• ७ वैशाख २०८१, शुक्रबार

पेचिलो बन्दै फोहोर व्यवस्थापन

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन २० गते । मोरङको पथरीशनिश्चरे नगरपालिकालाई पथरी र नजिकैका बजारबाट निस्किने फोहोर व्यवस्थापन पेचिलो हुँदै गएको छ । तीव्र रूपमा सहरीकरण हुँदै गएको पथरीशनिश्चरे क्षेत्रबाट दैनिक करिब तीन टन फोहोर निस्किने गरेको छ । 

पथरी गाविस छँदै फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको पथरीशनिश्चरे नगरपालिकामा साबिकका शनिश्चरे र हसन्दह गाविस थपिएपछि फोहोर व्यवस्थापन झनै पेचिलो बनेको हो । नगरपालिकाले साबिक पथरी गाविसले फोहोर डम्पिङ गर्दै आएको शान्ति सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको क्षेत्रमा नै फोहोर डम्पिङ गर्दै आएको छ । समूहले बारम्बार फोहोर फाल्ने वैकल्पिक क्षेत्र खोजी गर्न नगरपालिकालाई पत्राचार गरे पनि नगरपालिकाले डम्पिङ साइट निर्माण गर्ने जग्गा खरिद गर्न सकेको छैन । 

सामुदायिक वनका उपाध्यक्ष नवराज मिश्रले भन्नुभयो, “संरक्षित वन क्षेत्रमा फोहोर ल्याएर डम्पिङ गर्ने र राति फोहोरमा आगो लगाउने गरेकोले वन आसपास बसोवास गर्नेको स्वास्थ्यमा समस्या आउन थालेको छ । हिजो पथरी गाविस हुँदा दिइएको डम्पिङ साइटमा अहिले पूरै नगरको फोहोर थुपारिन थालिएको छ । पथरी गाविस हुँदा एउटा ट्याक्टरले फोहोर उठाउँथ्यो । अहिले दुई वटा टिप्पर र दुई वटा ट्याक्टरले फोहोर उठाउँछन् । 

सबै खाले फोहोर एकै ठाउँमा अव्यवस्थित ढङ्गले फाल्ने र राति आगो लगाउने गर्दा वन क्षेत्र सङ्कटमा परेको वनका उपाध्यक्ष नवराज मिश्रले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीले विकल्प खोज्नुहोस् भनेर अल्टिमेटम दिएका छौँ । नगर प्रमुखले तीन महिनाको समय माग्नुभएको छ । तीन महिनामध्ये डेढ महिना गुज्रिसकेको छ ।” 

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले समस्या समाधानका लागि नगरपालिकाले गम्भीर रूपमा छलफल गरिरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिनका लागि अध्ययन भइरहेको र केही कम्पनीसँग छलफलसमेत भएको जानकारी दिनुभयो ।

नगरपालिकाको वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईका अनुसार दैनिक दुई वटा ट्याक्टर र दुईवटा टिप्परले दुई÷दुई पटक फोहोर उठाउने गरेका छन् । सहरीकरण बढेसँगै फोहोर उत्पादन पनि बढेको छ तर डम्पिङ गर्ने स्थायी ठाउँ छैन । उहाँले स्थायी डम्पिङ साइट नहुँदा समस्या भएकोप्रति आफ्नो शाखा पनि चिन्तित रहेको बताउनुभयो ।

पथरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धनकुमार तामाङले नगरबाट निस्किएको फोहोर नछुट्याई जङ्गलमा फाल्दा पर्यावरणमा असर पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रको झन्डै सात/आठ कट्ठा जग्गा फोहोरले भरिएको छ । जथाभाबी फोहोर फाल्दा डम्पिङ साइट क्षेत्रमा दुर्गन्ध फैलिएको छ । सैलुन र ब्युटीपार्लरको केश, कुखुराको प्वाँख/भुत्ला, रक्सीका खाली बोतल, स्लाइनपानीका बोतल र नली, औषधी सफा गर्दाका रुवा, रगतसहितका प्याड, सिसाका टुक्रादेखि विद्युतीय सामान बाँधिएर आएका ‘फम’ सबै एकै ठाउँमा फालिएकाले आगोले पनि डढाउन सकेको छैन । सधैँ आगो लगाएर छाड्दा सो क्षेत्रका पाँच वटामध्ये तीन वटा रुख ढलिसकेका छन् । ती रुखको लेखाजोखा कुनै निकायसँग छैन ।

सड्ने र नसड्ने फोहोर तथा पुनःप्रयोग हुने फोहोरसमेत नछुट्याउँदा झनै समस्या भएको स्थानीयको भनाइ छ । सिसा र अस्पतालको फोहोरका लागि विशेष व्यवस्थापन गर्नुपर्ने स्थानीय बताउँछन् । फोहोर आगो लगाउँदा त्यस क्षेत्रको पर्यावरणमा प्रतिकूल असर पुग्न थालेको स्थानीय अर्जुन काफ्लेको भनाइ छ ।