाको समग्र विकास र गतिविधिबारे गोरखापत्रका सुलीकोट (गोरखा) समाचारदाता गुणबहादुर रोकाले गर्नुभएको कुराकानी :

तपाई करिब दुई वर्षमा के कस्ता काम गर्नुभयो ?

हाम्रो गाउँपालिका गोरखाको बिकटमा छ । यसका आफ्नै प्रकारका समस्या छन् । यस दुई वर्षको अवधिमा हामीले चुमनुब्री गाउँपालिकाको विकासका लागि निरन्तर रुपमा काम गरेका छौँ । मुख्य गरी केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरी विकासको पहल गरेका छौँ । केही योजनाका डिपिआर तयार भएका छन् भने केही योजना अघि बढाउन छलफल भइरहेका छन् । विकासको परिणाम विस्तारै देखिने छन् । 

चुमनुब्रीको आफ्नै कार्यालय कहिले बन्ला ?

चुमनुब्री गाउँपालिकाको आफ्नै कार्यालय भवन छैन । खासमा गाउँपालिकाको आफ्नो जमिन नभएकाले ढिला भएको हो । हामीसँग पशु र कृषि भेटनरी कार्यालयको चार रोपनी जग्गा रहेकाले त्यस जग्गालाई प्रयोगमा ल्याउन नीतिगत निर्णयमा पुग्न निकै ढिलो भएको छ । यही आउँदो चैतसम्म प्रशासकीय भवन निर्माणका लागि टेन्डर आह्वान गरी चुमनुब्रीको मौलिक र सांस्कृतिक विशेषता झल्कने भवन बनाउने तयारीमा छौँ ।

जिल्ला सदरमुकाम र चुमनुब्री गाउँपालिकाबिच सडक सञ्जाल जोड्न के पहल भएको छ ?

गोरखा बजारदेखि चुमनुब्री गाउँपालिका झण्डै ५० कोस टाढा छ । अझ सीमा नाका धेरै छ । हिमाल पारिको चुमनुब्री अहिले पनि यातायात सञ्जालमा जोडिएको छैन । हामीले निर्वाचित भएदेखि उत्तर दक्षिण लोकमार्गलाई पहिलो प्राथमिकतामा राखेका छौँ । बेनीघाट रोइला भञ्ज्याङ नाका जोड्ने सडक केन्द्रीय बजेटमा समावेश भएकाले यो काम छिट्टै हुने विश्वास लिएका छौँ । नेपाली सेनाले तीव्र गतिमा चुमनुब्रीमा सडक निर्माण गरिरहेको छ । आशा गरौँ, चाँडै हामी सडक सञ्जालसँग जोडिने छौँ ।

सयौँ वर्षदेखि अहिंसाको नमुना क्षेत्र चुम उपत्यकाका मुख्य विशेषता के के हुन् ?

चुम उपत्यका संसारकै जैविक विविधताको खुला सङ्ग्रहालय हो । वि.सं. १९७७  देखि बौद्ध दर्शनको पञ्चशीलको सन्देश लिएर अहिंसा क्षेत्र घोषणा भएको ठाउँ हो । तसर्थ संसारको शान्तिको नमुना क्षेत्र भएकाले विश्वलाई शान्तिको उदाहरण र शिक्षा दिने फरक विशेषता भएको सुन्दर स्थान हो, चुम उपत्यका । संसारको जुनसुकै मानिस पनि एकपटक यो ठाउँमा आएर अहिंसाको सन्देश ग्रहण गर्न सक्छ । यसको कारण र परिणाम बुझ्न सक्छ । 

चुमनुब्रीबासीका मुख्य समस्या के के हुन् ? 

चुमनुब्रीबासीका समस्या धेरै छन् । तीमध्ये मुख्य समस्या सडक यातायात नहुनु हो । शिक्षा, स्वास्थ्य र पूर्वाधारका विकासमा हामी पछाडि परेका छौँ । यी समस्या समाधानका लागि सबै तहका सरकारसँग हामीले पहल गरेका छौँ । समाधानका लागि साथ पाउने आश्वासन पाएका छौँ । आश्वासन व्यवहारमा देखिने हाम्रो अपेक्षा छ । बिकट ठाउँको विकास भए देश विकसित हुन्छ भन्ने उहाँहरुले अवश्य बुझ्नुहुन्छ भन्ने मेरो विश्वास छ ।  

यहाँ कृषिमा कस्ता काम भएका छन् ?

हामीले चुमनुब्रीमा आर्गानिक र रैथाने खेती बालीका कार्यक्रमलाई जोड दिएका छौँ । भर्खरै मात्र सम्पन्न भएको गाउँपालिकाको हिउँदे अधिवेशनले मनास्लु स्याउ भनेर नामकरण गरिएको छ । मनास्लु स्याउलाई ब्रान्डिङ गर्ने कार्यक्रम छ । कृषि र पर्यटनलाई जोड्ने र यहाँका कृषि उपजलाई बजारीकरण गर्ने योजना पनि छन् । 

चीनसँगको नाका खुला गर्न केही प्रयास भएका छन् ? 

चीनको नाका खुलाउन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीसँग बारम्बार कुरा राखेका छौँ । अहिले सीमापारि केही क्षेत्रसम्म प्रवेशका लागि पास पाउने व्यवस्था भएको छ । मित्र राष्ट्र चीनसँग कूटनीतिक माध्यमबाट पहल गरी वैशाख, जेठसम्म सीमा नाका खुलाउन पहल भइरहेको छ । छेकेम्पारको ङगला भन्ज्याङ नाका र सामा गाउँको रोइला नाका खुलाउने प्रक्रिया अघि बढेको छ ।

पालिकामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याको कस्तो छ ? 

अव्यवस्थित बसोबासीको सबैभन्दा जटिल समस्या सामा गाउँमा छ । त्यहाँ भूमिपुत्रहरुले सबै घर पहिल्यै निर्माण गरिसकेको तर लालपुर्जा प्राप्त गर्न नसकेको अवस्था छ । सामा गाउँलगायत ल्हो, छेकेम्पारमा संरक्षण क्षेत्र भएकाले वन ऐन संशोधन गर्नुपर्ने रहेछ । ऐन संशोधनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ । प्रधानमन्त्रीले समस्या सुल्झाउने प्रतिबद्धता पनि जनाउनुभएको छ । यही फागुन अन्तिमतिर राष्ट्रिय भूमि आयोगको समन्वयमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्ने तयारी छ ।  

चुमनुब्रीलाई पर्यटनकीय स्थल बनाउने केही योजना छन् ?

यो वर्ष चुमनुब्री गाउँपालिका नौ हजार जनाभन्दा बढीले अवलोकन गरिसकेका छन् । हाम्रो गाउँपालिकामा आन्तरिक पर्यटक तीन हजारभन्दा बढी आएका छन् । अथाह सम्भावना बोकेको पालिकामा गएका वर्षमा भन्दा पर्यटकको संख्या वृद्धि हुँदै गएको देखिन्छ । गाउँपालिकाले विदेशी पर्यटक बढाउन पूर्वाधार विकास गर्ने, मनास्लु संरक्षण विकास आयोजना, नेपाल पर्यटन बोर्डदेखि सरोकारवालासँग छलफल विकास र प्रचारप्रसारका योजना बनाएका छौँ । मनास्लु हिमालको प्रचारप्रसार गर्ने योजनासमेत छ । 

चुमनुब्रीलाई समृद्ध बनाउन के के गर्दै हुनुहुन्छ ?

चुमनुब्री गाउँपालिकालाई नमुना र समृद्ध बनाउनका लागि हामी अभियानमा लागेका छौँ । भौगोलिक विकटताका बाबजुद यसको दिगो र योजनाबद्ध विकासका लागि सङ्घ सरकार र प्रदेशसँग सहकार्य गर्न चाहन्छौँ । पालिकामा शिक्षा, स्वास्थ्य, सडकसहित जैविक विविधता जोगाउने गरी विकास निर्माण गर्नु जरुरी छ । उत्तरी चुमनुब्रीमा विभिन्न किसिमका जडीबुटी खेती गरी आयआर्जन गर्न सक्ने सम्भावना पनि छ । यसमा हामीलाई सबै निकायले सहयोग गर्नुपर्छ । हामीले मात्र गर्न सक्ने अवस्था छैन ।