• २ असार २०८१, आइतबार

कृषिलाई पर्यटनसँग जोडेर आत्मनिर्भर बन्छौँ

blog

प्रसिद्ध धार्मिकस्थल त्रिधार्मिक तपोभूमि हलेसीमा अवस्थित हलेसी तुवाचुङ नगरपालिका खोटाङ जिल्लाको पर्यटकीय क्षेत्र हो । साबिक बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले र राजापानी ११ वटा गाविस मिलेर यो नगरपालिका निर्माण भएको हो । त्रिधार्मिक स्थल हलेसी र राईहरूको आदिमभूमि तुवाचुङलाई समेटेर यो स्थानीय तहको नामकरण गरिएको हो । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपले परिचित नगरपालिका अहिले कोशी प्रदेशको सबैभन्दा धेरै पर्यटक आउने स्थानीय तह बनेको छ । नेपाल सरकारले सुक्खा क्षेत्र घोषणा गरेको यस नगरपालिकाको प्रायः सबै वडामा खानेपानीको समस्या छ । हरेक वर्ष कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट बनिरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईसँग गोरखापत्रका खोटाङ समाचारदाता राजकुमार भट्टराईले गर्नुभएको कुराकानी : 

हलेसी तुवाचुङ नगरपालिकालाई समृद्ध बनाउन के के गर्दै हुनुहुन्छ ?

पहिलो कुरा नगरपालिकालाई कस्तो बनाउने भन्ने स्पष्ट ‘भिजन’ हुनुप-यो, सो  अनुसार योजना निर्माण गर्नुप-यो । नगरपालिका प्रमुखमा निर्वाचित भएको दुई वर्ष भयो, म अहिले पनि योजना निर्माणमै छु । यसको मतलब नगरपालिकामा केही भएको छैन भन्ने होइन । सबै क्षेत्रमा काम गर्दै छौँ तर दिगो र भरपर्दो योजनाहरू अझै बन्दै छन् । हामीले नगर सभाबाट योजना आयोग ऐन पास गरेका छौँ । सोही अनुसार योजना आयोगले अहिले धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरका सबै पक्षलाई समेटेर योजना बनाउँदै छ । आगामी असारमा नगर सभाले ती योजना पास गरेर कार्यान्वयनमा आउँछ । त्यसपछि हलेसी तुवाचुङको समृद्धिको दिगो यात्रा थप अगाडि बढ्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन हाम्रो मुख्य प्राथमिकताका विषय हुन् । यिनै क्षेत्रलाई विशेष ध्यानमा राखेर हामी काम गरिरहेका छौँ ।   

पर्यटन क्षेत्रमा के कस्ता काम हुँदै छन् ? 

त्रिधार्मिक स्थल, हिन्दु, किराँत र बौद्ध धर्मको आस्थाको धरोहर हलेसी अर्थात् तीन धर्मको त्रिवेणी भएको हिसाबले सबै क्षेत्रमा काम हुँदै छ । हिन्दु क्षेत्रको कुरा गर्ने हो भने बाहिरका पर्यटक बढी आउने भएकाले कसरी व्यवस्थित गर्न सकिन्छ भनेर पूर्वाधारका काम भइरहेका छन् । यस्तै किराँतहरूको पनि संस्कृतिसँग जोडेर पूर्वाधारकै काम गर्दै छौँ । बौद्धको हकमा उहाँहरूसँग बसेर योजना बनाउँदै छौँ । विशेष गरी धार्मिक र सांस्कृतिक क्षेत्र भएकाले सांस्कृतिक सर्किटको योजना बनाएर चरण चरणमा काम भइरहेका छन् ।

यस नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?

हामीले शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकतामा राखेका छौँ । यो मुलुकलाई सञ्चालन गर्ने योग्य जनशक्ति शिक्षाले उत्पादन गर्छ भन्ने हामीले बुझेका छौँ । सामुदायिक विद्यालयमा खस्किएको शैक्षिक गुणस्तर, कमजोर भौतिक संरचना सुधार गर्नमा हामीले ध्यान दिएका छौँ । विद्यालयका भवन धेरै जीर्ण छन्, माथिबाट एक÷दुई वटा दिएर हुँदैन । यस नगरपालिकामा ९० वटा सामुदायिक विद्यालय छन् । यस वर्ष मात्र नगरपालिकाको बजेटले नौ वटा विद्यालयका भवन बनाउँदै छौँ । सुत्केरी बिदामा बसेका शिक्षिकाहरूको सट्टामा पढाउन सट्टा शिक्षक राखेका छौँ । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षा नगरपालिका स्तरीय हुने छ । विद्यालयमा तहगत दरबन्दी मिलान गरेका छौँ । विद्यालयलाई प्रविधिमैत्री बनाउन आइसिटी, इन्टरनेट जोडेका छौँ । कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने अधिकार सुनिश्चित गरेका छौँ । 

दलित समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । छोरीको शिक्षा र उज्ज्वल भविष्यका लागि जन्मिएको तीन वर्षसम्म हरेक वर्ष चार हजार रुपियाँका दरले खाता खोलेर रकम जम्मा गरिदिएका छौँ । यस्तै स्वास्थ्य क्षेत्रमा १५ श-याको नगर अस्पताल बन्दै छ । स्वास्थ्य चौकीहरूलाई स्तरोन्नति गर्दै छौँ । यो वर्ष मात्र पाँच वटा सहरी स्वास्थ्य एकाइको भवन निर्माण गरेर सेवा सञ्चालन गरेका छौँ । एम्बुलेन्स खरिद गरेर सुत्केरी र गर्भवती महिलालाई निःशुल्क सेवा दिइरहेका छौँ । हाललाई पाँच श-याको अस्पताल सञ्चालन गरिरहेका छौँ । यहीँबाट स्वास्थ्य बिमाबापतको उपचार हुने व्यवस्था गरिएको छ । अपाङ्गता भएका, टुहुरा, एकल पुरुष र एकल महिलाको बिमा निःशुल्क गरिदिएका छौँ । हरेक वर्ष स्वास्थ्य शिविर भइरहेको छ । यो वर्ष मात्र करिब एक सय जनाको आँखाको शल्यक्रिया भएको छ । हरेक वर्ष पाठेघरको समस्या भएका दिदीबहिनीहरूको निःशुल्क शल्यक्रियामार्फत उपचार गर्ने काम गरिरहेका छौँ ।

कृषिलाई कसरी पर्यटनसँग जोड्दै हुनुहुन्छ ?

हाम्रो स्थानीय उत्पादन नभए पर्यटक आउने बस्ने, बाहिरकै खानेकुरा खाएर जाने हुन्छ । खास अहिले यही भइरहेको छ । यहाँको मान्छेको काम पकाउने मात्रै भइरहेको छ । हरेक वर्ष लाखौँ पयर्टक आउँछन् । ती पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकियो भने नागरिकको आर्थिक अवस्था सुधारिन सक्छ । त्यसैले अहिले हामी उत्पादनलाई जोड दिइरहेका छौँ । बजारीकरणको समेत अवधारणा हामीले लिएका छौँ । हाम्रो नीति नै छ, ‘गोठदेखि ओठसम्म, बारीदेखि बजारसम्म’ सोही बमोजिम काम गरिरहेका छौँ । अहिले हलेसीमा कृषि उपज सङ्कलन केन्द्र पनि बन्दै छ । यो नगर सुक्खा क्षेत्र भएकाले आकाशे पानीलाई सङ्कलन गरेर करिब तीन सय घरधुरी अहिले तरकारी खेतीमा लागेका छन् । यस क्षेत्रमा आउने कतिपय भक्तजनले माछा, मासु नखाने भएकाले अब दुधमा आत्मनिर्भर हुन खोजिरहेका छौँ । जसका लागि भैँसी प्रवर्धन कार्यव्रmम सञ्चालन गरिरहेका छौँ । यस क्षेत्रको महìव बोकेको गहत, कपास र बदाम खेती प्रवर्धन कार्यक्रमहरू गरिरहेका छौँ । कागती, केरा र कपास यो तीन वटा ‘क’ लाई जोडेर अझै विशेष कार्यक्रमहरू गरिरहेका छौँ । 

सुक्खा क्षेत्र भएकाले उत्पादन गर्न धेरै समस्या छ । केही तल कोशी बगिरहेको छ, माथितिर सुक्खा छ । यो वर्ष बृहत् लिफ्टिङ खानेपानी योजना पनि सम्पन्न होला, त्यसपछि केही सहज हुने छ । धेरै योजना बनाएका छौँ, कोशीको पानी माथि तानेर उत्पादनलाई जोड दिँदै छौँ । 

सडक, विद्युत्लगायत पूर्वाधारको अवस्थाचाहिँ कस्तो छ ? 

मध्यपहाडी लोकमार्गले प्रायः सबै वडालाई छोएको छ तर सडक अहिले धुजा धुजा भएको छ । बनाउन ठेक्का पनि लागेको छ, ठेकेदारले काम गरिरहेको छैन । हाल हलेसी बजार क्षेत्रमाचाहिं केही काम गर्दै छ । नगरपालिकाको हरेक गाउँसम्म ग्रामीण सडक पुगेका छन् । ती सडक सधैँ सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ । पहिला एउटा वडाको भवन मात्रै थियो, यो वर्षसम्ममा हामीले नौ वटा भवन बनाउँदै छौँ । विद्यालय र स्वास्थ्य चौकीका भवन बनिरहेका छन् । सामाजिक र विभिन्न समुदायका भवन बनाएका छौँ । गाउँमा उत्पादन भएका उपजलाई सङ्कलन गर्नेसम्मको योजना बनाएर आमा समूहका भवनसमेत बन्दै छन् ।  हालसम्म प्रायः सबै वडामा विद्युत् पुगेको छ । केही वडामा ठेक्कामार्फत दिगो तथा बलियो बनाउने काम भइरहेका छन् । 

सङ्घ र प्रदेश सरकारको सहयोग कति मिलेको छ ?

वास्तवमा भन्ने हो भने वित्तीय र प्रशासनिक दृष्टिले सङ्घीयता आएकै छैन । खाली राजनीतिक सङ्घीयता मात्र आएको छ । देशका सबै स्थानीय तहलाई एउटै अवस्थामा हेरियो । सबैको आयस्रोत एउटै हुँदैन । त्यसैले वित्तीय सङ्घीयतालाई धरापमा पारिएको छ । क्षेत्र अधिकार बाझिएको छ तर पनि केही मन्त्रालयबाट भने यो वर्ष सहयोग भएको छ । बजेट राम्रै आएको छ । प्रदेश सरकारबाट पनि हाल केही बजेट प्राप्त भएको छ । यस वर्षदेखि हलेसीलाई राज्यले हेर्न थालेको महसुस भएको छ ।

सुशासन र पारदर्शितामा हलेसी तुवाचुङ कस्तो छ ? 

सुशासन र पारदर्शिता भन्नेबित्तिकै प्रशासनिक काम अर्थात् सेवा र वित्तीय अनुशासन जोडिन्छ । यी दुवैलाई हेर्ने हो भने यो नगरपालिका क्रमशः सन्तोषजनक हुँदै गएको छ । सेवाग्राहीलाई एक मिनेट पनि दुःख दिनु हुन्न भनेर सेवा दिन जनप्रतिनिधि र कर्मचारीको टिम लागेको छ । पारदर्शितामा सबैभन्दा वित्तीय अनुशासन हुनुपर्ने रहेछ, त्यही कुरालाई ध्यान दिएर काम भइरहेको छ । तुलनात्मक हिजोभन्दा आज राम्रो भइरहेको छ, र भोलि अझै राम्रो हुनु पर्छ भन्ने मान्यताका साथ हामी लागेका छौँ ।