• ७ वैशाख २०८१, शुक्रबार

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

blog

काठमाडौँ,  फागुन २० गते ।  पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का वर्षा भएको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बादल लागेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

रातिको समयमा पनि कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । रासस