म्युनिख काण्डका प्रत्यक्षदर्शी

जितबहादुर केसीलाई नेपालको एथलेटिक्स क्षेत्रमा कहिल्यै बिर्सन सकिँदैन । उनले ट्र्याक एन्ड फिल्डमा नेपालका लागि सर्वाधिक ठूलो पदक जितेका छन् । सन् १९७३ मा मनिलामा सम्पन्न एसियन ट्र्याक एन्ड फिल्ड इभेन्ट्समा उनले तेस्रो स्थान प्राप्त गरेका थिए । एसियालीस्तरमा प्राप्त गरेको यो उपलब्धि हालसम्म कसैले पनि तोड्न सकेको छैन । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । अझ योभन्दा पनि सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित २० औँ ओलम्पिकमा म्याराथन जित्ने धावकका रूपमा उनलाई हेरिएको थियो । यसबारे अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले समाचार नै प्रकाशित ग¥यो तर दुर्भाग्य म्युनिख ओलम्पिकमा भएको दुःखदायी घटना र शारीरिक अवस्थाले उनलाई यो लक्ष्यमा पुग्न दिएन ।