• १२ वैशाख २०८१, बुधबार

मानवीय खुसीको आधार

blog

मानव जीवनको उद्देश्य व्यक्ति तथा समुदाय अनुसार फरक हुन सक्छ । जुनसुकै उद्देश्य लिएका व्यक्तिको पनि साझा अपेक्षा खुसी हुनु नै हो । व्यक्तिका लागि आफू खुसी हुने विषय वा खुसी हुन आवश्यक पूर्वसर्त फरक हुन सक्छ । खुसी हुने समय, सन्दर्भ, सर्त वा अवस्था फरक हुन सक्छ । कोही भौतिक सुख प्राप्तिलाई खुसीको आधार मान्दछन् भने कोही आध्यात्मिक शान्ति तथा चेतनालाई । कोही धन सम्पत्तिलाई अधिक महत्व दिन्छन् भने कोही पारिवारिक तथा सामाजिक पुँजीलाई । 

हुन त मानवीय खुसीलाई कुनै एक वस्तु वा विषयमा सीमित गर्नु पनि उचित नहुन सक्छ । आज खुसी दिएको कुनै वस्तु वा विषयले फेरि पनि वा सधैँ खुसी नदिन सक्छ र सामान्यतः दिँदैन । सम्भवतः पृथ्वीमा रहेका जीवित प्राणीमध्ये भावनाका हिसाबले सबैभन्दा जटिल, क्लिस्ट र अनुमान गर्न कठिन प्राणी मानिस नै हुनु पर्छ । जटिल स्वभावका मानिसको खुसी निर्धारणमा हाम्रो शरीरका ग्रन्थीहरूले निष्कासन गर्ने रसायनको निर्णायक भूमिका रहने तथ्य वैज्ञानिकले पत्ता लगाएका छन् । हार्वार्ड विश्वविद्यालयद्वारा प्रकाशित लेखका अनुसार मानव शरीरका यस्ता ग्रन्थीबाट निष्कासित रसायन शरीरका विभिन्न अङ्गमा पुग्छन् र शरीरका ती अङ्गहरूको प्रतिक्रिया तथा कार्यप्रणालीमा सकारात्मक परिवर्तनसहित फरक अनुभूति गराउँछ । 

यस्ता रसायन (जसलाई हर्मोन भनिन्छ) को एउटा समूहलाई ‘खुसी महसुस गराउने हर्मोन’ पनि भनिन्छ । यस समूहमा डोपामाइन, सेरोटोनिन, इन्डोमर्फिन र अक्सिटोसिन नामक रसायन पर्दछन्; जसले शरीरका हरेक तन्तुसम्म खुसीका सन्देश प्रवाह गर्दछन् । यसैले यी हर्मोनलाई न्युरोट्रान्समिटर पनि भनिन्छ । यी हर्मोनमध्ये पनि डोपामाइनलाई खुसी महसुस गराउने हर्मोनको संज्ञा दिइएको छ; जसले खुसीका अतिरिक्त व्यक्तिको सिकाइ र स्मरण क्षमतालगायतका पक्षहरूको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । 

यसै समूहको अर्को हर्मोन सेरोटोनिनले व्यक्तिको मनको खुसीका अतिरिक्त उसको निद्रा, भोक, पाचन, सिकाइ क्षमता र स्मरण शक्तिलगायतका पक्षलाई क्रियाशील गराउँछ । अक्सिटोसिन नामक अर्को हर्मोन; जसलाई प्रेम हर्मोन पनि भनिन्छ, ले एकअर्कामा विश्वास, समभाव र गहिरो सम्बन्धलाई प्रवर्धन गर्छ । यसैले प्रेम, सन्तान उत्पादन, स्तनपान र गहिरो पारिवारिक सम्बन्धका लागि यसको अपरिहार्यता रहन्छ । त्यसै गरी इन्डोमर्फिन हर्मोनलाई पीडा हरण गर्ने रसायनका रूपमा लिइन्छ । शारीरिक वा मानसिक पीडा साम्य पार्न मानव शरीरले यो हर्मोनको उत्पादन गर्छ र मानवीय सन्तुष्टि बढ्दै जाँदा यसको उत्पादन बढ्ने विश्वास गरिन्छ ।

यी त भए मानवीय खुसीका सामाजिक तथा रासायनिक पक्ष । यी पक्षको सामान्य जानकारी हुनु र व्यक्ति स्वयम् खुसी वा दुःखी हुनु फरक विषय हुन् । हुन त खुसी र दुःख दुवै शाश्वत मानवीय सत्य हुन् । अझ भनौँ हरेक जीवात्माको एक अभिन्न अङ्ग हो र एकअर्को पक्षको अभावमा यिनको कुनै महत्व रहँदैन । जसरी कुनै वस्तु अग्लो हुनका लागि तुलनात्मक होचो वस्तुको आवश्यकता पर्छ, उसै गरी खुसीको महत्वका लागि पनि दुःख हुन आवश्यक छ । तथापि यस संसारमा कोही पनि दुःखी हुन वा सामान्यतः दुःख देख्न चाहँदैन । अर्को शब्दमा भन्नुपर्दा सबै मानिस आफू खुसी हुन र अरूलाई खुसी बनाउन चाहन्छन् । मानिसले आफ्नो खुसी व्यक्त गर्ने एक सर्वव्यापी र सरल माध्यम हाँसो हो । माथि उल्लिखित चारै प्रकारका हर्मोनले मानिसलाई खुसी महसुस गराई व्यक्तिको मुहारमा हाँसो ल्याउन योगदान गरिरहेका हुन्छन् ।खुसी हुनु हरेक मानिसको चाहना हो तर इतिहासमै अकल्पनीय उपलब्धि हुँदाहुँदै पनि आजको मानव सम्भवतः अत्यधिक दुःख महसुस गरिरहेको छ । भौतिक सुखसुविधामा हुर्केको पछिल्लो पुस्ता सानातिना कठिनाइ पनि सहन गर्न सक्ने क्षमताको अभावमा विभिन्न मानसिक समस्याले पीडित रहेको आमभनाइ छ । बढ्दो आत्महत्या, डिप्रेसन तथा अन्य मानसिक समस्याको बढ्दो तथ्याङ्कले यिनै तथ्यलाई पुष्टि गर्छ । 

विभिन्न विश्वविद्यालयमा गरिएको अनुसन्धानले मानव शरीरमा खुसीका हर्मोनहरू उत्पादन हुनु एक प्राकृतिक प्रक्रिया भए पनि यसको उत्पादन अभिवृद्धि गर्न सकिने निष्कर्ष निकालिएको छ; जुन विषय पूर्वीय दर्शनका विभिन्न ऋषिको खोज अनुसन्धानमा समेत उल्लेख भएको मानिन्छ । यस्ता उपाय अवलम्बन गर्न सकिएमा व्यक्ति, परिवार तथा समाजमा खुसीको प्रवर्धन गरी स्वस्थ, सुखी र समुन्नत समाज निर्माण गर्न सकिन्छ । ती अध्ययनले पहिचान गरेका खुसी महसुस हुने हर्मोनको उत्पादन बढाई स्वस्थ, सुखी र समुन्नत मानव जीवनका लागि देहायका उपाय अवलम्बन गर्न सकिन्छ ः

बाहिर घाममा निस्कने

सूर्यको प्रकाशले व्यक्तिको शरीरमा सेरोटोनिन नामक हर्मोन उत्पादन गर्दछ । हप्तामा कम्तीमा पनि १५ मिनेट बिहानी पखको सूर्यको प्रकाश मानव शरीरमा पर्दा उसको शरीरमा आवश्यक मात्रामा यो हर्मोन उत्पादन हुन्छ । अहिलेको पुस्ता अध्ययन, मोबाइल, कम्प्युटर तथा टेलिभिजन जस्ता कार्यमा व्यस्त भई घरभित्र सीमित हुँदा उनीहरूमा नैरास्य, चिन्ता तथा मानसिक समस्या बढ्न सक्ने देखिन्छ । तसर्थ मानिसलाई घरबाहिर निस्कन प्रेरित गर्न आवश्यक देखिन्छ ।

ध्यान र व्यायाम गर्ने

महर्षि पतञ्जली तथा पूर्वीय दर्शनका ऋषिमुनिले परापूर्वकालदेखि नै मानिसले ध्यान र योगका माध्यमबाट आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नुपर्ने शिक्षा दिँदै आउनुभएको थियो । आधुनिक विज्ञानले पनि मानव जीवनमा ध्यान र व्यायाम अपरिहार्य रहेको पुष्टि गरेको र योग÷व्यायामको एक वैज्ञानिक माध्यम भएको तथ्य संयुक्त राष्ट्रसङ्घले समेत विश्व योग दिवस घोषणा गरी यसको प्रवर्धन गरेबाट समेत पुष्टि हुन्छ । तसर्थ ध्यान र योग मानव जीवनको अनिवार्य अङ्ग बनाउनुपर्ने देखिन्छ ।

आफ्नो रुचिको क्षेत्रमा समय दिने

व्यक्तिमा कला, सङ्गीत, साहित्य, खेलकुद, खाना पकाउनेलगायतका विभिन्न प्रकारका रुचिका क्षेत्रहरू हुन्छन् । हरेक व्यक्तिले आफ्नो रुचिको क्षेत्रमा समय दिँदा व्यक्तिको खुसीको स्तरमा सुधार हुने अनुसन्धानले पुष्टि गरेका छन् । सङ्गीत हरेक जीवात्माका लागि प्रिय हुने तथ्यहरू सार्वजनिक भएका छन् । सङ्गीतले मानव शरीरमा डोपामाइन नामक हर्मोन उत्पादनमा सहयोग पु¥याउँछ । 

प्रियजनसँग समय व्यतीत गर्ने

आफूलाई मन पर्ने व्यक्तिको सामीप्यतामा समय व्यतीत गर्दा मानव शरीरमा प्रेम हर्मोनका नामले चिनिने अक्सिटोसिन हर्मोन उत्पादन अभिवृद्धि हुन्छ । शारीरिक सामीप्यता र सम्बन्धहरूले यस प्रकारको हर्मोन उत्पादन गरी मानवीय खुसी प्रवर्धन गर्ने हुँदा प्रियजनसँग मर्यादित र सन्तुलित सम्बन्धमा रहनुका साथै साथीभाइ र परिवारका साथ समय व्यतीत गर्ने संस्कृति प्रवर्धन गर्नुपर्ने देखिन्छ ।

पर्याप्त मस्त निद्रा

मानव शरीर स्वचालित पुनर्सक्रियता प्रणालीले सुसज्जित रहेको छ । यस प्रणालीको क्रियाशीलताका लागि उमेर अनुसार पर्याप्त र मस्त निद्रा अनिवार्य छ । पूर्वीय दर्शनले बेलुकी समयमै सुत्नु र बिहान ब्रह्ममुहूर्तअगावै उठ्नु मानव स्वास्थ्य र सर्वाङ्गीण विकासका लागि उपयोगी हुने सुझाएको छ । आधुनिक उपकरण र विभिन्न प्रकारका लतले मानिसको सुत्ने समय अव्यवस्थित र अपूर्ण हुँदै गएको सन्दर्भमा पर्याप्त र मस्त निद्रा सुनिश्चित गरिनु पर्छ ।

भनिन्छ, “विद्या धनम् सर्वधनम् प्रधानम्” साथै स्वास्थ्य त्योभन्दा पनि महìवपूर्ण धन हो र शिक्षाका लागि स्वास्थ्य अपरिहार्य हुन्छ । मानसिक स्वास्थ्य आधुनिक समाजको प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । यसको निरोधको प्रमुख उपाय खुसी हो भने मानव जीवनकै एक महत्वपूर्ण पाटो मानव सन्तुष्टि हो । खुसी हुने उल्लिखित उपायको अवलम्बन हुन सके स्वस्थ, खुसी र सन्तुष्ट जीवनयापन गर्न महìवपूर्ण योगदान पुग्ने छ ।

  

Author

रामकृष्ण अधिकारी