• २ असार २०८१, आइतबार

सुन्दर ईश्वरपुर बनाउने अभियानमा छौँ

blog

सर्लाहीका २० वटा पालिकामध्ये ईश्वरपुर नगरपालिकाले माछा उत्पादन र अन्न भण्डारको पहिचान बनाएको छ । सर्लाही जिल्लाकै सबैभन्दा ठुलो १६३.८३ बर्ग किलोमिटर क्षेत्रफल भएको यस नगरपालिकामा १५ वटा वडा छन् । २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार यस नगरपालिकामा १३ हजार ७७६ घरधुरी र ६८ हजार ६२६ जनसङ्ख्या रहेको छ । मुख्यतः माछापालनको विस्तारित क्षेत्र र 

कृषिउपज उत्पादन तथा कृषिमा आधारित उद्योग धेरै रहेका यस नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यसँग गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्रीले समग्र नगरको गतिविधिलाई लिएर गर्नुभएको कुराकानीको सङ्क्षिप्त अंश ;

तपाईं निर्वाचित भएर आएपछि नगरपालिकामा मुख्य मुख्य के के काम गर्नुभयो ?

हामीले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा किसान प्रत्यक्ष लाभान्वित हुने विषयलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ । काठमाडौँबाट विशेषज्ञ चिकित्सक ल्याएर पाँच सय बढी महिला दिदीबहिनीको पाठेघरको निःशुल्क उपचार गरायौँ । नगर अस्पताल बयलवासमा फागुनभित्रै २४ सै घण्टा आकस्मिक सेवा सुरु गर्ने तयारी गर्दै छौँ । त्यसका लागि विशेषज्ञ चिकित्सक नियुक्त गरेका छौँ । एक महिनाअघि एक हजार ९०० व्यक्ति र ईश्वरपुर नगरपालिकाभित्रका २० हजार विद्यार्थीलाई निःशुल्क आँखा परीक्षण गराएका छौँ । नगरपालिका मातहतको नगर अस्पतालसहित कालिन्जोर, बेला, गौरीशङ्कर र भक्तिपुर स्वास्थ्य चौकीको अवस्था पहिलेभन्दा धेरै सुधार गरेका छौँ । अब निकट भविष्यमै नगरभित्र मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने तरखरमा लागेका छौँ । 

शिक्षा क्षेत्रको सुधारमा कस्ता प्रयास भइरहेका छन् ?

हामीले भर्खरै सामुदायिक र संस्थागत विद्यालयबिच विभेद नगरी दुवै विद्यालयलाई सहभागी गराई जिल्लामै नमुनाका रूपमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद आयोजना ग¥यौँ । विद्यार्थीको सोच, विचार, चाहना बुझेर भर्खरै प्रत्येक माध्यमिक विद्यालयमा अतिरिक्त व्रिmयाकलाप गरायौँ । आगामी दिनमा हामी प्रत्येक विद्यालयमा विद्यालय झोला निःशुल्क गरेर शुव्रmबारको दिनलाई विशेष दिनका रूपमा मनाउँदै छौँ । आगामी दिनमा संस्थागत विद्यालयकै दाँजोमा सामुदायिक विद्यालय पनि अगाडि बढेका छन् भन्ने सन्देश दिने गरी काम गर्दै छौँ । विद्यालयको भौतिक संरचनातर्फ सरस्वती माध्यमिक विद्यालय भक्तिपुरमा दाता जुटाएर भर्खरै सुविधा सम्पन्न विद्यालय भवनको शिलान्यास भइसकेको छ । यो वर्ष नारायण माध्यमिक विद्यालय बयलवास र सरस्वती माध्यमिक विद्यालय भक्तिपुरमा विद्यालय बसको व्यवस्था मिलाउने र आगामी वर्षमा नगरभित्रका सात वटै सामुदायिक माध्यमिक विद्यालयमा स्कुल बसको प्रबन्ध मिलाइने छ । सहयोगी सङ्घसंस्थाको सहयोगमा अन्य विद्यालयमा भौतिक संरचनाको धेरै नै सुधार भएको छ । शिक्षक अभाव रहेको ठाउँमा नगरबाट शिक्षक व्यवस्थापन गरी नियुक्त गरेका छौँ । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेकाले हाम्रो अभियान सार्थक बन्दै गएको महसुस हुँदै छ । 

विकास निर्माणतर्फ के के काम भए ?

यो वर्ष उपभोक्ता समितिसँग धमाधम सम्झौता र टेन्डरको काम अगाडि बढेको छ । १५ वटै वडामा सिलिङ बजेटको अवधारण अन्तिम चरणमा पु¥याएका छौँ । वडा कार्यालय नभएका वडामा यो वर्ष वडा भवन र स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने चरणमा छौँ । वडा नं. ५, ८, ९, १० र ११ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । यो वर्ष शैक्षिक वर्षका रूपमा अगाडि बढेको, आगामी वर्ष कृषि वर्ष र चौथो वर्ष पूर्वाधार निर्माण अन्तर्गत बाटोघाटो, पुलपुलेसा निर्माणमा केन्द्रित हुने योजना छ । पूर्वजनप्रतिनिधिले अधुरा छोडेका विकास निर्माणको काम पूरा गर्ने काममा लागिपरेका छौँ । विकासका काम गर्दा कहिलेकाहीँ मुद्दा, मामलामा अल्झनुपर्दा समस्या सिर्जना भएको महसुस गर्दै छौँ । 

यो नगरपालिकामा ऐतिहासिक तथा जिल्लाकै पुरानो बयलवास बजार छ । यो बजारको विकासमा नगरपालिकाले कत्तिको ध्यान दिएको छ ?

यो सर्लाहीकै ठुलो र धेरै व्यापार, व्यवसाय र उद्योग भएको बजार हो । धान र चामलको उत्पादनका लागि पकेट क्षेत्र भएकाले यो बजारलाई राम्रोसँग स्थापित गर्नुपर्छ भनेर लागिपरेका छौँ । त्यसका लागि नगरको आन्तरिक स्रोत परिचालनका साथसाथै नगर विकास र योजना आयोगसँग समन्वय गरिरहेकै छौँ । बजारको विकास अन्तर्गत वर्षौंदेखि अलपत्र रहेको बयलवास बजार क्षेत्रको हुलाकी सडक भर्खरै निर्माण भएको छ । यसले पनि पूर्व–पश्चिम राजमार्गसँग यो बजारलाई सहज रूपमा जोडेको छ । बजार क्षेत्र सुन्दर देखिएको छ । यो बजारदेखि २०÷२५ किलोमिटर दुरीमा भारतको सीमा क्षेत्र छ । यहाँ ५० औँ वर्षदेखि व्यापार गर्ने व्यवसायी हुनुहुन्छ । यसको अस्तित्व जीवित राख्न हामीले सम्पूर्ण व्यवसायी, राजनीतिक दल, समुदायसँग समन्वय गरी बजार व्यवस्थापन र शान्तिसुरक्षाको व्यवस्थापनमा लागिरहेका छौँ ।   

ईश्वरपुरको श्रीनगर, रामनगर, बेलालगायत क्षेत्रमा तरकारी खेती धेरै हुन्छ । माछापालन गर्ने किसान पनि उत्तिकै छन् । किसानका लागि के गर्दै हुनुहुन्छ ?

किसानले आफ्नो एक कट्ठा÷दुई कट्ठा जग्गामा उब्जाएका तरकारी बिव्रmी गर्न सहज होस् भनेर हामी वडा नं. ५, फूलजोरमा तरकारी बजार बसाल्ने तयारीमा छौँ । अहिले यहाँका किसानलाई साइकल, मोटरसाइकलमा निकै जोखिमपूर्ण हिसाबले तरकारी बेच्न लैजानुपर्ने हाम्रा लागि चिन्ताको विषय हो । हामी हाम्रै नगरमा तरकारी बजार बसाल्न लागिपरेका छौँ । तरकारीको पकेट क्षेत्र मानिने वडा नं. १३, १४ र १५ का किसानका लागि स्विस सरकारसँग समन्वय गरेर भर्खरै तरकारी बोक्ने गाडीको प्रबन्ध मिलाएका छौँ । किसानको हकहितका लागि हामीले योजना आयोगसँग दसौँ करोडको डिप बोरिङ, कृषि विद्युतीकरणका लागि योजना पेस गरेका छौँ । 

यो नगरपालिका सुक्खा क्षेत्रका रूपमा चिनिन्छ । खानेपानी तथा सिँचाइको प्रबन्ध मिलाउन के पहल हुँदै छ ?

हो, हाम्रोमा खानेपानी र सिँचाइको बढी नै समस्या छ । हामी सुनकोशी–मरिण डाइभर्सन बनेपछि यहाँका स्थानीय पनि लाभान्वित हुने ठुलो आशमा छौँ । पछिल्लो समय हामीलाई प्रकृतिले पनि चुनौती दिइरहेको महशुस गरेका छौँ । भूमिगत पानी चाँडोचाँडो सुकेको पाइरहेका छौँ । खोलानाला छिट्टै सुक्न थालेका छन् । हामी आगामी वर्षदेखि डिप बोरिङको अवधारणा ल्याउछौँ । त्यसका लागि विभिन्न निकाय र सङ्घसंस्थासँग समन्वय गरी किसानलाई लाभान्वित हुने गरी डिप बोरिङ निर्माणको अभियान नै चलाउँछौँ । पानीको व्यवस्थापन भएपछि माछापालन गर्ने किसान पनि लाभान्वित हुने आशमा बसेका छौँ । 

यहाँको कार्यकालमा थप मुख्य मुख्य के के काम गर्ने योजना बनाउनुभएको छ ?

सुन्दर ईश्वरपुर बनाउने अभियानमा सबैको साथ, सहयोग र सुझावको माग गर्दछु । हामी अहिले शैक्षिक सुधारको वर्षमा छौँ । पाँच वर्षको अवधिमा जनताका दुःख र सास्ती समाधान गर्न केन्द्रित भएर काम गर्ने छौँ । जनताका आवश्यकता र चाहना धेरै नै छन् तर हामीमा पनि सीमितता र अभाव छ । यो भनेर हामीले पन्छिने छुट छैन । नागरिकको चाहना अनुसार स्वास्थ्य र कृषि क्षेत्रको विकास तथा उत्थानका लागि केन्द्रित भएका छौँ । हरेक विकास निर्माणका काममा नगरका ७० हजार जनताको साथ पाएर समग्र ईश्वरपुरलाई कुशलतापूर्वक नेतृत्व गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।