• २ असार २०८१, आइतबार

मदिरा कार्डले महिला हिंसाका घटनामा कमी आएको छ

blog

बाजुराको दुर्गम तथा पछाडि परेको साविकका मानाकोट र दहकोट गाविस मिलेर गौमुल गाउँपालिका बनेको हो ।  सो गाउँपालिकामा नेकपा (एमाले) का ४२ वर्षीय युवा नेता हरिबहादुर रोकाया दोस्रो कार्यकालका लागि अध्यक्ष हुनुहुन्छ ।

यहाँका दुगर्म गाउँबस्तीको विकासमा लागि पर्नु भएका अध्यक्ष  रोकाया बाजुरामा विकासवादी र योजना भएको अध्यक्ष मानिनुहुन्छ । प्रस्ततु छ अध्यक्ष रोकायासंग सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार र कृषि क्षेत्रमा गरेका काम र चुनौतीका बारेमा गोरखापत्र बाजुरा समाचारदाता शेरबहादुर सार्कीले गरेको कुराकानीको सारसङ्क्षेप । 

तपाईले  अघिल्लो पाँच वर्षमा पनि काम गर्नुभयो  । अहिले पनि झण्डै दुई वर्ष पुग्न थाल्यो । यो  अवधिमा के कस्ता काम गर्नुभयो ? 

विगतका वर्षमा यहाँका वडा तथा गाउँपालिकाको कार्यालय, विद्यालय लगायतका विभिन्न भौतिक संरचना निर्माणको काम गरेका छौ । केही वर्ष कोरोनाको कारण विकास निर्माणका काम समेत बाधा भयो । 

भौगोलिक विकटताका कारण सोचे जसरी काम गर्ने अवसर मिलेको छैन् । अर्कोतिर हाम्रोमा  ३३ करोडको बजेट छ त्यसमा आन्तरिक आम्दानी ३० लाखसम्म हो यस्तो सीमित बजेटले गर्दा पनि सोचेजस्तो धेरै काम गर्न सकेका छैनौ ।

यस्तै गरेर विगतका दिनमा गरेका विकास निर्माणका काम पनि पछिल्लो समय वर्खामा आउने बाढीपहिरो लगायतका दैवि प्रकोपले विनास भएर जान्छन् ।

यद्यपी अघिल्लो कार्यकालमा इमान्दारितापूर्वक काम गरेकोले नै जनताले मलाई फेरि जिताएर काम गर्ने अवसर दिएका छन् । उहाँहरुको यो विश्वासलाई आत्मसाथ गरेर नै जनताको सेवामा निरन्तर लागि रहेको छु । 

शिक्षा, स्वास्थ्य, खानेपानीको, बिजुली क्षेत्रमा के सुधार गरिरहनु भएको छ ?

साक्षरताका हिसाबले हाम्रो पालिका अन्य भन्दा धेरै अगाडि भए पनि सिप सिकेर व्यापार, व्यवसाय र बजारीकरण गर्न नसकेका अवस्था छ । त्यसैले शिक्षामा अल्प, मध्य र दीर्घकालिन नीति लिएर काम गरिहेका छौ । अल्प नीति अनुसार कक्षा ८,९ र १० कक्षाका विद्यार्थीका लागि सिपमुलक ज्ञान दिने, मध्य अन्र्तगत शिक्षकलाई तालिमको दिने, उनीहरुलाई पालिकामै बस्ने वातावरण बनाउने, विद्यालयको भौतिक पूर्वाधार बनाउने र दीर्घकालका लागि गुणस्तरिय शिक्षालाई विशेष ध्यान दिदै बाल कक्षाबाटै बालबालिकाको क्षमता विकास गराउन पढाई र सिपमा इच्छुक बनाउने खालको वातावरण सृजना गर्ने भएका छौ ।

शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले देशको सबैभन्दा ठूलो रातो बङ्गला  विद्यालय काठमाण्डौसँग सहकार्य गरेर यहाँका अधिकाशं विद्यालयका शिक्षक तथा बालबालिकालाई तालिम दिएका थियौ ।जसको सकरात्मक प्रभाव देखिन थालेको छ । 

स्वास्थ्यको कुरा गर्दा हरेक वडा र दुर्गमबस्तीमा स्वास्थ्य केन्द्र, वर्थिङ सेन्टर बनाएका छौ । स्वास्थ्यकर्मी र ११० प्रकारका निशुल्क औषधिको कमी हुन दिएका छैनौ । आधारभूत अस्पतालमा चिकित्सक राखेका छौ । स्वास्थ्य शिविर नियमित गरेकम छौ । जटिल रोगका विमारी पहिचान गरेर आर्थिक सहयोग गर्ने गरेका छौ । वडानम्बर २ मा १० शप्याको अस्पताल निर्माण कार्य पूरा हुँदैछ । चिकित्सकको कमी नहोस भनेर हाम्रो पालिकाबाट चिकित्सक पढ्न चाहनेलाई दुई वर्ष गाउँमै काम गर्ने शर्तमा छात्रबृत्ति दिन शुरु गरेका छौ । 

गौमुल गाउँपालिकाका ९९ प्रतिशत जनता खानेपानीको पहुँचमा छन् ।  यीमध्ये वडानम्बर १ का गाउँबस्ती र वडा नम्बर ३ को माझपालीमा एक घर एक धारा निर्माण गरेका छौ । आगामी दिनमा यहाँका अन्य चार वडामा पनि प्रत्येक घरघरमा खानेपानीको धारा निर्माण गर्ने अभियानमा लागि परेका छौ ।

हाम्रो पालिकाका सबैबस्ती विजुलीको पहुँचमा छन । गौमुल गाउँपालिकाको–१ मा १०० किलोवाट विद्युत उत्पादन गरेका छौ । गाउँपालिका र काँदुरी एग्रीकल्चर एड एसोशियसन पोखराको सहकार्यमा सो विद्युत उत्पादन गरिएको हो । यहाँका स्थानीयको श्रमदान र  काँदुरी एग्रीकल्चर एड एसोशियसन पोखरा झण्डै ११ करोडमा यो विद्युत उत्पादन गरिएको हो ।


गाउँमै रोजगार सृजना गर्न र कृषि क्षेत्रमा के कस्तो फरक काम गर्नु भएको छ ?

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले यहाँका केही युवालाई रोजगारी दिन सहज भएको छ । गाउँमा बेरोजगार बढी र पालिकाको आयस्रोत कम भएकोले सधैलाई गाउँमै रोजगारको व्यवस्था गर्न सकेको छैन् ।

गौमुलको वडा ४ मा मात्र सिंचाइ सुविधा छ । अन्य ठाउँमा वर्खाको पानीको भरमा खेती गर्ने गरेको छ । हाम्रोमा भिरालो भूमीका कारण सिंचाइ सुविधा पुगाउन कठिन छ । त्यसैले धान, गहुँ भन्दा पनि यहाँको बाँझो जमिनलाई सदुपयोग हुने गरेर पछिल्लो समयमा स्याउँ, सिमी, जौ, मकै, कोदो, फापर, मसला, सुन्तला, आलु, किभी, दातेओखर, अलैची लगायतका उत्पादनलाई प्राथमिकता दिएका छौ । यी सबैमा उत्पादन र ढुवानी अनुदान दिएका छौ । हामीले साग, मूला, फर्सी जस्ता तरकारी आफूलाई खानका लागि मात्र लगाउने तर स्याउँ, सिमी, जौ, मकै, कोदो, फापर, हल्दी मसला, सुन्तला, आलु, किभी, दातेओखर, अलैची चै टाढाका बजारसम्म बेच्ने र आम्दानी लिने गरेर कृषकलाई प्रेरित गरेका छौ । त्यस अनुसार सिमी ३०० क्वीन्टलसम्म काठमाडौ लगायतका शहरमा बेचेका छौ । पहिले जौ गाईबस्तुलाई मात्र खुवाइन्थ्यो अहिले मेसिनमा अनुदान दिएर गाउँमै पिसेर खाने व्यवस्था गरेका छौ । 

स्याउँ, किभी, दातेओखर, अलैची उत्पादनमा नौला खालका अभ्यासहरु थालनी गरेका छौ । यी चीज कहाँकहाँ फल्छन् त्यो हेरेर व्यवसायिककरण गर्न खोजेका छौ । इटलीबाट ८०० बोट स्याउँ ल्याएर वडानम्बर १ को अन्द्राडीमा रोपेका छौ । अहिले स्याउँ राम्रो छ । तीन वर्षदेखि फल्दै आएको छ । 

यहाँको माटो अनुसारको खेती गरेर यहाँका स्थानीयको आर्थिक अवस्था उकास्ने गरेर विभिन्न निकायसँग पहल कदमी गर्दै आएका छौ ।

बाख्रापालन, कुखुरापालन, कालिचपालनमा पनि अनुदान दिएका छौ । अर्कोतिर सिलाइकटाइ,  ड्राइभिङ, कुकमेनका तालिममा पनि इच्छुकलाई सहभागी गराएर स्वरोजगार बनाउने काम गरेका छौ । हाम्रो पालिकामा जडीबुटीको पनि राम्रो सम्भावना भएकोले सतुवा लगायतका जडीबुटी उत्पादनमा पनि जोड दिएका छौ ।

तपाईको गाउँपालिकाका सडक सञ्जालको अवस्था कस्तो छ ? सडककै कारण पहिरोको जाने अवस्थाको रोकथामका लागि के गर्दे हुनुहुन्छ ?

गाउँपालिकाका दुई वडा बाहेक सबै सडक सञ्चालको पहुँचमा छन् । वर्खाको समय गाडी नचले पनि हिउँदको महिना भने यहाँका प्रत्येक वडामा जीप, ट्याक्टर चल्ने गर्दछन् ।

बाँकी ती दुई वडा पनि सडक सञ्जालको पहुँचका लागि यो वर्षमा रकम विनियोजन गरेर काम गर्ने योजनामा रहेको छ । हाम्रो पालिकामा सडक बनाएका कारण पहिरो जाने अवस्था छैन ।

अघिल्लो वर्षको भूकम्पले ठूलो क्षति गरेको थियो, अहिले ती भूकम्प पीडितको अवस्था के छ ?

यहाँका ४३३ परिवार भूकम्पबाट निकै प्रभावित भएका छन् । वडा नम्बर ६ का केही घरपरिवारको घर निर्माण गरेका छौ  । अन्य परिवारका लागि अस्थायी घर, टहरा निर्माणका लागि पहिलो किस्ताको रकम दिएका छौ । स्थायी आवास निर्माणका लािग सङ्घीय सरकारसित अनुरोध गरेका छौ ।  

अघिल्लो कार्यकालमा मदिरा नियन्त्रणका लागि मदिरा कार्ड बनाउने नीति लागू गर्नु भएको थियो, के प्रभावकारी भएको छ ?

हाम्रो गाउँघरमा मदिराका कारण सम्पति सकिने त छदैछ नै झैझगडा पनि बढेकाले यसको नियन्त्रणको उपाय स्वरुप मदिरा कार्ड बनाइएको हो । त्यसैले मदिरा खानेले ५०० तिरेर मदिरा कार्ड बनाउने र बेच्नेले तीन हजार तिरेर विक्री अनुमति लिने व्यवस्था गरेका छौ । खाने र बेच्नेले हरेक वर्ष नविकरण गर्नुपर्छ । यो कार्यक्रम प्रभावकारी नै छ । अझ प्रभावकारी बनाउन यो नीति परिमार्जन गर्ने तयारीमा छौ । कार्ड बनाउन धेरैले लाज मान्ने भएपछि खान छोडेका छन् । कार्ड बनाउनेहरु पनि अरुलाई खुवाउने र अरुबाट खाने छोडेको भेटिएको छ । झैझगडा कम भएका छन् । महिलामाथिका हिंसामा पनि कमी आएको छ ।

सङ्घ, प्रदेश सरकार र गैरसरकारी सङ्घ संस्थासंग कस्तो समन्वय छ ?

सङ्घ, प्रदेश सरकारले समन्वय नगरेर नै योजना पठाउछन् । ति कसरी सञ्चालन हुन्छन् कुनै समन्वय हुँदैन । त्यस्तो समस्या सङ्घ सरकार भन्दा  प्रदेश सरकारको बढी छ । हामीले यी दुईवटै सरकारसित समन्वय गरेर जाने प्रयास गरिरहेका छौ । 

गौमुलमा काम गर्न आउने सबै संस्थालाई हामी हाम्रो नीति नियम अनुसार काम गर्न सल्लाह दिइरहेका छौ । उहाँहरुले पनि त्यसै अनुसारका काम गर्नु हुन्छ । अहिले यहाँ काम गर्ने सबै सरकारी तथा गैरसरकारी संस्थाहरुसँग राम्रो सम्बन्ध छ ।