• ११ असार २०८१, मङ्गलबार

छ लाख दस्तुर तिर्न नसक्दा भवन निर्माण रोकिएको छ

blog

दैलेख जिल्लामा चार नगरपालिका र सात गाउँपालिका छन् । साबिकका तोलीजैसी, विसला, लकान्द्रको भूगोल मिलाएर ठाँटीकाँध गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको पूर्वमा दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका, उत्तरमा कालीकोटको शुभकालिका गाउँपालिका, पश्चिममा दैलेखको आठबिस र दक्षिणमा चामुण्डाविन्द्रासैनी नगरपालिका पर्छ । ठाँटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा र स्रोतसाधनमा सम्पन्न भएर पनि आर्थिक रूपले कमजोर छ । लेकाली क्षेत्रमा पाइने नीलम ढुङ्गा र जौचौरमा भएको तामा खानी एवं फलाम खानीको सम्भावना यहाँ छ । नेपाली कांग्रेसका तर्फबाट पालिकाको अध्यक्षमा रक्षबहादुर शाह हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष शाहसँग गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले गर्नुभएको कुराकानी :  


 निर्वाचन भएको करिब दुई वर्ष पुग्नै लाग्यो  । यो अवधिको कार्यकाललाई कसरी लिनुभएको छ ? 

स्थानीय तहको नेतृत्व गरेदेखि हालसम्मको कार्यकाललाई सन्तोषजनक रूपमा लिएको छु । निर्वाचनका बेला गरेको चुनावी प्रतिबद्धतालाई प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, निर्माण जस्ता कार्यलाई प्राथमिकता दिएर कार्यान्वयनमा गएका छौँ । अघिल्लो सरकारले सुरु गरेका बहुवर्षीय योजना सम्पन्न गर्ने नै हामीले प्रमुख दायित्व सम्झेका छौँ । त्यही अनुसार हामीले योजना सम्पन्नको चरणमा पु¥याएका छौँ । विशेष गरी ठाँटीकाँध गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल, अव्यवस्थित बसोबासलाई निस्सा वितरण, मध्यपहाडी राजमार्गबाट गाउँपालिकाको केन्द्र जोड्ने १४ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी गरेका छौँ । ठाँटीकाँध गाउँपालिकाको केन्द्रको बजारलाई फराकिलो बनाउने काम गरेका छौँ । 

 एक पालिका एक आधारभूत अस्पताल निर्माण सुरु गर्ने नीति थियो । तपाईंको नगरपालिकामा आधारभूत अस्पताल निर्माण कहाँसम्म पुग्यो ?

ठाँटीकाँध गाउँपालिका निर्माण हुनुअघि नै हाम्रोमा प्राथमिक स्वास्थ्य केन्द्र थियो । त्यहाँ डाक्टरको समेत दरबन्दी व्यवस्थापन गरिएको थियो । त्यसैका अधारमा भौतिक पूर्वाधार निर्माण भयो तर चिकित्सकको अभाव सधैँ भोग्नु प¥यो । चिकित्सक आउने तर पुनः जिल्ला वा अन्य ठाउँमा सरुवा भई जाने समस्या लामो समय भोगेका कारण नागरिकले दुःख पाउनुपर्ने अवस्था आयो । अहिले चिकित्सक निरन्तर पालिकामा बसिदिएका कारण नागरिकलाई स्वास्थ्य सेवा दिन सहज भएको छ । १५ शय्याको अस्पतालको ठेक्का अघिल्लो सरकारको पालामा लागेको थियो । निर्माण सुरु गरेको तीन वर्ष भएको छ । अबको केही महिनाभित्र अस्पताल निर्माण सम्पन्न हुने तयारीमा छ । अस्पताल निर्माण भएमा नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने छन् । 

 शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले के के प्रयास गरेको छ ?

प्राकृतिक विपत्तिका कारण विद्यालयमा पुगेको क्षतिले बालबालिकाको अध्ययनमा बाधा पुगेको थियो । बालबालिकाले खुला चौरमा बसेर पढ्नुपर्ने अवस्था आएपछि क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण ग¥यौँ । गाउँपालिकाका अधिकांश विद्यालयमा विषयगत शिक्षकको व्यवस्था ग¥यौँ । गाउँपालिकाको अनुदानमा ७९ जना शिक्षक राख्यौँ तर नेपाल सरकारले नै गाउँपालिकाले अनुदानमा राखेका शिक्षकलाई तलब खुवाएको रकम बेरुजु निकालेपछि समस्या उत्पन्न भएको छ । अहिलेसम्म त्यस्ता शिक्षक राखिरहेका छौँ तर उहाँहरूलाई तलब खुवाउन समस्या भएको छ । सङ्घीय सरकारले दिने अनुदानमा भारी कटौती भएका कारण शिक्षकले तलबसमेत पाएका छैनन् । 

 गाउँपालिकाको प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा समस्या भएका गुनासाहरू आउने गरेका छन् । त्यसका लागि गाउँपालिकाले के पहल गरिरहेको छ ? 

पालिकाको केन्द्र साबिकको लकान्द्र गाविसको ठाँटीकाँधमा कायम भयो । केन्द्र कायम भएपछि अन्य ठाउँमा सार्ने कुरा भएन । त्यहाँ रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवनबाहेक अन्य सरकारी संरचना पनि थिएनन् । घर भाडामा लिनुबाहेक अन्य विकल्प थिएन । स्थानीय तहको निर्वाचनपश्चात् गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न पहल गरिएको भए पनि जग्गा अभावमा रोकिएको थियो । तथापि हामीले पुनः सूचना प्रकाशन गरेर जग्गादातालाई जग्गा दिन अपिल ग¥यौँ । त्यही अनुसार छ रोपनी जग्गा प्राप्त भएको छ । गाउँपालिकाको नाममा कित्ताकाटसमेत भइसकेको छ । हामीले छ रोपनी जग्गा पास गर्दा लाग्ने छ लाख रुपियाँ दस्तुर तिर्न नसकेका कारण भने काम रोकिएको छ । उक्त रकम कतैबाट व्यवस्थापन गरेर हाम्रै कार्यकालमा प्रशासनिक भवन निर्माण गर्छौं । 

 दिनप्रतिदिन युवा बिदेसिने गरिरहेका छन् । गाउँपालिकाले युवा र महिलालाई रोजगारीमा जोड्न कस्ता खालका कार्यक्रम सञ्चालन गरिरहेको छ ? 

जहाँ पनि बजेटको कुरा मुख्य हुन्छ । हामीसँग आन्तरिक आम्दानी कमजोर छ । ५० लाख राजस्व उठाउने लक्ष्य राख्दा १५ लाख रुपियाँ उठ्न पनि हम्मे हुन्छ । अनि हामीले कसरी युवा र महिलालाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गर्न सक्छौँ ? त्यस कारण पनि युवालाई उद्यम वा कृषि पेसामा लगाउन गाह्रो हुन्छ । तर पनि हामीले विभिन्न निकायको साझेदारीमा महिला, दलित र पिछडिएका वर्गको आयआर्जन हुने खालका विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ  । 

 पालिकामा गौरवका आयोजना के के हुन् र तिनको अवस्था कस्तो छ ?

पालिकामा गौरवका आयोजना धेरै छैनन् । १५ शय्याकै अस्पताल निर्माण अन्तिम चरणमा छ । मध्यपहाडी राजमार्गदेखि ठाँटीकाँध बजार जोड्ने मुख्य सडकको स्तरोन्नति गरी कालोपत्रे गरिँदै छ । ठाँटीकाँध गाउँपालिकाको केन्द्र रहेको बजारलाई फराकिलो बनाउने कार्य भइरहेको छ । रामाघाट, बासुल्ने हुँदै कालीकोटको भर्ता जोडिने सडक ठेक्का लागेर निर्माणको चरणमा छ । 

 ठाँटीकाँध गाउँपालिकाले पर्यटन पूर्वाधारका विषयमा के के काम गरिरहेको छ ?

गाउँपालिकाको प्रमुख पर्यटन क्षेत्रहरू मदनताल, नाथेगुफा, भीमपाइला, बडीमालिका, ठुलझरी झरना हुन् । त्यसको पुनर्निर्माण र संरक्षणका केही कार्य गरेका छौँ । त्यसको प्रचारप्रसारको अभावमा पर्यटन क्षेत्र ओझेलमा परेको छ । त्यसका लागि आवश्यक नीति निर्माण गर्ने लक्ष्य राखेका छौँ ।

 गाउँपालिकाका आगामी रणनीति के के छन्  ?

गाउँपालिकामा रहेका विभिन्न खानी उत्खननका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने, कृषि क्षेत्रलाई व्यवस्थित गर्ने; शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका पूर्वाधार निर्माण गर्ने योजनालाई रणनीतिक योजनाका रूपमा लिएका छौँ ।