• ७ वैशाख २०८१, शुक्रबार

छोरीलाई साथमा लिएर आत्मदाह गर्ने मायाको मृत्यु

blog

लीलाराज खड्का
बिर्तामोड, फागुन ९ गते ।  श्रीमान् अन्य महिलासँग लागेको भन्दै पाँच वर्षीया छोरी वर्षा विकलाई साथमा लिएर आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु भएको छ ।  बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँ बस्ने घाइते २८ वर्षीया माया रम्तेलको मृत्यु भएको हो ।

छोरी वर्षाको फागुन ५ गते बिहान मृत्यु भएको थियो भने मायाको बुधबार बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

फागुन ४ गते राति ८ : ३० बजे मायाले घरायसी समस्याका कारण छोरी वर्षालाई शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गर्नुभएको थियो ।

आफ्नो शरीरमा आगो लगाएको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसको भोलिपल्ट उपचारका क्रममा बीएण्डसी हस्पिटलमा वर्षाको मृत्यु भएको थियो । मायाको पनि बीएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा त्यहाँबाट फागुन ६ गते थप उपचारका लागि लाई प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको थियो ।

घटनास्थलनजिकै सुसाइड नोट फेला परेको र त्यस नोटमा श्रीमान् राजन विक अन्य महिलासँग सम्बन्धमा रहेका कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको छ । राजनलाई घटना भएकै दिन नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयो ।