लक्की चौधरी
काठमाडौं, बैशाख ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटनाक्रम र सरकार निर्माणका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँहरुको बार्ता शुरु भएको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार अध्यक्ष ठाकुर र नेता महतो केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । अहिले उहाँहरुको प्रधानमन्त्री ओलीसँग छलफल शुरु भएको छ । काँग्रेस–माओवादी केन्द्र र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको गठबन्धनले बैकल्पिक सरकार निर्माणमा बहुमत पु¥याउन असफल भएपछि पुनः ओली नेतृत्वमा नयाँ बहुमतको सरकार निर्माणका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव गर्नुहुँदा असफल हुनुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन दुई वा दुईभन्दा बढी दल सम्मिलित बहुमतको सरकार निर्माणको आव्हान गर्नुभएको थियो । आज बिहीबार ३० गते साँझ ९ बजेसम्म सो समयसीमा कायम भ एपनि विपक्षी गठबन्धनले बहुमत पु¥याउन करिब असफल भएपछि पुनः ओली नेतृत्वमा नयाँ सरकार बन्ने करिब पक्का भएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार निर्माणमा आव्हान गर्नु भए पनि काँग्रेसले आशा गरेअनुसार जसपाको साथ नपाएको र एमाले नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको राजीनामा नआउने भएपछि सभापति शेरबहादुर देउवा हच्किनुभएको हो । ७६ (२) अनुसार सरकार गठनको विकल्प पूरा नहुने भएपछि अव ७६ (३) अनुसार सरकार गठन हुने बताइएको छ ।
धारा ७६ (३) मा भनिएको छ “प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रनिधिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्र गर्नेछ, तर त्यसरी नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।”
प्रमुख विपक्षी गठबन्धनले सरकार निर्माणको दावी पेश गर्न राष्ट्रपति भवन शीतल निवासमा जानेबारेमा निर्णय गरी नसके पनि शीतल निवास साँझ ९ बजेसम्म कुरेर बस्ने जनाएको छ । सो प्रक्रियाअनुसार सरकार गठन नभएमा अर्को प्रक्रिया शुरु हुने संविधानविदहरुको भनाइ छ ।