logo
२०७७ मंसिर १२ शुक्रवार

घुम्न जाऔँ कुपिण्डे ताल

पर्यटन |


2020-02-14-8690
सल्यानको कुभिण्डे ताल महोत्सवमा डुंगामा शयर गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक तथा योजनामन्त्री प्रकाश ज्वालालगायत सहभागीहरु । तस्बिर - प्रतीक इच्छुक शर्मा


प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २ गते । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सल्यानको कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा ‘घुम्न जाऔँ कुपिण्डे ताल’ भन्ने मूल नारा दिएर महोत्सव संचालन गरिएको हो । सो महोत्सलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डुंगा चढेर उद्घाटन गनुृभयो ।
सो क्रममा मुख्यमन्त्री शाहीले कुपिण्डे तालको विकास र संरक्षणमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । पर्यटकीय क्षेत्रसम्म जोड्ने सडक स्तरोन्नतिसँगै तालको दीगो विकासमा प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै वातावरणीय संरक्षणका लागि पहल हुने बताउनुुभयो ।
कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले कुपिण्डे ताल कर्णाली प्रदेश राजधानी सुर्खेत नजिक भएकाले पनि ओझेलमा परेको भन्दै यसको व्यापक प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेत कुपिण्डे तालको संरक्षणका लागि आसपासका क्षेत्रमा भइरहेको विकास निर्माणलाई वातावारण् मैत्री बनाउनु पर्ने सुझाव दिनुभयो ।
त्यसैगरी, कर्णाली प्रदेशसभा सांसद गुलाबजंग शाह, प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टलगायतले कुपिण्डे तालको संरक्षणका लागि तीनै तहका सरकारले तत्कालै काम थाल्नुपर्नेमा जोड दिनुभयो ।
महोत्सवमा पाहुनालाई स्थानीय अर्गानिक कोदाको रोटी, सिस्नोलगायतका परिकार खुवाइएको थियो भने बनगाडी टप्पा, लहरे, पैंसेरुलगायतका विभिन्न साँस्कृतिक भाँकीहरु प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?