• ६ वैशाख २०८१, बिहिबार

कुरल गाउँमा पुरुषको शव फेला

blog

राजु लामिछाने

रुकुमपश्चिम, फागुन ९ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –७ कुरल गाउँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका –१२ निवासी अबिर ओलीका छोरा अन्दाजी ५० वर्षीय प्रेमबहादुर ओली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार कुरल गाउँका मकरबहादुर खत्रीको घर आँगनमा ओलीको शव भेटिएको हो । सो शव मङ्गलबार राति करिब ११ बजे भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

सूचनालगत्तै सिम्रुतु प्रहरी चौकीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक गणेश गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । साथै आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 

अत्यधिक मदिरा सेवन गरी चिसो समयमा घरबाहिरै बसेका कारण ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि पोष्टमार्टम रिपोर्टपछि अनुसन्धानबाट थप कुरा प्रष्ट हुने उहाँको भनाइ छ ।